रुसले बेलायती कूटनीतिज्ञ निष्कासित गर्ने

बीबीसी

मस्को — रुसले बेलायती कूटनीतिज्ञलाई निष्कासित गर्ने तयारी गरेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले उक्त निर्णयमा राष्ट्रपतिले अन्तिम हस्ताक्षर गर्न मात्र बाँकी रहेको जनाएका छन् ।

रुसले बेलायती कूटनीतिज्ञ निष्कासित गर्ने

राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले यसबारे विदेश मन्त्रालयले अन्तिम तयारी गरिसकेको बताए । उनले भने, ‘वास्तवमा यसको अन्तिम निर्णय गर्ने राष्ट्रपतिले हो ।’ रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले राजधानी मस्कोमा बोल्दै बेलायती कदमको जवाफमा रुसले पनि कुटनीतिज्ञलाई ‘चाँडै नै’ निष्कासित गर्ने बताए ।

बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले रुसका पूर्वगुप्तचर सर्गेइ स्क्रिपल र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर गर्ने रसायन प्रयोग भएको घटनाबारे व्याख्या गर्न अस्वीकार गरेपछि २३ कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन् ।

रुसले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ल्याभरोभले बेलायती प्रधानमन्त्री टेरेजा मे को आरोप ‘पागलपूर्ण’ भएको बताए । कूटनीतिज्ञलाई कहिले निष्कासन गर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा ल्याभरोभले भने, ‘चाँडै नै, म तपाईसँग वाचा गर्छु ।’ उनले बेलायती आरोपहरू ‘पूर्णतया अशिष्ट’ भएको बताए । ल्याभरोभले बेलायतले रुसमाथि आरोप लगाउनुको आंशिक कारण ब्रेक्जिट सम्बन्धी सरकारको समस्या पनि रहेको दाबी गरे । रुसले बेलायती आरोपको कुनै प्रमाण नभएको जनाएको छ । साथै उसले बेलायतलाई अनुत्तरदायी भएको आरोप लगाएको छ ।

६६ वर्षीय पूर्व गुप्तचर स्क्रिपल र उनकी ३३ वर्षीया छोरी युलिया ४ मार्चमा भएको आक्रमणपछि गम्भीर बिरामी भएका थिए । प्रारम्भिक अनुसन्धानमा उक्त आक्रमणमा ‘नोभिचोक’ नामक रसायनको प्रयोग भएको पत्ता लागेको थियो ।

बेलायतले रसायनिक प्रतिरक्षा केन्द्र खोल्ने
बेलायतले नयाँ रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोल्ने घोषणा गरेको छ । आधुनिक प्रतिरक्षा कार्यक्रमको महत्त्वपूर्ण हिस्साका रूपमा ७ करोड डलर लगानीमा उक्त केन्द्र स्थापना गरिने बेलायतले जनाएको छ । केन्द्र दक्षिणी बेलायतस्थित पोर्टन डाउनमा स्थापना गरिनेछ । पूर्व रुसी जासुस सरगेई स्क्रिपालमाथि आक्रमण गर्न प्रयोग गरिएको स्नायु प्रणालीमा असर गर्ने रसायनको पहिचान गर्न वैज्ञानिकले उक्त केन्द्रमा मद्दत गर्नेछन् । ब्रिटेन सरकारले रासायनिक अस्त्रको खतरा रुसबाट मात्रै नभई उत्तर कोरियाजस्ता देशबाट पनि भएकोबारे सचेत गराउने तयारी गरेको छ । खोप सावधानीस्वरूप हजारौं बेलायती फौजलाई छालामा असर गर्ने एन्थ्र्याक्स नामक संक्रमणविरुद्ध खोप लगाइनेछ । पोर्टन डाउनस्थित सैन्य अनुसन्धान प्रयोगशाला खासगरी सुरक्षा फौज र सर्वसाधारणलाई रासायनिक र जैविक हमलाबाट जोगाउनका लागि निर्माण गरिएको हो ।

बेलायतले बुधबार २३ जना रुसी कूटनीतिज्ञलाई निष्कासित गरेको थियो । बेलायती प्रधानमन्त्री टरिजा मे ले साल्सवरीमा रुसका पूर्वगुप्तचरमाथि स्नायु प्रणालीमा असर गर्ने रसायन प्रयोग भएकोबारे व्याख्या गर्न ती कूटनीतिज्ञले अस्वीकार गरेपछि उनीहरूलाई निष्कासित गरिएको बताएकी हुन् ।

सुरक्षा परिषद् बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आफ्नो शान्त सहरमा रुसले युद्धमा पनि प्रतिबन्ध लगाइएको घातक अस्त्र प्रयोग गरेको बताएको थियो । रुसले भने ती पूर्वजासुसको हत्या प्रयास गरेको आरोप अस्वीकार गर्दै उपयुक्त ढंगले त्यसबारे प्रतिक्रिया दिने जनाएको छ ।

बेलायतलाई अन्तर्राष्ट्रिय समर्थन
पूर्व रुसी गुप्तचर र उनकी छोरीलाई आक्रमण गरिएको विषयमा बेलायतलाई विभिन्न देशले समर्थन व्यक्त गरेका छन् । अमेरिका, फ्रान्स, जर्मनी लगायतका देशले विज्ञप्ति जारी गर्दै उक्त आक्रमण ‘बेलायतको सम्प्रभुतामाथिकै हमला’ को संज्ञा दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो बेलायतको सम्प्रभुतामाथिकै हमला मात्र नभई रसायनिक हतियारसम्बन्धी महासन्धि र अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन हो, यसले हामी सबैको सुरक्षामाथि नै खतरा उत्पन्न गरेको छ ।’ विज्ञप्ति मार्फत रुसलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदो सदस्यका हैसियतमा आफ्नो उत्तरदायित्व पूरा गर्न ध्यानाकर्षण गराएका छन् । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हलीले सुरक्षा परिषद्लाई आक्रमणमा रुसको हात भएको अमेरिकालाई लागेको बताइन् ।

प्रकाशित : चैत्र २, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?