पुल खस्दा ६ को मृत्यु

बीबीसी

फ्लोरिडा — अमेरिकाको मियामीस्थित एक व्यस्त सडकमा पैदलयात्रीका लागि निर्माण गरिएको पुल खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

पुल खस्दा ६ को मृत्यु

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटी नजिकै रहेको पुलको भग्नावशेषमा पुरिएका मानिसको खोजीपछि प्रहरीले ६ जनाको मृत्यु भएको जनाएको हो ।

आपत्कालीन उद्धारकर्ताले भग्नावशेषमा पुरिएका कारमा फसेका मानिसलाई बाहिर निकालेका थिए । उनीहरूका अनुसार ५३ मिटर लामो पुल भत्कँदा ८ वटा गाडी पुरिएका थिए । शनिबार पुलको निर्माण सकिएको पुल पैदल यात्रुका लागि भने खुला गरिएको थिएन ।

प्रत्यक्षदर्शीले चारैतिर धुलोको मुस्लो उडिरहेको देखेको र कारबाट मानिस चिच्याइरहेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय समयअनुसार अपराह्न २ बजेभन्दा केहीअघि मात्र उक्त ९ सय ५० टनको आकाशे पुल भत्किएर तलको सडकमा खसेको थियो ।

जसका कारण कैयौं सवारी साधनहरू क्रंकिट भग्नावशेषमा पुरिएका थिए । फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका विद्यार्थीहरूले त्यहाँ रहेको ६ लेनको मोटरबाटो सुरक्षित रूपमा काट्न सकून् भनेर उक्त पुल बनाइएको थियो ।

यातायत सेवा प्रभावित नहुने गरी द्रूतरूपमा निर्माण गर्न मिल्ने अत्याधुनिक विधिबाट उक्त पुल बनाइएको थियो । अधिकारीका अनुसार पुल गतशनिबार ‘द्रूतगतिको निर्माण प्रविधि’ प्रयोग गरी ८ घण्टामा निर्माण गरिएको थियो । अमेरिकाको यातायात सुरक्षासम्बन्धी निकायले घटनाबारे आफूले स्वतन्त्र अनुसन्धान थालिसकेको जनाएको छ । निर्माणमा संलग्न कम्पनी एमसीएमले उक्त अनुसन्धानमा पूर्णरूपमा सघाउने प्रतिबद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?