१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिरिया द्वन्द्व: अफ्रिनबाट कुर्दहरू लखेटिए

बीबीसी/एएफपी

दमास्कस — टर्कीको सरकारी सेनाको नेतृत्वमा विगत २ महिनादेखि सिरियाको उत्तरी क्षेत्रमा कारबाही गर्दै आएको फौजले कुर्दिस सहर अफ्रिनलाई आइतबार नियन्त्रणमा लिएको छ ।

सिरिया द्वन्द्व: अफ्रिनबाट कुर्दहरू लखेटिए

सहरको मध्यभागमा लडाकुहरूले कुर्दिसलाई लखेटपछि झन्डा फहराउनुका साथै प्रख्यात कुर्दिस नेताको सालिक तोडफोड गरेको बीबीसीले जनाएको छ ।

उक्त क्षेत्रमा टर्कीको सरकारी सेनाले ‘फ्री सिरियन आर्मी’ सहितको सहयोगमा गत जनवरी २० देखि कुर्दिस लडाकु समूह ‘पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)’ विरुद्ध कारबाही गर्दै आएको छ । टर्कीले वाईपीजी आतंककारी संगठन भएको दाबी गर्दै आएको छ ।

अधिकारवादीहरूले आक्रमणका क्रममा २ सय ८० सर्वसाधारणको मृत्यु भएको जनाएका छन् । यद्यपि, टर्कीले भने उक्त आरोप अस्वीकार गरेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप यर्दोगानले ‘स्वतन्त्र सिरियाली सेनाको एकाइले अफ्रिन सहरमाथि आइतबार बिहान पूर्ण नियन्त्रण कायम गरेको’ घोषणा गरेका हुन् । उनले उक्त क्षेत्रका बम, बारुदी सुरुङ तथा अन्य अवरोध पन्छाउन कारबाही जारी रहने बताएका छन् ।

‘अफ्रिनको मध्यभागमा आतंकवादको सट्टा विश्वास र स्थायित्वको झन्डा फहराएको छ ।’ राष्ट्रपति यर्दोगानले भने, ‘अधिकांश आतंकवादीहरू दुई खुट्टाको बीचमा पुच्छर लिएर पहिले नै भागे ।’

अफ्रिनबाट प्राप्त तस्बिर तथा दृश्यहरूमा डोजरको सहायताले सालिक ढलाइएको देखिन्छ । उक्त स्मारक प्रख्यात कुर्दिस नेता ब्ल्याकस्मिथ कावाको हो । कुर्दिस बाहुल्य सिरियन डेमोक्रयाटिक फोर्सले सामाजिक सञ्जाल मार्फत अफ्रिनमा कुर्दिस जनताको संस्कृति र इतिहास ध्वस्त भएको जनाएको छ । टर्कीको फौजले आफ्नो ट्वीटर पेजमा पोस्ट गरेको भिडियोमा अफ्रिनको मध्यभागमा आफ्नो देशको झन्डा फहराएको देखिन्छ ।

‘फ्री सिरियन आर्मी’ का प्रवक्ता मोहम्मद अल–हमादिनले वाईपीजी लडाकुहरू पूर्णरूपमा परास्त भएको बताए । यद्यपि, मानवअधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर हयुमन राइट्स’ ले टर्की र फ्री सिरियन आर्मीको फौजले कतिपय स्थानमा अझै विद्रोहीको सामना गरिरहेको जनाएको छ ।

सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा गत जनवरी २० देखि टर्कीको सरकारी सेनाको नियन्त्रणमा कुर्दिस विद्रोही लक्षित आक्रमण जारी छ । आक्रमणका कारण अफ्रिन क्षेत्रबाट हालसम्म १ लाख ५० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेको अनुगमनकर्ताहरूले बताएका छन् । सेनाले शक्तिशाली सिरियन कुर्दिस विद्रोही वाईपीजीविरुद्ध आक्रमण गर्दै आइरहेको छ ।

टर्कीले वाईपीजी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठन भएको दाबी गर्दै आक्रमण गरेको हो । तर वाईपीजीले पीकेकेसँग आफ्नो कुनै सांगठनिक सम्बन्ध नरहेको बताउँदै आएको छ । पीकेकेले टर्कीको दक्षिणी क्षेत्रमा वर्षौंदेखि छुट्टै राज्यको मागसहित विद्रोह गर्दै आइरहेको छ ।

गत मंगलबार टर्कीले अफ्रिन क्षेत्रमाथि आफूले नियन्त्रण कायम गरको जनाएको थियो । इस्लामिक स्टेटविरुद्धको कारबाहीमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार रहेको वाईपीजीले उत्तर–पूर्वी सिरियाका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेको छ । सन् २०१६ मा इस्लामिक स्टेटलाई परास्त गर्दै मानविजमाथि कुर्दिस नेतृत्वको फौजले नियन्त्रण कायम गरेको थियो ।

अंकाराले इस्लामिक स्टेटविरुद्धको कारबाही अन्त्य भइरहेको दाबी गर्दै अमेरिकाले वाईपीजी लगायतसँगको साझेदारी अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले टर्कीले कारबाहीका नाममा ‘अतिक्रमण’ गर्दै आइरहेको भन्दै निन्दा गर्ने गरेका छन् । उनले टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । उक्त क्षेत्रमा हाल करिब ३० हजार टर्किस सेना तथा उसको समर्थनमा हजारौं लडाकु कारबाहीमा संलग्न छन् ।

त्यसैगरी, सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी गुटामा तीन सातायता रुसको समर्थनमा सिरियाली सेनाले भीषण आक्रमण जारी राखेको छ । सेनाले कारबाहीमा करिब ७० प्रतिशत भूभाग नियन्त्रणमा लिएको दाबी गरेको छ । सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र ५, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?