२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रेम सम्बन्धले अस्ट्रेलियाली उपप्रधानमन्त्री समस्यामा

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — आफ्नै पार्टी कार्यालयमा काम गर्ने एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयस समस्यामा परेका छन् । 

उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयकी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो ।

प्रेम सम्बन्धले अस्ट्रेलियाली उपप्रधानमन्त्री समस्यामा

स्थानीय पत्रपत्रिकाले क्यापिनमा उपप्रधानमन्त्रीको गर्भ रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्री माल्कम टर्नबुल र जोयसका सहकर्मीले पनि उनको कडा आलोचना गरेका थिए । समाचार सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री टर्नबुलले कुनै पनि मन्त्रीहरुले आफ्ना कर्मचारीहरुसँग शारीरिक सम्बन्ध राख्न नपाउने बताएका थिए ।


बिहीबार ४ दिनका लागि अमेरिका भ्रमणमा हिँडेका प्रधानमन्त्री टर्नबुलले जोयसको साटो माथियस कोरम्यानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत दिएका छन् । जोयस अहिले सत्ता साझेदर दल नेसनलका पार्टी प्रमुख हुन् ।


जिम्मेवार पदमा बसेको व्यक्तिले आचरणविपरीत काम गरेको भन्दै विपक्षी नेताहरुले जोयसको राजीनामा माग गरेका छन् । उनलाई नेसनल पार्टीका केही नेताले समेत पदबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् । श्रीमती र ४ छोरी रहेका जोयस प्रधानमन्त्री टर्नबुलको सुझावअनुसार हाल उनी एक साताका लागि बिदामा बसेका छन् । जोयसले क्यापियन आफ्नो पार्टनर भएको स्विकारेका छन् ।


जोयस केही महिनाअघि दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि राजीनामा दिएर पुन: सोही स्थानबाट निर्वाचित भएका थिए । उनले सार्वजनिक रूपमा अहिले भएको घटनाले आफ्नी श्रीमती र परिवारमा परेको दु:खप्रति माफीसमेत मागेका छन् । अर्काेतिर उनको पार्टी नेसनलको पश्चिम अस्ट्रेलिया प्रमुख मिया डेभिसले जोयसलाई आफ्नो समर्थन नरहेको बताइसकेकी छन् । तर केही मुख्य नेताहरुले भने जोयस अहिले पनि पार्टी प्रमुख रहेको भन्दै समर्थन जनाइरहेका छन् ।


स्थानीय सञ्चारमाध्यमका अनुसार नेसनल पार्टीकी सञ्चार सल्लाहकारको रूपमा जागिरमा प्रवेश गरेकी क्याम्पियनले गतवर्ष जोयसको कार्यालयबाट स्रोतमन्त्री म्याथ्यु क्यानाभानको कार्यालयमा स्थानान्तरण भएकी थिइन् । विपक्षीलगायतका अन्य केही नेताहरुले उपप्रधानमन्त्री जोयसले आफ्नी पार्टनरलाई सहयोग गर्दै उक्त जागिर दिलाएको आरोप लगाए पनि प्रधानमन्त्रीको कार्यालयले कुनै अनैतिक कार्य नभएको प्रष्टीकरण दिइसकेको छ । त्यति बेला जोयसले पनि क्यापियन आफ्नो पार्टनर नभएको दाबी गरेका थिए ।


कार्यवाहक प्रधानमन्त्री कोरम्यानलगायत नेताहरुले यस विषयलाई छाडेर देशका मुद्दाहरुमा अघि बढ्नुपर्ने बताएका छन् । तर करिब ३ साता बितिसक्दा पनि अस्ट्रेलियाको राजनीति यही विषयमा रुमल्लिरहेको छ ।


प्रकाशित : फाल्गुन १०, २०७४ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?