कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सिरिया द्वन्द्व : गुटा र अफ्रिनमा ७७ मारिए

५० हजार सर्वसाधारण विस्थापित 
बीबीसी/एएफपी

दमास्कस — सिरियाका द्वन्द्वग्रस्त पूर्वी गुटा र अफ्रिन क्षेत्रमा शुक्रबार गरिएका हिंसात्मक कारवाहीका क्रममा कम्तीमा ७७ जनाको मृत्यु भएको छ । आक्रमणपछि कम्तीमा ५० हजार सर्वसाधारण उक्त क्षेत्रबाट बाहिरिएका छन् ।

सिरिया द्वन्द्व : गुटा र अफ्रिनमा ७७ मारिए

पूर्वी क्षेत्र गुटामा रुसको सहयोगमा सरकारी सेनाले गरेको कारवाहीका क्रममा कम्तीमा ५९ जनाको मृत्यु भएको एएफपीले जनाउको छ । हवाई आक्रमणपछि उक्त क्षेत्रबाट २० हजारभन्दा बढी सर्वसाधारण अन्यत्र भागेका छन् । शुक्रबार गुटाको काफर बट्ना र सक्वा शहरमा गरिएका आक्रमणका क्रममा उनीहरुको मृत्यु भएको ‘सिरियन अब्जर्भेटरी फर ह्यूमन राईट्स’ ले जनाएको छ ।


त्यसैगरी उत्तरी क्षेत्र अफ्रिनमा टर्कीस फौजले ‘पिपुल्स प्रोटेक्सन यूनिट (वाईपीजी)’ विरुद्ध गरेको आक्रमणका क्रममा १८ जनाको मृत्यु भएको छ । आक्रमणका कारण ३० हजार भन्दा बढी विस्थापित भएको बीबीसीले जनाएको छ ।


सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको ज्यान गइसकेको छ । द्वन्द्वका कारण करिब ६१ लाख आन्तरिक रुपमा विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।


द्वन्द्वमा प्रत्यक्ष रुपमा संलग्न टर्की, रुस र इरानका विदेशमन्त्रीहरु कजाक राजधानी अस्तानामा भेटवार्ता गरी आगामी महिना टर्कीको राजधानी इस्तानबुलमा हुने सिरियाबारे हुने सम्मेलनको तयारी गरेका छन् ।


सरकारी टेलिभिजनले अधिकांश महिला तथा बालबालिकाहरु सिरियाको उत्तरी र दक्षिणी क्षेत्रबाट बाहिरिएका दृष्यहरु प्रसारण गरेको बीबीसीले जनाएको छ ।


सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी गुटामा तीन सातायता भएका भीषण कारवाहीपछि करिब ७० प्रतिशत भु–भाग नियन्त्रणमा लिएको सरकारी सेनाले जनाएको छ । सिरियाको पूर्वी क्षेत्र गुटामा हाल दर्जनौ जिहादी समूहहरुले शसस्त्र विद्रोह गर्दै आइरहेका छन् । ती मध्ये जैस अल–इस्लाम र यसको विपक्षी फालक अल–रहमान मुख्य छन् ।


त्यसैगरी, सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा गत जनवरी २० यता टर्कीको सरकारी सेनाले शक्तिशाली सिरियन कुर्दिस विद्रोही ‘पिपुल्स प्रोटेक्सन यूनिट (वाईपीजी)’ विरुद्ध आक्रमण गर्दै आइरहेको छ ।


टर्कीले वाइपीजी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठन भएको दाबी गर्दै आक्रमण गरेको हो । तर वाइपीजीले पीकेकेसँग आफ्नो कुनै सांगठनिक सम्बन्ध नरहेको बताउदै आएको छ । पीकेकेले टर्कीको दक्षिणी क्षेत्रमा वर्षौदेखि छुट्टै राज्यको माग सहित विद्रोह गर्दै आइरहेको छ ।


गत मंगलबार टर्कीले अफ्रिन क्षेत्रमाथि आफूले नियन्त्रण कायम गरको जनाएको थियो । इस्लामिक स्टेटविरूद्धको कारबाहीमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार रहेको वाइपीजीले उत्तर–पूर्वी सिरियाका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेको छ । सन् २०१६ मा इस्लामिक स्टेटलाई परास्त गर्दै मानविजमाथि कुर्दिश नेतृत्वको फौजले नियन्त्रण कायम गरेको थियो ।


अंकाराले इस्लामिक स्टेटविरूद्धको कारवाही अन्त्य भइरहेको दाबी गर्दै अमेरिकाले वाइपीजी लगायतसँगको साझेदारी अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले टर्कीले कारवाहीका नाममा ‘अतिक्रमण’ गर्दै आइरहेको भन्दै निन्दा गर्ने गरेका छन् । उनले टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै आएका छन् ।

उक्त क्षेत्रमा हाल करिब ३० हजार टर्कीस सेना तथा उसको समर्थनमा हजारौ लडाकूहरु कारवाहीमा संलग्न छन् ।

प्रकाशित : चैत्र २, २०७४ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?