सिरिया युद्ध : पूर्वी गुटा छाड्दै विद्रोही

बीबीसी/एएफपी

दमास्कस — सिरियाली विद्रोही र उनीहरूका परिवारले सरकारसँगको सम्झौतापछि पूर्वी क्षेत्र गुटा छाड्न सुरु गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार साँझसम्म ८८ विद्रोही तथा ४ सय ५९ सर्वसाधारणले हरस्ता छाडिसकेका छन् । तीमध्ये कतिपय विद्रोहीका परिवार भएको बताइएको छ ।

विद्रोही समूह अहर्र अल–सामका करिब १ हजार ५ सय लडाकुहरू र करिब ६ हजार सर्वसाधारणहरू हरस्ताबाट उत्तरी प्रान्त इडलिबतर्फ लैजान लागिएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

एक महिनाअघि सिरियाको पूर्वी क्षेत्रमा भीषण कारबाही सुरु गरेको सरकारले पहिलोपटक स्थानान्तरणसम्बन्धी सहमति भएको हो । निगरानी समूहका अनुसार पूर्वी गुटा क्षेत्रमा गरिएको एक महिना लामो हवाई आक्रमणमा परी हालसम्म कम्तीमा १ हजार ५ सय सर्वसाधारणको मृत्यु भइसकेको छ भने ५३ हजार घाइते भएका छन् ।

आक्रमणपछि ८२ हजारभन्दाबढी विस्थापित भइसकेको जनाइएको छ । स्थानान्तरणसम्बन्धी सहमतिपछि विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेका मानिस छाड्न सहमत भएको जनाइएको छ । सरकारी टेलिभिजनका अनुसार उक्त सहमतिपछि विद्रोहीले १३ जनालाई छाडिसकेका छन् । त्यसैगरी अर्को विद्रोही समूह जैस–अल–इस्लामसँग पनि सम्झौता हुन लागेको बीबीसीले जनाएको छ ।

सिरियास्थित मानव अधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर हयुमन राइट्स’ ले विभिन्न स्थानमा अझै पनि भिडन्तहरू जारी रहेको जनाएको छ । उसका अनुसार बिहीबार भएका भिडन्तमा कम्तीमा १९ जनाको ज्यान गएको छ । संस्थाका अनुसार करिब ४ हजार सर्वसाधारण खाली खुट्टै डोमा क्षेत्रबाट अन्यन्त्र गएको जनाएको छ ।

पूर्वी गुटामा भने रूसको समर्थनमा सिरियाली सेनाले एक महिनाअघिदेखि गरेको भीषण आक्रमण गर्दै आएको छ । सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको मृत्यु भइसकेको छ ।

द्वन्द्वका कारण करिब ६१ लाख आन्तरिक रूपमा विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।

सुरक्षा परिषद्मा छलफल
सिरियामा जारी आक्रमणबारे संयुक्त राष्ट्रसंघमा छलफल भएको छ । छलफलमा बोल्दै महासचिव एन्टोनियो गुटेरेजले सिरिया युद्धका क्रममा रासायनिक तथा घातक हतियार प्रयोगबारे भएको गुनासोबारे चासो व्यक्त गरे ।

सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा गुटा, इडलिबलगायतका क्षेत्रमा गरेका आक्रमणमा रासायनिक तथा घातक हतियारको प्रयोग भएकोबारे व्यापक गुनासो आएको भन्दै सदस्य राष्ट्रको ध्यानाकर्षण गराएका छन् ।

साथै उनले त्यसविरुद्ध सुरक्षा परिषद् सदस्य राष्ट्रलाई एकताबद्ध हुन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरिया युद्धमा प्रयोग भएका घातक रासायनिक हतियार सम्बन्धमा छानबिन गर्नुपर्ने माग भइरहेका बेला गुटरेजको प्रतिक्रिया सार्वजनिक भएको हो ।


महासचिव गुटरेजले भने, ‘रासायनिक तथा घातक हतियारको प्रयोग मानव जातिमाथिकै जघन्य अपराध हो, त्यसैले यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न एकताबद्ध हुन जरुरी छ ।’

