कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाद्वारा १३ रूसीमाथि अभियोग

निर्वाचनमा रूसी हस्तक्षेप 
बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियनमा रूसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष टोली प्रमुख रोबर्ट मुलरले १३ जना रूसी नागरिकमाथि अभियोग लगाएका छन् । 

इन्टरनेट एजेन्सी ‘ट्रोल फार्म’ सँग सम्बद्ध उनीहरूले राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा जनमत पार्ने उद्देश्यले अनलाइनमा ठूलो मात्रामा सामग्री पोस्ट गरेको मुलरको कार्यालयले जनाएको छ ।

रूसले भने अमेरिकाको पछिल्लो कदमलाई ‘बकबास’ को संज्ञा दिएको छ । सुरक्षा सम्मेलनमा भाग लिन जर्मनी पुगेका रूसी विदेशमन्त्री सर्गेई ल्याभ्रोभले यस विषयमा अन्य प्रतिक्रिया दिनुपूर्व ‘तथ्यहरू’ हेर्ने बताए । सम्मेलनमा सहभागीले सोधेको प्रश्नको जवाफमा ल्याभ्रोभले भने, ‘हामीले यससँग सम्बन्धित तथ्यहरू नहेर्दासम्म यो एक बकबासबाहेक केही होइन् ।’


उक्त सूचीको शीर्षस्थानमा रहेका क्रेम्लिनसँग निकट व्यापारी युभ्गेन प्रिगोजिनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । डेमोक्रयाटिक पार्टीका नेतृ नान्सी पेलोसीले ‘ट्रोल फार्म’ माथि लगाइएको अभियोगले २०१६ को चुनावमा रूसी हस्तक्षेपबारे थप स्पष्ट भएको बताएकी छन् । तर रूसी विदेश मन्त्रालयका प्रवक्ताले निर्वाचनका क्रममा रूसी हस्तक्षेपबारे गलत आरोपहरू लगाइएको प्रतिक्रिया दिएकी छन् । रूसी समाचार संस्थासँगको कुराकानीमा उनले ‘भावनामा बग्ने अमेरिकी नागरिकले अरूको नराम्रो हेर्न चाहन्छन् हेर्न दिनुपर्छ ।’


‘कुनै साँठगाँठ छैन’

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनको अभियानका क्रममा रूससँग कुनै साँठगाँठ नभएको दोहोर्‍याएका छन् । चुनावी साँठगाँठबारे अनुसन्धान गरिरहेको रोबर्ट मुलर नेतृत्वको समितिले १३ रूसीलाई अभियोग लगाएको जनाएपछि आफूले ‘कुनै गलत काम नगरेको’ ट्रम्पले दाबी गरे । ‘म राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुपूर्व नै रूसले अमेरिकाविरोधी अभियान नै सुरु गरिसकेको थियो ।’ शनिबार ट्वीट गर्दै ट्रम्पले भने ।


ट्रम्पले घाइते भेटे

अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार फ्लोरिडामा भएको गोलीकाण्डमा घाइतलेलाई भेटेका छन् । प्रथम महिला मेलानियासँगै ट्रम्प घाइतेको उपचार भइरहेको अस्पताल पुगेका हुन् । घाइतेलाई भेटेलगत्तै ट्रम्पले गोली आक्रमणपछि उद्धार तथा सुरक्षामा खटिएका स्थानीय अधिकारीलाई धन्यवाद दिएका थिए । कानुन कार्यान्वयनमा संलग्न अधिकारीलाई ट्रम्पले भने, ‘तपाईंहरूले निकै सराहनीय कार्य गर्नुभयो । यसका लागि तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ ।’ फ्लोरिडास्थित मर्जोरी स्टोनम्यान डगलस उच्च माध्यमिक विद्यालयमा बिहीबार निकोलस क्रुजले आक्रमण गरेका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?