कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किम र दक्षिण कोरियाली टोलीबीच भेटवार्ता

बीबीसी/रोयटर्स

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँग  सोमबार भेटवार्ता गरेका छन् । किमले सन् २०११ मा सत्तामा आएयता पहिलोपटक दक्षिण कोरियाली अधिकारीलाई भेटेका हुन् । वार्ताबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन । 

दक्षिण कोरियाली वरिष्ठ अधिकारीसहितको ५ सदस्यीय टोली सोमबार प्योङयाङ पुगेको हो । उनी दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनको विशेषदूतका रूपमा किमसँग भेटवार्ताका लागि प्योङयाङ गएका हुन् । दक्षिण कोरियाली समाचार संस्था योनहापले प्रतिनिधिमण्डलको स्वागतमा किमले रात्रिभोजको आयोजना गरेको जनाएको छ । विरलै हुने यस किसिमको भ्रमणको मुख्य एजेन्डा उत्तर कोरिया र अमेरिकाबीच वार्ता सुरु गर्ने विषयमा केन्द्रित हुने अधिकारीले जनाएका छन् ।


दुई साताअघि दक्षिण कोरियामा भएको हिउँदे ओलम्पिकमा उत्तर कोरिया सहभागी भएपछि दुई देशबीच सम्बन्धमा सुधार आएको हो । ओलम्पिकमा दुई कोरियाले एउटै झण्डामुनि मार्चपास गरेका थिए ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भ्रमण टोलीमा मन्त्रीस्तरीय दुई अधिकारी छन् । योनहापका अनुसार टोलीमा गुप्तचर प्रमुख सु हुन र राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यी–योङ सहभागी छन् ।


दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली परमाणु हतियारले निम्त्याएको समस्या र वासिङ्टन र प्योङयाङबीचको सम्भावित वार्ताबारे छलफल हुने बताइएको छ । उत्तर कोरिया प्रस्थान गर्नुअघि चुङले उत्तर र दक्षिण कोरियाबीच सुमधुर सम्बन्ध स्थापित गर्ने तथा कोरियाली द्वीपमा परमाणु नि:शस्त्रीकरणबारे राष्ट्रपति मुनको प्रस्ताव पेस गर्ने बताए । उनले भने, ‘उत्तर र दक्षिण कोरियाबीच मात्र नभई उत्तर कोरिया र अमेरिकाबीच वार्ता सुचारु गर्न विभिन्न विषयबारे छलफल गर्ने हाम्रो योजना छ ।’ गत साता उत्तर कोरियाले अमेरिकासँग विनासर्त वार्ता गर्न इच्छुक रहेको बताएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरले परमाणु कार्यक्रम नत्यागेसम्म वार्ता नहुने बताएका थिए । दक्षिण कोरियाली विदेश मन्त्रालयलाई उद्धृत गर्दै योनहापले ‘दुई कोरियाबीचको छलफलपछि आउने अमेरिकी प्रतिक्रियाले मात्रै ऊ वार्ताका लागि इच्छुक भए/नभएको निर्धारण हुने बताएको छ । साथै, दक्षिण कोरियाली अधिकारीले उत्तर कोरियासँगको वार्तापछि अमेरिकी अधिकारीसँग पनि छलफल गर्ने योजना रहेको बताएका छन् । तर त्यस्तो वार्तामा अमेरिकाका तर्फबाट कसको सहभागिता हुने भन्नेबारे कुनै जानकारी दिइएको छैन ।


यसअघि सन् २००७ मा वरिष्ठ अधिकारीसहितको दक्षिण कोरियाली टोलीले प्योङयाङ भ्रमण गरेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम सन् २०११ मा सत्तामा बसेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?