कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जुकरबर्गले माफी मागे

फेसबुकका तथ्यांक राजनीतिक स्वार्थका लागि प्रयोग भएको स्वीकार
बीबीसी/सीएनएन

लन्डन/वासिङ्टन — फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बेलायतस्थित एक राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा कम्पनीले गल्ती गरेको स्विकारेका छन् ।

जुकरबर्गले माफी मागे

बेलायतस्थित एक राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकालाई राजनीतिक लाभका लागि फेसबुकका विवरणको दुरुपयोग गरेको आरोप लागेको छ । जुकरबर्गले एप निर्माण गर्ने कम्पनी एलेक्जेन्डर कोगन र क्याम्ब्रिज एनालिटिकाले फेसबुकलाई ‘विश्वासघात’ भएको पनि बताए ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै जुकरबर्गले ‘फेसबुक कम्पनीबाट विश्वासको उल्लंघन’ भएको स्वीकार गरेको बीबीसीले जनाएको छ । अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा जुकरबर्गले दु:ख व्यक्त गर्दै ‘दुष्ट एपविरुद्ध’ कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘म वास्तवमै निकै दु:खी भएको छु ।’

उनले यसबारे अमेरिकी कंग्रेससामु आफू उपस्थित हुन पनि आफू तयार रहेको बताए । उनले भने, ‘यदि त्यसो गर्नु नै जायज हो भने म खुसी नै हुनेछु ।’

फेसबुकमा सूचना पोस्ट गर्दै जुकरबर्गले फेसबुक ‘प्रयोगकर्ताको विवरणको पहुँचमा कडाइ गर्ने’ बताए । ‘हामी तपाईंहरूको तथ्यांक सुरक्षित गर्न प्रतिबद्ध छौं । यदि त्यसो गर्न सकेनौं भने तपार्इंहरूलाई सेवा दिनुको कुनै अर्थ छैन,’ जुकरबर्गले भने ।

जुकरबर्गले जारी समस्या समाधानका लागि आफ्नो कम्पनीले ‘प्रयोगकर्ताका सूचनामाथि पहुँच राख्ने फेसबुक एपमाथि अनुसन्धान गर्ने’ बताए । साथै, उनले प्रयोगकर्ताको सूचनाको गलत प्रयोग रोक्ने तयारी भइरहेको जनाए ।


उनले तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिन सक्ने कुरामा कडाइ गर्ने प्रतिबद्धता जनाए । प्रयोगकर्ताको विवरणको संरक्षण गर्ने जिम्मा आफ्नो भएको स्विकार्दै जुकरबर्गले फेसबुकसम्बन्धी कुनै पनि गल्तीका लागि आफू जिम्मेवार भएको बताए ।

विवाद के हो ?
बेलायतस्थित एक राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ५ करोड फेसबुक प्रयोगकर्ताको विवरण संकलन गरेपछि फेसबुक विवादमा परेको हो । बेलायतको ‘द अब्जरभर’ र अमेरिकाको ‘न्युयोर्क टाइम्स’ अखबारले अनधिकृत रूपमा ५ करोड फेसबुक प्रयोगकर्ताको विस्तृत विवरण लिएको बारे खोजमूलक समाचार प्रकाशन गरेका थिए । अखबारका अनुसार उक्त तथ्यांकहरू अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपतीय चुनाव डोनाल्ड ट्रम्पको पक्षमा पार्न प्रयोग गरिएको थियो ।

‘क्याम्ब्रिज एनालिटिका’ फर्मका पूर्वकर्मचारीले करिब ५ करोड फेसबुक प्रयोगकर्तामा पहुँच कायम गरिएको बताए । उक्त फर्मलाई शुक्रबार नै फेसबुकले निलम्बन गरिसकेको छ । तर फेसबुक र एनालिटिका दुवैले आफूहरूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।


बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग सम्बन्धित अमेरिकी तथ्यांक विश्लेषण फर्म ‘क्याम्ब्रिज एनालिटिका’ सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितका लागि खेलेको भूमिकाका लागि चर्चित भएको थियो । निर्वाचनताका उक्त फर्मले अमेरिकी मतदाताहरूका विविध पक्षबारे तथ्यांक उपलब्ध गराएको थियो । तर उक्त कम्पनीले फेसबुकबाट संकलन गरिएका जानकारी सन् २०१६ को राष्ट्रपति चुनावमा प्रयोग नगरिएको दाबी गरेको छ । बीबीसीका अनुुसार सन् २०१३ मा उक्त कम्पनीले ‘दिस इज योर डिजिटल लाइफ’ नामक एप विकसित गरेको थियो । फेसबुक खातामार्फत एपमा जोडिने हरेका व्यक्ति विवरण संकलन गरिएको थियो । साथै, उक्त एपमा जोडिने व्यक्तिका साथीहरूको समेत व्यक्तिगत विवरण लिइएको थियो ।

बीबीसीका अनुसार ती सूचनाहरू क्याम्ब्रिज एनालिटिकालाई दिइएको थियो । तर आफ्ना नियमहरू मिचिएको भन्दै तथ्यांकहरू मेटाउन फेसबुकले केही समय पहिला नै उक्त कम्पनीलाई आग्रह गरेको थियो ।

आलोचकहरूले फेसबुकमाथि नियमन जरुरी रहेको बताएका छन् । उनीहरूले फेसबुकलगायत सामाजिक सञ्जालमा भएका प्रयोगकर्ताका तथ्यांकहरू कहाँ, कसले र किन प्रयोग गर्छन् भन्नेबारे जानकार हुनुपर्ने कानुनी व्यवस्थाको माग गरेका छन् ।

अनुसन्धान
अमेरिकाको म्यासाच्युसेट्स राज्यका महान्यायाधिवक्ताले क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताको निजी सूचना अनधिकृत रूपमा संकलन गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा संलग्न गरेको बारे छानबिन सुरु गरिसकेको छ । म्यासाच्युसेट्सका महान्यायाधिवक्ता माउरा हेलीले ट्वीटमार्फत यसबारे फेसबुक र क्याम्ब्रिज एनालिटिकामाथि अनुसन्धान सुरु भएको जनाउँदै जनताले फेसबुक र क्याम्ब्रिज एनालिटिकाबाट उचित जवाफ खोजिरहेका बताएकी थिइन् ।

अमेरिकी, ब्रिटिस र युरोपेली संसद्हरूले फेसबुकका प्रमुख मार्क जकरबर्गबाट त्यसको जवाफ मागेका छन् । युरोपेली संसद्ले जुकरबर्गलाई उक्त घटनाबारे जवाफ दिन उपस्थित हुन बोलाइसकेको छ । युरोपेली संसद्का अध्यक्ष एन्टोनियो तजानीले फेसबुका व्यक्तिगत सूचना प्रजातन्त्रलाई प्रभावित पार्न प्रयोग नभएको ५० करोड मानिसलाई विश्वास दिलाउनुपर्ने बताए ।


कारबाही
यसअघि क्याम्ब्रिज एनालिटिकाले राजनीतिक लाभका लागि फेसबुक विवरण दुरुपयोग गरेको आरोप लागेका आफ्ना प्रमुख कार्यकारी एलेक्जेन्डर निक्सलाई निलम्बन गरेको जनाएको छ । बेलायतको एक टेलिभिजनले कसरी क्याम्ब्रिज एनालिटिकाले राजनीतिज्ञको पक्ष वा विपक्षमा कसरी फेसबुकलाई प्रयोग गर्न सक्छन् भन्नेबारे रिपोर्ट प्रकाशन गरेको थियो ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?