१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सिरियाको अफ्रिन टर्कीको नियन्त्रणमा

-सैयौं सर्वसाधारण नियन्त्रणमा-संयमित हुन अमेरिकाको आग्रह-सुरक्षा परिषद्मा छलफल गर्न फ्रान्सको माग
बीबीसी

दमास्कस — सिरियाली कुर्दिस लडाकु समूहविरुद्ध स्थल कारबाहीका क्रममा टर्कीको सरकारी फौजले अफ्रिन क्षेत्रका कैयौं सर्वसाधारणलाई नियन्त्रणमा लिएको छ । 

उनीहरूले अफ्रिनका अधिकांश क्षेत्रमा नियन्त्रण जमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कारबाहीका क्रममा सयौं सर्वसाधारण मारिएको आशंका व्यक्त गरेका छन् । अमेरिकी समर्थन रहेको वाईपीजी कुर्दिस विद्रोहीलाई टर्कीले आतंककारीको संज्ञा दिँदै आएको छ । वाईपीजीले सिरियाको उत्तर–पूर्वी क्षेत्रका अधिकांश ठाउँमा पकड जमाएका छन् । टर्कीले कुर्दिस स्वायत्तताका लागि आफ्नो देशमा लडिरहेको कुर्दिस्तान बोकर्स पार्टीको सम्बद्ध संगठन भएको दाबी गर्दै उनीहरूविरुद्ध कारबाही सुरु गरेको हो ।


अन्तर्राष्ट्रिय समुदायले टर्कीलाई ‘संयमित’ हुन आग्रह गरेको छ । तर मध्यपूर्व क्षेत्रमा जारी हिंसामा इस्लामिक स्टेटविरुद्धको वाईपीजी समूह पश्चिमा मुलुकको एउटा मुख्य साझेदार रहिआएको छ ।


अमेरिकाले कारबाहीको समय र क्षेत्र यकिन गर्न र सर्वसाधारणतर्फ क्षति नगर्नेतर्फ गम्भीर हुन आग्रह गरेको छ । फ्रान्सले अविलम्ब संघर्ष अन्त्य गर्न अपिल गरेको छ । उसले यसबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा सोमबार आकस्मिक छलफल गर्नसमेत माग गरेको छ । वाईपीजीले टर्कीबाट गरिएको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ । कुर्दिस लडाकुलाई धपाउने एउटा महत्त्वपूर्ण कारबाहीका क्रममा टर्कीको सरकारी फौज आइतबार सिरिया प्रवेश गरेको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले वाईपीजीलाई छोटो समयमै परास्त गर्ने दाबी गरेका छन् । उसले आफ्रिन र मान्बिजबाट कुर्दिसलाई धपाउने चेतावनी दिँदै आएको थियो ।


टर्कीले शनिबारदेखि कुर्दिस लडाकुलाई आफ्रिनबाट धपाउन भन्दै ‘ओलिभ ब्रान्च’ नामक सैन्य कारबाहीको सुरु गरेको हो । यसअघि टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले सीमावरपर ‘सुरक्षित क्षेत्र’ बनाउन सुरक्षा फौजले कारबाही थालेको बताएका थिए ।

प्रकाशित : माघ ९, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?