उत्तर कोरियाली विदेशमन्त्री स्विडेनमा

बीबीसी

स्टकहोल्म — उत्तर कोरियाली विदेशमन्त्री री योङ–होले शुक्रबार स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनसँग भेटवार्ता गरेका छन् ।

उत्तर कोरियाली विदेशमन्त्री स्विडेनमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच आगामी मे महिनामा हुने भनिएको वार्ताको पूर्वसन्ध्यामा उनी स्विडेन पुगेका हुन् । उनी कुनै भ्रमण तालिकाबिनै बिहीबार उत्तर कोरियाबाट स्विडेन प्रस्थान गरेका थिए । प्योङयाङले उक्त भ्रमण ‘द्विपक्षीय सम्बन्ध र आपसी मुद्दामा केन्द्रित भएको जनाएको छ ।’ स्विडेनसँग वास्टिन र प्योङयाङबीचका वार्ताहरूमा मध्यस्थता गरेको लामो अनुभव छ ।

स्विडिस समाचार संस्था टीटीसँग लोफभेनले ‘यदि मुख्य पात्रहरू तयार भए स्विडेनले वार्ताका लागि भूमिका निर्वाह गरोस् भन्ने चाहन्छन् भने आफूहरू तयार रहेको’ प्रतिक्रिया दिए । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका छैनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली विदेशमन्त्री रिले स्विडिस समकक्षी मार्गोट वालस्ट्रोमसँग बिहीबार र शुक्रबार बिहान गरी दुईपटक भेटेका थिए । एएफपी समाचार संस्थाले स्विडिस अधिकारीलाई उद्धृत गर्दै विदेशमन्त्रीले कोरियाली प्रायद्वीपमा जारी तनाव अन्त्यका लागि परमाणु नि:शस्त्रीकरणबारे छलफल भएको जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामार्फत प्राप्त उत्तर कोरियाको वार्ता प्रस्ताव स्वीकार गरेका थिए । दुई देशका शीर्ष नेताबीच आगामी मे महिनामा भेटवार्ता हुने बताइए पनि हालसम्म मिति र स्थानबारे केही खुलाइएको छैन ।

बीबीसीका अनुसार दुई नेताबीच दुई कोरियाबीचको सीमाक्षेत्र पन्मुन्जोम, चीन, स्वीडेन तथा अन्तर्राष्ट्रिय जलक्षेत्रमा वार्ता हुन सक्ने सम्भावना छ ।

प्रकाशित : चैत्र ३, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?