कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘यौन काण्ड’ लुकाएको भेद खुलेपछि विवादमा अक्स्फाम

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायती गैरसरकारी संस्था अक्स्फाम लगातार विवादको केन्द्रमा फस्दै गएको छ । सन् २०११ मा हाइटीमा आफ्ना उच्च तहका कर्मचारीले संस्थाले भाडामा लिएको भवनमै यौनकर्मी ल्याएर राख्ने गरेको खुलासा भएपछि उसका अन्य भेदहरु पनि खुल्न थालेको छ ।

‘यौन काण्ड’ लुकाएको भेद खुलेपछि विवादमा अक्स्फाम

बेलायती एक पत्रिकाले सन् २०११ मा अक्स्फामका हाइटीमा कार्यरत उच्च तहका कर्मचारीले आफ्नो निवासमै यौनकर्मी ल्याउने गरेको र तिमध्ये केही नाबालिका भएको खुलासा गरेको थियो । अक्स्फामको आधिकारीक दस्तावेजलाई हवाला दिंदै लेखिएको उक्त समाचारले अक्स्फामबारे एकपछि अर्को भेद खोल्न सहयोग गरेको छ ।


तर, अक्स्फामले सन् २०११ मा ६ जना कर्मचारीलाई कारवाही गरी हाइटी छोडाइएको भनी जारी गरेको विज्ञप्तीमा भने उनीहरुले अनुशासन पालना नगरेकाले कारवाही गरेको भन्ने मात्रै उल्लेख छ । कारबाही गरिएकामध्ये केहीलाई पुन: अर्को देशमा जिम्मेवारी दिएर पठाइएको थियो ।


समाचार प्रकाशित भएलगत्तै, अक्स्फामका केही पूर्व कर्मचारीले समेत संस्थामा यसअघि भएको यौन दुव्र्यवहारका घटनाको बारेमा खुलासा गरेका छन् र संस्थाका उच्च पदस्थ अधिकारीले जानकारी भएर पनि यसलाई रोक्न उपयुक्त कदम नचालेको आरोप लगाएका छन् ।


अक्स्फामका कर्मचारीको सुरक्षाको जिम्मेवारी पाएको ‘सेफगार्ड’ विभागकी पूर्व प्रमुख हेलेन इभान्सले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा आफूले पटक पटक यौन दुव्र्यहार र बलात्कारको घटनाप्रति गम्भीर हुन उच्च नेतृत्वलाई अनुनय विनय गरे पनि त्यसको सुनुवाई नभएको दाबी गरेकी छन् ।


उनले अन्तर्वार्ताको क्रममा आफूले सन् २०१४ मा गरिएको एक गोप्य सर्वेक्षण प्रतिवेदन भेटेको र उक्त प्रतिवेदनमा अक्स्फामका १० मध्ये एकभन्दा बढी कर्मचारीले कार्यालयमै यौन दुव्र्यवहार भोगेको वा देखेको उल्लेख भएको बताएकी छन् । यो सर्वेक्षण अक्स्फामको साउथ सुडान कार्यालयमा गरिएको थियो ।


उनले आफूले अक्स्फामभित्रको यौन दुव्र्यवहारको घटनाबारे प्रमुखलाई जानकारी दिन खोज्दा भेट्न नमानिएको, इमेल गर्दा उपयुक्त नवाफ नपाएको गुनासो गरेकी छन् । उनले आफ्नो पदबाट राजीनामा दिएर यो बिषय अक्स्फामलाई नियमन गर्ने बेलायती च्यारिटी कमिसनमा समेत जानकारी गराए पनि दुई वर्षपछि अघिल्लो वर्ष पछि मात्रै आफूलाई सम्पर्क गरिएको बताइन् ।


‘यो बिषयमा अनुसन्धान सुरु भएपछि मात्रै सम्पर्क गरियो’, उनले भनेकी छन् । उनले यो बिषयमा आफूले बेलायती सांसद, सरकारी निकायलाई समेत जानकारी दिए पनि कसैले चासो नदेखाएको बताएकी छन् । उनी सन् २०१२ देखि २०१५ सम्म अक्स्फाममा कार्यरत थिइन् ।


उनले अक्स्फामले धेरै बेलायतमा सञ्चालन गरेको च्यारिटी सप (सामान बिक्री गरी चन्दा उठाउन खोलिएको पसल) मा युवा उमेरका कर्मचारीले १४–१५ वर्षका स्वयम्सेवी युवतीहरुलाई यौन दुव्र्यवहार गरेको रिपोर्ट आफूसमक्ष आएको बताएकी छन् । साथै, उनले हाइटीमा एक महिलालाई यौन सम्पर्क गर्न दिए राहत दिने भनी कर्मचारीले प्रस्ताव राखेको बिषयसमेत खुलासा गरेकी छन् ।


हाइटीमा अक्स्फामको लागि सन् २००९ देखि २०१२ सम्म काम गरेकी विजा बाऱ्यान्टले समेत बीबीसीलाई अन्तर्वार्ता दिंदै संस्थाका उच्च अधिकारीले आफ्नो निवासमा यौनकर्मीहरु लैजाने गरेको बिषय आफूलाई थाहा भएको बताएकी छन् । ‘स्थानीयले मलाई यो बारेमा सुनाउँथे’, उनले भनेकी छन्,‘संस्थाका उच्च अधिकारीहरु आफ्नो गाडीमा राखेर यौनकर्मी भित्र्याउन चालकलाई अह्राउथे ।’


बेलायती सरकारको अनुदान र विश्वभरका विभिन्न संघसंस्था र व्यक्तिको दानबाट चलेको सहयोगी संस्थाबारे यो खुलासा भएपछि अब यस्ता मानवीय क्षेत्रमा काम गर्ने भन्ने गरेका संस्थाको विश्वसनीयतामाथि प्रश्न उठ्ने धेरैको अनुमान छ ।


विभिन्न बेलायती सञ्चारमाध्यमले संकलन गरेको विचारमा धेरैले अब यस्ता संस्थाका लागि कुनै सहयोग गर्न नसकिने अभिव्यक्ति दिएका छन् ।


अक्स्फामको सार्वजनिकरुपमै आलोचना हुन थालेपछि संस्थाकी सहायक प्रमुख पेनी लरेन्सले राजीनामा दिएकी छन् । उनले सार्वजनिक घटनाले आफू लज्जित भएको भन्दै घटनाको जिम्मेवारी आफूले लिने बताएकी छन् ।


यस्तै, अक्स्फामलाई नियमन गर्ने बेलायती च्यारिटी कमिसनले विज्ञप्ती जारी गरी अक्स्फामले संस्थाभित्रको यौन दुव्र्यवहारको घटनाबारे कुनै जानकारी नदिएको बताएको छ । उसले संस्थालाई सन् २०११ मा हाइटीमा भएको घटनाको पूरा जानकारी पठाउन भनिएको बताएको छ ।


बेलायती मन्त्री पेनी मोर्डन्टले हाइटी घटनाको बारेमा सत्यतथ्य जानकारी नदिए अक्स्फामलाई दिंदै आएको सहयोग रकम रोक्ने चेतावनी दिएकी छन् ।

प्रकाशित : फाल्गुन १, २०७४ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?