प्रेमसम्बन्धले पद धरापमा

अस्ट्रेलियाली उपप्रधानमन्त्री बार्नबी जोयसको राजीनामा माग
कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नै पार्टी कार्यालयमा काम गर्ने एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयस समस्यामा परेका छन्। 

प्रेमसम्बन्धले पद धरापमा

उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयकी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो। स्थानीय पत्रपत्रिकाले क्यापिनमा उपप्रधानमन्त्रीको गर्भ रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्री माल्कम टर्नबुल र जोयसका सहकर्मीले पनि उनको कडा आलोचना गरेका थिए। समाचार सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री टर्नबुलले

कुनै पनि मन्त्रीहरूले आफ्ना कर्मचारीहरूसँग शारीरिक सम्बन्ध राख्न नपाउने बताएका थिए।

बिहीबार ४ दिनका लागि अमेरिका भ्रमणमा हिँडेका प्रधानमन्त्री टर्नबुलले जोयसको साटो माथियस कोरम्यानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत दिएका छन्। जोयस अहिले सत्ता साझेदर दल नेसनलका पार्टी प्रमुख हुन्।

जिम्मेवार पदमा बसेको व्यक्तिले आचरणविपरीत काम गरेको भन्दै विपक्षी नेताहरूले जोयसको राजीनामा माग गरेका छन्। उनलाई नेसनल पार्टीका केही नेताले समेत पदबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्। श्रीमती र ४ छोरी रहेका जोयस प्रधानमन्त्री टर्नबुलको सुझावअनुसार हाल उनी एक साताका लागि बिदामा बसेका छन्। जोयसले क्यापियन आफ्नो पार्टनर भएको स्विकारेका छन्।

जोयस केही महिनाअघि दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि राजीनामा दिएर पुन: सोही स्थानबाट निर्वाचित भएका थिए। उनले सार्वजनिक रूपमा अहिले भएको घटनाले आफ्नी श्रीमती र परिवारमा परेको दु:खप्रति माफीसमेत मागेका छन्। अर्काेतिर उनको पार्टी नेसनलको पश्चिम अस्ट्रेलिया प्रमुख मिया डेभिसले जोयसलाई आफ्नो समर्थन नरहेको बताइसकेकी छन्। तर केही मुख्य नेताहरूले भने जोयस अहिले पनि पार्टी प्रमुख रहेको भन्दै समर्थन जनाइरहेका छन्।

नेसनल पार्टीकी सञ्चार सल्लाहकारको रूपमा जागिरमा प्रवेश गरेकी क्याम्पियनले गतवर्ष जोयसको कार्यालयबाट स्रोतमन्त्री म्याथ्यु क्यानाभानको कार्यालयमा स्थानान्तरण भएकी थिइन्।विपक्षीलगायत अन्य केही नेताहरूले उपप्रधानमन्त्री जोयसले आफ्नी पार्टनरलाई सहयोग गर्दै उक्त जागिर दिलाएको आरोप लगाए पनि प्रधानमन्त्रीको कार्यालयले कुनै अनैतिक कार्य नभएको प्रष्टीकरण दिइसकेको छ।

त्यति बेला जोयसले पनि क्यापियन आफ्नो पार्टनर नभएको दाबी गरेका थिए। कार्यवाहक प्रधानमन्त्री कोरम्यानलगायत नेताहरूले यस विषयलाई छाडेर देशका मुद्दामा अघि बढ्नुपर्ने बताएका छन्। तर करिब ३ साता बितिसक्दा पनि अस्ट्रेलियाको राजनीति यही विषयमा रुमल्लिरहेको छ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?