१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिरियामा सरकारी फौजको भीषण आक्रमण 

२४ घण्टामा १७७ मारिए 
एएफपी/बीबीसी

दमास्कस — सिरियाली सरकारी फौजले विद्रोही नियन्त्रित पूर्वी क्षेत्र घोउटामा मंगलबार गरेको बमबारीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । 

यसअघि सोमबार राति र मंगलबार विहानका हवाई कारबाहीका २० बालबालिका सहित १ सय २७ जनाको मृत्यु भएको थियो । स्थानीय उद्धार टोली र निगरानी समूहका अनुसार उनीहरूको सोमबार राति र मंगलबार गरिएका आक्रमणमा उनीहरूको मृत्यु भएको हो । उक्त आक्रमण सन् २०१३ यताकै सबैभन्दा खराब भएको बीबीसीले जनाएको छ । ‘हाइट हेल्मेट्स’ का नामले परिचित सिरियाली नागरिक प्रतिरक्षा फौजले सोमबार रातिदेखि सुरु भएको आक्रमण मंगलबार बिहानसम्म पनि जारी रहेको जनाएको छ । सिरियाली सरकारी फौजले एक महिनायता उक्त क्षेत्रमा आफ्नो कारबाही बढाएको थियो । गत आइतबार यताका कारबाहीका क्रममा १ सय ९४ जनाको मृत्यु भइसकेको छ । कारबाहीमा परी ८ सय ५० घाइते भएका छन् ।

‘सिरियाली अब्जरभेटरी फर हयुमन राइट्स’ र ‘हाइट हेल्मेट्स’ ले पछिल्ला आक्रमणमा कम्तीमा १ सय ७७ जनाको मृत्यु भएको जनाएका छन् । घोउटा विद्रोहीको नियन्त्रणमा रहेको एक मात्र राजधानीनजिकैको क्षेत्र हो । स्थानीय समन्वय समितिले डोउमा, मिश्रवा र अल–नसबिया क्षेत्रमा भएका पछिल्ला हवाई हमलामा दर्जनौं सर्वसाधारणको मृत्यु हुनुका साथै सयौं घाइते भएको जनाएको छ ।

बमबारी रोक्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले सिरियामा हालैका दिनमा गरिएका सर्वसाधारण लक्षित घटना रोक्न आग्रह गरेको छ । सोमबार राति र मंगलबार बिहान घोउटा क्षेत्रमा गरिएको आक्रमणमा कम्तीमा १ सय सर्वसाधारण मारिएपछि राष्ट्रसंघले आक्रमण रोक्न आग्रह गरेको हो ।


सिरियाका लागि राष्ट्रसंघीय क्षेत्रीय मानवीयता समन्वयकर्ताले सर्वसाधारण लक्षित आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताए । पानोस मोउम्तिजले भने, ‘यस्तो किसिमको अनावश्यक मानव पीडालाई सधैँका लागि अन्त्य गर्न अनिवार्य छ ।’ राष्ट्रसंघले द्वन्द्वका कारण आपतमा परेका मानिसलाई आवश्यक मानवीय सहयोग गर्न सहायता संस्थालाई आग्रह समेत गरेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?