२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जुमालाई राजीनामा दिन दबाब

बीबीसी

जोहानेसबर्ग — भ्रष्टाचारसम्बन्धी विवादमा आफ्नै पार्टीले राजीनामा गर्न अल्टिमेटम दिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले आफूले कुनै गल्ती नगरेको र राजीनामा दिने कुनै कारण नभएको बताएका छन् । सत्तारूढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी) ले जुमालाई बुधबार राजीनामा दिन या बिहीबार अविश्वासको मतको सामना गर्न चेतावनी दिएको थियो । 

जुमालाई राजीनामा दिन दबाब

राष्ट्रपतिका निकट मानिएको व्यावसायिक घराना गुप्ता परिवारको जोहानेसबर्गस्थित निवासमा बुधबार भ्रष्टाचार मुद्दामा छापा मारेपछि उनलाई राजीनामाको दबाब तीव्र भएको थियो । गुप्ता परिवारले राष्ट्रपतिसँगको मित्रतालाई आफ्नो व्यापारिक स्वार्थमा दुरुपयोग गरेका आरोप लाग्दै आएको छ । दक्षिण अफ्रिकाको फ्री स्टेटमा रहेको इस्टिना डेरी फर्ममा भएको अनियमितताका बारेमा प्रहरीले अनुसन्धान गर्ने क्रममा छापा मारेको हो । त्यस क्रममा गुप्ता परिवारका २ सदस्यलाई पक्राउ गरिएको छ ।

राष्ट्रपति जुमाले आफूलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने कारण दिन पार्टी असफल भएको पनि बताएका छन् । ‘यसो गरेर मलाई अन्याय गरिएको छ,’ उनले राष्ट्रिय प्रसारण संस्था एसएबीसीसँग भने, ‘कसैले पनि मैले के गरें भनेर बताइरहेको छैन ।’

एएनसीले भने जुमाको पछिल्लो अभिव्यक्तिबारे कुनै प्रतिक्रिया दिएको छैन । उनले यसपछि सार्वजनिक गर्ने प्रतिक्रियाको पखाईमा रहेको एएनसीले बताएको छ ।

एएनसीका चिफ ह्वीप ज्याक्सन मथेम्बुले राष्ट्रपतिमाथिको अविश्वासको मतमाथि बिहीबार सुनुवाइ हुने घोषणा गरेका छन् । उनले एएनसीका वर्तमान प्रमुख सेरिल राम्फोसालाई राष्ट्रपतिको शपथ दिलाइने पनि जनाएका छन् । एएनसीको राष्ट्रिय कार्यकारी समितिको मंगलबार बसेको बैठकले जुमालाई फिर्ता बोलाउने निर्णय गर्दै बुधबारसम्म राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

तर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भने जुमाले गुप्ता परिवारको निवासमा भएको छापा र गिरफ्तारीबारे कुनै प्रतिक्रिया दिएनन् ।

प्रकाशित : फाल्गुन ३, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?