२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सिनेटबाट बजेट पास नभएसँगै अमेरिकाको सरकारी काम ठप्प

बीबीसी

अमेरिका — अमेरिकी माथिल्लो सदन सिनेटले सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि संघीय निकायहरुलाई उपलब्ध हुने खर्च बन्द हुने भएको छ। विधेयक पारित नभएर खर्च बन्द भएसँगै अब राज्य सरकारका धेरै सरकारी सेवा बन्द हुनेछन्।

सिनेटबाट बजेट पास नभएसँगै अमेरिकाको सरकारी काम ठप्प

सिनेटको नतिजापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा र जोखिममा रहेका केटाकेटीको हीतभन्दा डेमोक्र्याटहरुले राजनीतिलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।


सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भएपनि डेमोक्रयाटहरुले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको टिप्पणी गरे। तर सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले भने धेरै रिपब्लिकनले समेत विधेयकको विरोध गरेको बताए।


दुई दलबीच भएको सहमति राष्ट्रपतिले अस्वीकार गरेकाले पछिल्लो अवस्था सिर्जना भएको आरोप लगाए।


फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो। तर आप्रवासन र सीमा सुरक्षा जस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेन।


विधेयक पास गर्नका लागि डेमोक्र्याटको तर्फबाट आवश्यक १० भोट दिन उनीहरुले आप्रवासी सम्बन्धी कार्यक्रमको पुनरावलोकन गर्दै केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरुलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने माग गर्दै आएका छन्। त्यस्ता आप्रवासीको संख्या लगभग ७ लाख छ।


पूर्व राष्ट्रपति बराक ओबामाको पालोमा ल्याइएको कार्यक्रम अन्तर्गत उनीहरुलाई अस्थायी कानूनी मान्यता दिइएको थियो। गत सेप्टेम्बरमा ट्रम्पले उक्त कार्यक्रम अन्त्य गर्ने घोषणा गरे। अब संसदले मार्च महिनासम्ममा त्यसको स्थानमा विकल्प खोज्नुपर्नेछ।

आज आइतबार परेकाले त्यसको व्यवहारिक प्रभाव भोली सोमबारबाट मात्रै देखिने छन्। संघीय निकायका कर्मचारीहरु काममा फर्किनु अघि नै विधेयक पास गर्न दुवै सदनका सांसदहरुबीच छलफल भइरहेको छ ।


ह्वाइट हाउस र संसदको दुवै सदनमा रिपब्लिकनहरुको नियन्त्रण रहँदा समेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो। पछिल्लोपटक सन् २०१३ मा पनि सरकारी निकाय खर्चविहीन भएर १६ दिनसम्म कामकाज ठप्प भएको थियो। सो समयमा धेरै कर्मचारीले बाध्यात्मक छुट्टी लिएका थिए तर राष्ट्रिय सुरक्षा र हवाई क्षेत्रको सेवा भने अवरुद्ध भएको थिएन।

प्रकाशित : माघ ७, २०७४ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?