कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बिटल्स’ का सदस्यको सजायबारे छलफल

बीबीसी

लन्डन — बेलायती गृहमन्त्री अम्बेर रुढले ‘बिटल्स समूह’ का दुई सदस्यलाई दिइने सजायबारे अमेरिका र बेलायतबीच छलफल भएको जनाएकी छन् । 

इस्लामिक स्टेट समर्थित विद्रोही समूह ‘बिटल्स’ का दुई बेलायती सदस्यलाई सिरियाली कुर्दिस लडाकुले दुई साताअघि पक्राउ गरेका थिए ।


रुढले हिरासतमा रहेका एलेजान्डा कोटी र एल साफी एल्सेखविरुद्ध आतंकवादी क्रियाकलापमा संलग्न रहेको तथा मानिसलाई बन्दी बनाई हत्या गरेको अभियोगमा मुद्दा चलाउनुपर्ने बताएकी छन् ।


‘उनीहरूले कानुनको पूर्ण कार्यान्वयनको सामना गर्नुपर्छ । त्यसका लागि हामी अमेरिकीसँग छलफलमा छौं,’ रुढले भनिन् । यसअघि बेलायती रक्षामन्त्रीले उनीहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउनुपर्ने बताएका थिए । अधिकारीहरूले उनीहरूलाई ग्वान्टानामो बे स्थित अमेरिकी सैनिक कारागारमा पठाउनुपर्नेसमेत सुझाव दिएका छन् ।


इस्लामिक स्टेटका लागि काम गर्ने ४ सदस्यीय ‘बिटल्स समूह’ का चारैजना बेलायती नागरिक हुन् । अमेरिकाले उक्त समूहले ‘विश्वमै फरक तथा निकै क्रूर यातना दिने’ गरेको जनाउँदै आतंककारीको सूचीमा समावेश गरेको छ । विटल्स समूहका प्रमुख योजनाकार मोहम्मद एम्वाजी सन् २०१५ मा सिरियाली सहर रक्कामा ड्रोन आक्रमणमा मारिएका थिए । सन् २०१५ मा टर्कीको इस्तानबुलमा पक्राउ परेका अर्का सदस्य डेविस आतंककारी मुद्दामा दोषी ठहर भएपछि कारावास सजाय काटिरहेका छन् ।


‘बिटल्स’ ले पश्चिमी देशका दुई दर्जनभन्दा बढी नागरिकलाई बन्धक बनाई क्रूर यातनापछि मारेका थिए । घटनाका पीडितका आफन्तजनले उनीहरूलाई हेगस्थित युद्धअपराधमा सुनुवाइ गरिनुपर्ने माग गर्दै आएका छन् । तर कतिपयले भने कोटि र एल्सेखलाई लामो पीडादायी यातनासँगै मृत्युदण्ड दिनुपर्ने बताएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?