कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सी तेस्रोपटक राष्ट्रपति हुने

चेतनाथ आचार्य

बेइजिङ — चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति दुई कार्यकालमात्र रहने संवैधानिक व्यवस्थालाई संशोधन गरी वर्तमान राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको बाटो खुला गर्ने अन्तिम गृहकार्य सुरु भएको छ ।

सी तेस्रोपटक राष्ट्रपति हुने

गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको १९ औं महाधिवेशनले सी चिनफिङ विचारधारालाई पार्टीको विधानमा समेट्ने निर्णय गरेपछि उनी जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ चतुङपछि सर्वशक्तिशाली नेता भएका छन् । विगत दुई देशकदेखि चीनको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री लगातार दुई कार्यकाल मात्र रहने व्यवस्था थियो । त्यसैगरी सीपीसीको महासचिव पनि दुई कार्यकाल मात्र रहन पाउने अभ्यास हुँदै आएको थियो ।


शनिबार सम्पन्न सीपीसीको पोलेटब्युरो बैठकले चीनको संविधानमा दुई कार्यकालको सीमा संशोधन गर्ने निर्णय गर्दै सोमबारदेखि सुरु हुने सीपीसीको तेस्रो पूर्णबैठकमा पेश गर्ने निर्णय गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ । सीपीसीको तेस्रो पूर्ण बैठकबाट संविधान संशोधनको एजेन्डा पारित भएपछि आगामी मार्च ५ मा सुरु हुने १३ औं चिनियाँ राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले वैधानिक रूपमा संविधान संशोधन गर्नेछ । चीनका प्रमुख सरकारी पदहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्चस्तरमा नियुक्ति गर्ने काम पनि राष्ट्रिय जनकंग्रेसको हो । तर जनकंग्रेसलाई सीपीसीका निर्णय लागू गर्ने ‘रबर स्ट्याम्प’ मात्र मानिन्छ ।


एकै व्यक्ति लामो समयसम्म पदमा बसिरहँदा आन्तरिक प्रजातन्त्र सुदृढ नहुने र नेतृत्व हस्तान्तरण नहुने भन्दै आधुनिक चीनका नेता तङ स्यावोफिङले दुई कार्यकालको सिद्धान्त अगाडि सारेका थिए । तङ स्यावोफिङभन्दा अगाडि लामो समयसम्म माओ चतुङ राष्ट्रपति र चाउ एनलाई प्रधानमन्त्री बनेका थिए । सीपीसीको १९ औं महाधिवेशनकै बेला सीले आफ्नो उत्तराधिकारी नतोकेपछि उनी तेस्रो कार्यकालमा पनि नेतृत्वमा रहने अड्कल गरिएको थियो । संविधानमै लेखिएको दुई कार्यकालको सीमा संशोधन हुने भएपछि सन् २०२३ पछि पनि सीले तेस्रो कार्यालका लागि पनि नेतृत्व गर्ने कुरा अहिलेदेखि नै बहस सुरु भएको छ ।


१३ औं चिनियाँ राष्ट्रिय जनकंग्रेसको नेतृत्व चयन गर्न तथा महत्त्वपूर्ण विधेयकहरूको तर्जुमा गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) १९ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरु हुँदै छ । शनिबार बेइजिङमा सम्पन्न १९ औं सीपीसीको केन्द्रीय पोलिटब्युरो बैठकले गरेको निर्णयअनुसार तेस्रो पूर्ण बैठक बुधबारसम्म चल्नेछ । सीपीसीका पूर्ण बैठकहरू निकै महत्त्वपूर्ण हुने गर्छन् । राष्ट्रिय नीति निर्धारण गर्न, नेतृत्व चयन गर्न, महत्त्वपूर्ण परिपाटी लागू गर्न तथा ठूला निर्णय गर्नका लागि पूर्ण बैठकको आयोजना हुने गर्दछ ।


‘प्लेनरी सेसन’ भनिने पूर्ण बैठक सीपीसीको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली अंग मानिन्छ । यसमा केन्द्रीय सदस्य, केन्द्रीय वैकल्पिक सदस्य, केन्द्रीय अनुशासन आयोगका सदस्यहरू र केन्द्रीय कार्य विभाग तथा संगठन विभागका पदाधिकारीहरू सहभागी हुने गर्दछन् । तेस्रो पूर्ण बैठकमा सीपीसीका २०३ केन्द्रीय सदस्य र १७२ वैकल्पिक सदस्यसँगै केन्द्रीय अनुशासन आयोगका लगायतका अन्य विभिन्न विभागका सदस्यहरू सहभागी हुनेछन् । यो बैठकले नेतृत्वदायी पदहरूमा नयाँ व्यक्तिहरू चयन गर्नेछ ।


चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीमा यस अगाडि नै सी चिनफिङ र ली खछ्याङलाई दोहोर्‍याउने निर्णय सीपीसीले गरिसकेको छ । बैठकले १३ औं चिनियाँ राष्ट्रिय जनकंग्रेसको अध्यक्ष, उपाध्यक्ष चयन गर्नेछ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औं राष्ट्रिय समितिको अध्यक्ष पनि तोक्नेछ । त्यसैगरी उपराष्ट्रपति र उपप्रधानमन्त्रीहरू पनि यही बैठकले निश्चित गर्नेछ । यी पदहरू औपचारिक रूपमा आगामी मार्च ५ तारिख सुरु हुने १३ औं चिनियाँ राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले पारित गरेपछि लागू हुनेछन् । १९ औं सीपीसीको शनिबार सम्पन्न केन्द्रीय पोलेटब्युरो बैठकले सोमबार सुरु हुने तेस्रो पूर्ण बैठकको मुख्य एजेन्डा संविधान संशोधनसँगै संस्थागत पुन:संरचना हुने जनाएको छ । सीपीसीको १९ औं महाधिवेशनले संस्थागत पुन:संरचना गर्ने नीति पारित गरेको थियो, जसअनुसार वर्तमान महासचिव सी चिनफिङ अझ शक्तिशाली बन्दै आएका छन् । सीपीसीका अधिकार र निर्णयहरू वर्तमान महासचिव सीमाथि केन्द्रित बनाउने अभ्यास सुरु भएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?