प्रकाशित : चैत्र ९, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

सिरिया युद्ध : रकेट हमलामा ५९ मारिए

बीबीसी/एएफपी

दमास्कस — सिरियाको राजधानी दमास्कसको व्यस्त बजारमा गरिएको रकेट हमलामा परी कम्तीमा ५९ जना सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ बालबालिका छन् ।

सिरियाली प्रहरीलाई उद्धृत गर्दै साना समाचार संस्थाले जनाएअनुसार पूर्वी क्षेत्र गुटाका विद्रोहीले कसकोउलमा बुधबार रकेट प्रहार गरेका हुन् । सानाका अनुसार पश्चिमी क्षेत्रमा गरिएको अर्को एक छुट्टै घटनामा कम्तीमा ६ जना गम्भीर घाइते भएका छन् । विद्रोही नियन्त्रित सिरियाको पूर्वी क्षेत्र गुटामा रूसी सेनाको सहयोगमा सरकारी फौजले एक महिनादेखि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण हालसम्म कम्तीमा १ हजार ४ सय सर्वसाधारणको मृत्यु भइसकेको छ ।

हिंसात्मक कारबाहीपछि उक्त क्षेत्रका कम्तीमा ५० हजार सर्वसाधारण विस्थापित भइसकेको बीबीसीले जनाएको छ । यसअघि मंगलबार शंकास्पद रूसी हवाई हमलामा कम्तीमा १५ बालकालिका र ४ महिलाको ज्यान गएको थियो ।

राष्ट्रसंघलगायतका सहायता संस्थाहरूले एक महिना लामो आक्रमणका कारण पूर्वी गुटाबाट ठूलो संख्यामा मानिस विस्थापित भएको जनाएका छन् । उनीहरूले उक्त क्षेत्रमा करिब ४ लाख मानिस राहतको पर्खाइमा रहेको बताउँदै आएका छन् । त्यसैगरी, सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा टर्कीको सरकारी सेनाको नेतृत्वमा विगत २ महिनादेखि कुर्दिसविरुद्ध आक्रमण गर्दै आएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप यर्दोगानले गत आइतबारआफ्नो फौजले कुर्दिस सहर अफ्रिनमाथि पूर्ण नियन्त्रण कायम गरेको बताएका थिए । सहरको मध्यभागमा लडाकुहरूले कुर्दिसलाई लखेटेर झन्डा फहराउनुका साथै प्रख्यात कुर्दिस नेताको सालिकसमेत तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । उक्त क्षेत्रमा टर्कीको सरकारी सेनाले ‘फ्री सिरियन आर्मी’ सहितको सहयोगमा गत जनवरी २० देखि कुर्दिस लडाकु समूह ‘पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)’ विरुद्ध कारबाही गर्दै आएको छ । टर्कीले वाईपीजी आतंककारी संगठन भएको दाबी गर्दै आएको छ ।

सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा गत जनवरी २० मा शक्तिशाली सिरियन कुर्दिस विद्रोही वाईपीजीविरुद्ध आक्रमण सुरु गरेको हो । टर्कीले वाईपीजी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठन भएको दाबी गर्दै आक्रमण गरेको हो । तर वाईपीजीले पीकेकेसँग आफ्नो कुनै सांगठनिक सम्बन्ध नरहेको बताउँदै आएको छ । पीकेकेले टर्कीको दक्षिणी क्षेत्रमा वर्षौंदेखि छुट्टै राज्यको मागसहित विद्रोह गर्दै आइरहेको छ ।

अंकाराले इस्लामिक स्टेटविरुद्धको कारबाही अन्त्य भइरहेको दाबी गर्दै अमेरिकाले वाईपीजी लगायतसँगको साझेदारी अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले टर्कीले कारबाहीका नाममा ‘अतिक्रमण’ गर्दै आइरहेको भन्दै निन्दा गर्ने गरेका छन् । उनले टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । उक्त क्षेत्रमा हाल करिब ३० हजार टर्किस सेना तथा उसको समर्थनमा हजारौं लडाकु कारबाहीमा संलग्न छन् ।

पूर्वी गुटामा भने रूसको समर्थनमा सिरियाली सेनाले एक महिना अघिदेखि गरेको भीषण आक्रमण गर्दै आएको छ । सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको मृत्यु भइसकेको छ । द्वन्द्वले करिब ६१ लाख आन्तरिक विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्