मुनलाई उत्तर कोरिया भ्रमणको निम्तो

सीएनएन/बीबीसी

सोल — उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई आफ्नो देश भ्रमणका लागि निम्तो दिएका छन् । 

मुनलाई उत्तर कोरिया भ्रमणको निम्तो

हाल दक्षिण कोरियामा रहेकी किम यो जोङले आफ्नो सर्वोच्च नेता किम जोङ उनका तर्फबाट मुनलाई शनिबार भ्रमणको निम्तो दिएकी हुन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया पुगेकी हुन् ।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसमा भएको भेटमा किमले मुन आफ्नो दाजुका तर्फबाट हस्तलिखित निम्तो हस्तान्तरण गरेकी कार्यालयका प्रवक्ता किम युइ–कियोमले बताए । भेटवार्ताका क्रममा उत्तर कोरियाली आलंकारिक राष्ट्रप्रमुख किम योङ नाम र उत्तर कोरियाली प्रमुख वार्ताकार री सन ग्वान पनि सहभागी थिए । उनीहरूबीचको वार्ता उत्तर र दक्षिण कोरिया बीचको एक दशकपछिकै उच्च स्तरीय हो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार मुनले यसै वर्षको अन्त्यमा प्योङयाङको भ्रमण गर्ने गरी निम्तो स्वीकार गर्ने तयारी गरेको उल्लेख गरेका छन् ।

वार्ताका क्रममा मुनले दुई देशले त्यसका लागि ‘उचित अवस्थाको सिर्जना गर्नुपर्ने’ बताए । त्यसका लागि मुनले उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पनि आवश्यक भएको उल्लेख गरे । भेटका क्रममा मुनले किम तथा उत्तर कोरियाली राष्ट्रप्रमुखलाई अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया क्रियाशील हुनुपर्नेमा जोड दिएको प्रवक्ता कियोमले जनाए ।

दक्षिण कोरियायी टेलिभिजनमा प्रसारित दृश्यहरूमा दिवाभोजका क्रममा मुन उत्तर कोरियाली राष्ट्रप्रमुख किम योङ नामको अगाडि नभई किम यो जोङको ठीक अगाडि बसेको देखिएका थिए । आफ्नी निकट सहयोगी किम यो–जोङलाई उत्तर कोरियाली शासक किम जोङ–उनले गतवर्ष पोलिटब्युरो सदस्यमा चयन गरेका हुन् । अमेरिकाले उनले चरम मानव अधिकार उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको छ । किम सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली शासक परिवारकी उच्च सदस्य हुन् । युद्धपछि दुई कोरियाबीच शान्ति स्थापनका प्रयास सफल हुन सकेका छैनन् ।

सुनको जलपले सजिएको एक फाइल हातमा लिएकी किमले पछि उक्त फाइल टेबलमा राखेकी थिइन् । स्थानीय सञ्चारमाध्यमले उक्त फाइलमा दक्षिण कोरियाली राष्ट्रपति मुनलाई उनका दाजुले लेखेको पत्र हुन सक्ने आशंका गरेका छन् । द्विपक्षीय भेटका क्रममा मुनले आफूले शीतकालीन ओलम्पिकलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधार तथा नियमित सम्पर्कका सूत्रहरू विकसित गर्ने अवसरको रूपमा लिएको बताएका थिए ।

गतवर्ष राष्ट्रपतिको शपथ कार्यक्रममा मुनले ‘प्योङयाङको भ्रमण गर्न इच्छुक रहेको’ जनाएका थिए । त्यति बेला मुनले ‘कोरियाली द्वीपमा शान्ति पुन:स्थापित गर्न आफूले सक्ने जति सबै प्रयास गर्न तयार रहेको’ बताएका थिए ।

अमेरिकी प्रतिक्रिया

अमेरिकाको चर्को चेतावनीबीच दुई कोरियाबीच उच्च स्तरको भेटवार्ता भएको बीबीसीले जनाएको छ । संवाददाताका अनुसार किमको निम्तोले उत्तर कोरियासँग निरन्तर सम्पर्कमा रहने बताएका मुन निकै अप्ठ्यारोमा परेका छन् । खासगरी उत्तर कोरियाप्रति अमेरिकी नीतिअनुरूप विगतमा सैन्य कारबाहीमा सहमत मुनलाई भ्रमणबारे तत्कालै निर्णय गरिहाल्न पनि निकै कठिन देखिन्छ ।

यसअघि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाली राष्ट्रप्रमुखसँग जम्मका भेट भएलगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुनले दिएको रात्रिभोज स्थलबाट बाहिरिएका थिए । तर ओलम्पिकको उद्घाटनका समारोहका बेला भने पेन्स उत्तर कोरियाली राष्ट्रप्रमुख र सर्वोच्च नेताकी बहिनीसँगै एकै लहरमा बसेका देखिन्थे । कोरियाली द्वीपमा जारी युद्धपछि दुई देशबीचको तनावपूर्ण सम्बन्ध हालैका वर्षहरूमा उत्तरको क्षेप्यास्त्र परीक्षण र परमाणु कार्यक्रममा कारण झन् बिग्रिएको हो ।

प्रकाशित : माघ २८, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?