फ्लोरिडा — अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा गत महिना भएको गोलीकाण्डको विरोधमा बिहीबार अमेरिकाका विद्यार्थी तथा विद्यालयका कर्मचारीले देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।
फ्लोरिडास्थित मार्जोरी स्टोनम्यान डग्लस विद्यालयमा भएको गोलीकाण्डमा मारिएका १७ विद्यार्थीको सम्झनामा उनीहरूले १७ मिनेट पठनपाठन रोकेर विरोधमा सहभागी भएका हुन् । गत महिना फ्लोरिडास्थित मार्जोरी स्टोनम्यान डग्लस विद्यालयका पूर्व विद्यार्थी निकोलस क्रुजले गरेको आक्रमणमा १७ जनाको ज्यान गएको थियो । मारिनेमा १४ जना उक्त विद्यालयका विद्यार्थी थिए ।
बिहीबारको विरोध प्रदर्शनमा सहभागी विद्यार्थी तथा विद्यालयका कर्मचारीले अमेरिकी संसदले बन्दुकको नियन्त्रणमा चासो नदिएकाले हिंसात्मक आक्रमण बढेको आरोप लगाएका थिए ।
गतसाता फ्लोरिडा राज्यमा बन्दुक किन्न पाउने उमेरलाई १९ बाट बढाएर २१ पुर्याइएको थियो । उक्त निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बन्दुकसम्बन्धी नीतिअन्तर्गत भने नभएको बीबीसीले जनाएको छ ।
यद्यपि फ्लोरिडा गोलीकाण्ड अमेरिकाका विद्यालयमा हुने आक्रमण रोक्न सशस्त्र शिक्षकको व्यवस्था गर्नुपर्ने विवादित अभिव्यक्ति दिएका थिए । ‘नेसनल स्कुल वाकआउट’ का आयोजकले विद्यार्थी, शिक्षक, विद्यालय प्रशासक, अभिभावक लगायतलाई सहभागी हुन आग्रह गरेका थिए ।
फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल विद्यार्थीले अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएका छन् ।
फ्लोरिडाको पार्कल्यान्डस्थित विद्यालयका विद्यार्थीले उक्त गोली प्रहारको घटनालाई अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्वसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने बहसलाई निर्णायक विन्दुमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । विद्यार्थीले बन्दुक नियन्त्रणका लागि कडा कानुन बनाउन दबाब दिने उद्देश्यले र्याली आयोजना गर्ने जनाएका छन् ।
प्रकाशित : चैत्र २, २०७४ ०८:४५