२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मुम्बईमा किसानको प्रदर्शन

एजेन्सी

मुम्बई — भारतको महाराष्ट्रमा विभिन्न माग राख्दै हजारौं किसानले नाशिकबाट सुरु गरेको विरोध प्रदर्शन मुम्बई पुगेको छ । 

३५ हजार किसानले मार्च ६ मा नाशिकबाट सुरु गरेको पैदल मार्च १ सय ६७ किलोमिटर यात्रा सम्पन्न गर्दै सोमबार बिहान राजधानीस्थित आजाद मैदानमा पुगेको हो । पैदल मार्चमा संलग्न कतिपय महिला तथा बालबालिका रहेको बीबीसीले जनाएको छ । किसानहरूले २००६ को वन अधिकार कानुन, स्वामीनाथन आयोगको सिफारिस , कृषि उपजको उचित मूल्य तथा किसानको ऋण माफी दिने सरकारी घोषणा पूर्णरूपमा लागू गर्नुपर्ने लगायतका माग राख्दै विरोधमा उत्रिएका हुन् । जंगलमा खेतीपाती गर्दै आएका आदिवासीलाई जमिनको व्यवस्था गर्नुपर्नेसमेत माग उनीहरूको छ ।

प्रदर्शनकारीले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेसम्म आजाद मैदान नछाड्ने चेतावनी दिएका छन् । किसान नेता विजय जभन्दियाले ‘देशमा कृषि क्षेत्रको आम्दानी हालैका वर्षहरूमा निकै घटेको बताए ।’

लामो समयदेखि किसानका मुद्दाहरूमा कमल चलाउँदै आएका वरिष्ठ पत्रकार पी सैनाथले सरकारले उनीहरूको मागको सुनुवाइ नगर्नुको विकल्प नरहेको बताए ।

महाराष्ट्र सरकारले भने किसानहरूका उचित माग सम्बोधन गर्न आफू तयार रहेको प्रतिक्रिया दिएको छ । तर किसानहरूले राष्ट्रले पछिल्ला वर्षहरूमा उल्लेख्य विकास गरे पनि आफ्नो दिनचर्या उस्तै रहेको भन्दै सरकारसँग असन्तुष्टि पोख्दै आएका छन् ।

उक्त विरोध प्रदर्शनको भारतीय कम्युनिस्ट पार्टी सम्बद्ध राष्ट्रिय किसान संगठनले आयोजना गरेको हो । भारतीय जनता पार्टीको सत्ता–सहयात्री शिव सेनालगायत विपक्षी दलहरूले किसानको आन्दोलनको समर्थन जनाएका छन् । राज्य सरकारले यसअघि गरेका प्रतिबद्धताअनुसार आफ्ना माग पूरा नगरेको जनाउँदै उनीहरूले विधान भवन अगाडि प्रदर्शन गरेका हुन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?