कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ताइवानमा ६.४ को भूकम्प, ७ को मृत्यु, २५८ घाइते

सीएनएन/बीबीसी

ताइपेई — ताइवानमा मंगलबार राति शक्तिशाली भूकम्प जाँदा कम्तीमा ७ जनाको मृत्यु हुनाका साथै २ सय ५८ जना घाइते भएका छन् । उत्तरपूर्वी सहर हुवालिनबाट २२ किलोमिटर उत्तर केन्द्रबिन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी ताइपेईसम्म महसुस गरिएको थियो ।

ताइवानमा ६.४ को भूकम्प, ७ को मृत्यु, २५८ घाइते

भूकम्पबाट हुवालिनको १० तल्ले आवासीय तथा व्यापारिक भवन ढल्किएको छ । युन मेन सुई नामक उक्त भवनमा ४० जना फसेको अनुमान छ । भवनमै रहेका १ सय १५ जना हराइरहेका छन् । तीमध्ये ७६ जना उक्त भवनभित्र रहेको रेस्टुराँमा थिए भने अन्य ३९ जना पनि सम्पर्कमा छैनन् । उनीहरु भूकम्प गएको समयमा भवनमा रहे/नरहेको स्पष्ट छैन । उद्धारकर्मीहरुले उक्त भवनमा फसेका मानिसको उद्धार प्रयास जारी राखेका छन् ।


यस्तै, पूर्वी क्षेत्रका पुल तथा सडकसमेत क्षतिग्रस्त भएका छन् । उद्धारमा ६ सय सैनिक र ७ सय ५० अग्नि नियन्त्रक खटिएको ताइवानको आपत्कालीन केन्द्रले जनाएको छ । भूकम्पबाट ९ जापानी पर्यटक घाइते भएका छन् भने ३१ विदेशी नागरिक प्रभावित भएका छन् । हुवालिन ताइवानको प्रख्यात पर्यटकीय गन्तव्य तारोको जर्जनजिक पर्ने भएकाले पनि अरू पर्यटक पनि प्रभावित भएको आँकलन गरिएको छ ।


बुधबार पनि भूकम्पका दर्जनौं परकम्प महसुस गरिएपछि नागरिक त्रस्त छन् । घर क्षतिग्रस्त भएका सयौं स्थानीय नागरिक हुवालिन रंगशालामा आश्रय लिएका छन् ।


यसैबीच, राष्ट्रपति साई इङ–वेनले बुधबार भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्दै उद्धारमा लाग्नेहरु ट्वीटरमार्फत धन्यवाद दिएकी छन् । यसअघि सन् १९९९ मा आएको ७.३ म्याग्निच्युडको भूकम्पबाट २ हजार ४ सयको ज्यान गएको थियो भने २०१६ मा गएको ६.४ म्याग्निच्युडकै भूकम्पमा ४० जनाको मृत्यु भएको थियो ।


भूकम्पबाट १९ सय घरमा विद्युत् आपूर्ति अवरुद्ध भएकोमा बुधबारै सेवा सुचारु गरिएका छन् । दसौं हजार मानिस खानेपानीविहीन भएका छन् भने ३५ हजार घर आवश्यक सुविधाबाट वञ्चित छन् ।


प्रकाशित : माघ २४, २०७४ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?