कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पेरिस आक्रमण – आरोपीले बयान दिएनन्

बीबीसी/रोयटर्स

ब्रसेल्स — फ्रान्सको राजधानी पेरिसमा सन् २०१५ मा भएको आक्रमणका एकमात्र जीवित संदिग्धलाई बेल्जियमको एक अदालतमा पेस गरिएको छ । तर उनले भने अदालतसामु बोल्न अस्वीकार गरेका छन् । 

पेरिस आक्रमण – आरोपीले बयान दिएनन्

उनलाई मास्क लगाएका तथा अत्याधुनिक हातहतियारले सुसज्जित विशेष सुरक्षाकर्मीले अदालतमा पेस गरेका हुन् । सोमबार भएको सुनुवाइका क्रमममा सलेह अब्देस्लामले न्यायाधीशको कुनै पनि प्रश्नको जवाफ नदिने बताए । उनले भने, ‘मेरो मौनताले मलाई अपराधी बनाउँदैन । यो नै मेरो प्रतिरक्षा हो ।’

उनले मुस्लिमहरूलाई ‘न्याय सम्पादनमा निर्दयीतासाथ’ हेरिने गरेको दाबी गर्दै आफ्नो अल्लाह र प्रोफेट मोहम्मदप्रति विश्वास रहेको बताए । ‘म तिमीहरूसँग डराउँदिनँ, म तिमीहरूका मित्रशक्तिहरूसँग पनि डराउँदिनँ,’ उनले भने ।

सन् २०१६ मा पक्राउ परेयता उनी अनुसन्धान अधिकारीसँग पनि बोल्न अस्वीकार गर्दै आएका थिए । सन् २०१५ को नोभेम्बरमा पेरिसस्थित एउटा कन्सर्ट हल, रंगशाला र रेस्टुरेन्ट तथा बारमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा संलग्न अब्देलसलामका भाइ ब्राहिम पेरिसको एक क्याफेबाहिर गरिएको आत्मघाती हमलामा मारिएका थिए । फ्रान्सका अभियोजनकर्ताले २८ वर्षीय सलाह अब्देलस्लामले हमलामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गर्दै आएका छन् ।

आक्रमणपछि उनी युरोपकै सर्वाधिक खोजीको सूचीमा थिए । उक्त हमलाको चार महिनापछि अब्देस्लाम बेल्जियमको राजधानी ब्रसेल्स आफ्नो घरमा लुकिरहेको अवस्थामा पक्राउ परेका थिए ।

तर उनले अनुसन्धानकर्तालाई सघाउन अस्वीकार गर्दै आएका छन् । उनलाई सन् २०१९ पछि मात्र सुनुवाइका लागि फ्रान्स लगिने बताइएको छ । हाल बेल्जियममा भएको उनीविरुद्धको सुनुवाइ भने पेरिस आक्रमणपछि भाग्ने क्रममा बेल्जियमका प्रहरीसँग भएको गोली काण्डबारे हो ।

सोमबार भएको सुनुवाइ अब्देलसलाम र उनका २४ वर्षीय संदिग्ध सहयोगी सोफियान आयारीले गैरकानुनी रूपमा हातहतियार राखेको र प्रहरी अधिकारीको हत्या प्रयाससम्बन्धी आरोपबारे हो । अधिकारीहरूका अनुसार आरोप प्रमाणित भए उनीहरूविरुद्ध ४० वर्षसम्मको जेल सजाय हुन सक्छ ।

को हुन् अब्देस्लाम ?

