३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दुवै देशका प्रतिनिधि फिनल्यान्ड पुगे

अमेरिका–उत्तर कोरिया वार्ता
रोयटर्स

हेलसिन्की — अमेरिका र उत्तर कोरियाका अधिकारी आइतबार फिनल्यान्डको हेलसिन्की पुगेका छन् ।

दुवै देशका प्रतिनिधि फिनल्यान्ड पुगे

गत मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका विशेष दूतले उत्तर कोरियासँग वार्ता गर्न राखेको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच आगामी मे महिनामा वार्ता हुँदै छ । त्यसको तयारीका लागि दुई देशका अधिकारीले फिनल्यान्डको राजधानी हेलसिन्कीमा अनौपचारिक वार्ता गरेका हुन् ।

दक्षिण कोरियाली समाचार संस्था योनहेपका अनुसार उत्तर कोरियाली विदेश मन्त्रालयको अमेरिका डेक्स प्रमुख चोय काङ इल दुईदिने भ्रमणका लागि आइतबार हेलसिन्की पुगेका छन् । चीनको बेइजिङ मार्फत हेलसिन्की उडेका चोयले वार्ताबारे भने कुनै प्रतिक्रिया नदिएको सिन्हवाले जनाएको छ ।

आइतबार नै दक्षिण कोरियाका लागि पूर्वअमेरिकी राजदूत काथलिन स्टेफन पनि हेलसिन्की पुगेका छन् । उनीहरूबीच आइतबार साँझ अनौपचारिक भेटघाट भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

फिनल्यान्डको विदेश मन्त्रालयले वार्ताको पुष्टि गर्दै दुई देशका अधिकारीको भेटवार्ताको व्यवस्था मिलाएको जनाएको छ । फिनल्यान्डको सरकारी समाचार संस्था एसटीटीले वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूतावासमा भएको जनाएको छ ।

यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको ट्वीटमार्फत खुलासा गरेका छन् । अमेरिका उत्तर कोरिया वार्ताको चर्चा सुरु भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सफलताका लागि शुभकामना दिएका थिए ।

वार्ताको हालसम्म स्थानबारे केही बताइएको छैन । तर वार्ताका लागि नर्वे, स्विडेन, फिनल्यान्ड, दक्षिण कोरिया र चीनले चासो दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : चैत्र ५, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?