अब्देस्लाम सन् २०१५ को नोभेम्बरमा १ सय ३० जनाको ज्यान जानेगरि गरिएको फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणमा एकमात्र जीवित संधिग्द हुन् । इस्लामिक स्टेटले गरेको आक्रमणमा उनको मुख्य भूमिका रहेको फ्रेन्च अधिकारीले दाबी गर्दै आएका छन् ।

अधिकारीहरूका अनुसार उक्त आक्रमणपछि भाग्ने क्रममा उनको बेल्जियमका प्रहरीसँग भिडन्त भएको थियो । बेल्जियम प्रहरीले गरेको खानतलासीका क्रममा उनले गोली चलाउँदा ३ प्रहरी र एक फ्रान्सेली सहकर्मी सामान्य घाइते भएका थिए । घटनामा एक बन्दुकधारी भने मारिएका थिए । त्यसको तीन दिनपछि अब्देस्लाम ब्रसेल्सको मोलेन्बिकस्थित आफ्नो घरमा पक्राउ परेका हुन् । उनीसँगै पेरिसबाट भाग्न सफल टयुनिसियन नागरिक आयारी सिरियामा इस्लामिक स्टेटका लागि लडेको बेल्जियम सञ्चारमाध्यमले जनाएका छन् । उनी मोनिर अहमद अलाज र अमिने चोउक्रिका नाममा सिरियाली शरणार्थीका रूपमा ग्रिसको बाटो हुँदै युरोप प्रवेश गरेका हुन् ।

ब्रसेल्स हमलामा संलग्नताको आशंका

अब्देस्लाम पक्राउ पर्नुभन्दा ४ दिनअघि ब्रसेल्समा भएको आक्रमणमा पनि संलग्न हुन सक्ने अधिकारीहरूको दाबी छ । तीन आत्मघाती बम आक्रमणका क्रममा ३२ जनाको मृत्यु भएको थियो भने ३ सय ४० जना घाइते भएका थिए । तर उनीमाथि उक्त आरोपमा भने मुद्दा दायर नगरिएको अधिकारीले बताए । उनी इस्लामिक स्टेटको बम टोलीसँग आबद्ध भएको दाबी गरिएको छ । तर उनका प्रतिरक्षा वकिलले अब्देस्लामले आफूसँग आक्रमणबारे कुनै जानकारी नभएको बताएका थिए ।

पेरिसमै मर्नुपथ्र्यो...

प्रहरीसँग अब्देस्लामले गरेको कुराकानीमा आधारित फ्रान्सेली सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरूमा उनले अन्य ३ जना आत्मघाती आक्रमणकारीलाई कारमा सँगै लगेको स्वीकार गरेका थिए । उनले आफूसँग पनि आत्मघाती पेटी बम भएको तर त्यसले काम नगरेपछि नजिकैको फोहोर फाल्ने टोकरीमा राखेको बताएका थिए । त्यसलगत्तै आफूले योजना परिवर्तन गरेको अब्देस्लामले बताएका थिए । अब्देस्लामलाई उद्धृत गर्दे फ्रान्सेली सञ्चारमाध्यममा उल्लेख छ– ‘म पनि अन्य ९ आक्रमणकारीजस्तै सहिद हुन चाहन्थेँ । तर अल्लाहले फरक निर्णय लिए ।’

कारागार सरुवा

कुनै बेला युरोपकै सर्वाधिक खोजीमा रहेका अब्देस्लामलाई फ्रान्स र बेल्जियमको सीमा क्षेत्रमा पर्ने कारागारमा सारिएको छ । बेल्जियममा भएको सुनुवाइलाई सहयोग पुर्‍याउन उनलाई दक्षिणी फ्रान्सको फेल्युरी–मरोगिस कारागारबाट सारिएको अधिकारीले बताए ।

बेल्जियमको राजधानी ब्रसेल्सबाट करिब १ सय ५० किलोमिटरको दूरीमा रहेको भेन्डिन–ले–भियल फ्रान्सकै उच्च सुरक्षा व्यवस्था भएको कारागार हो । समाचार संस्था एएफपीका अनुसार अब्देस्लामलाई कडा सुरक्षाबीच राखिएको छ । अधिकारीले सुरक्षाको कारण देखाउँदै उनलाई अदालतमा उपस्थित गराउनेबारे सूचना सार्वजनिक नगरिने जनाएका छन् ।

प्रकाशित : माघ २३, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?