अन्तर कोरिया वार्ता अर्को हप्ता गर्न उत्तर कोरिया सहमत

रासस/एएफपी

सोल — उत्तर कोरियाले अन्तर कोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार सहमति जनाएको छ । दुर्लभ मानिएको अन्तर कोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुनलागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ । 

उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन/तीन जना प्रतिनिधि सहभागी गराइने मन्त्रालयले तयारी गरेको छ । पान्मुन्जोमको एक ठाउँमा बिहीबार वार्ता हुने र त्यही वार्तामार्फत् आउदो अप्रिलको अन्त्य तिर शिखर सम्मेलन गर्नेगरी तयारी गरिने भएको छ ।

दक्षिण कोरियाले अब हुन गइरहेको उच्चस्तरीय वार्तामा शिखर सम्मेलनको मिति र एजेण्डाका बारेमा छलफल गर्न उत्तर कोरियासँग गत बुधबार प्रस्ताव राखेको थियो । ‘युनिफिकेसन फेभिलियन विल्डीङ’मा हुने वार्तामा दक्षिण कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व एकता मन्त्री चो म्योउङ र उत्तर कोरियाको तर्फबाट उनका समकक्षी रि सन ग्वाङले नेतृत्व गर्ने भएका छन् ।

दुई देशको शिखर सम्मेलनमा भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनका बीचमा भेटवार्ता गराउने लक्ष्य राखिएको छ । गत फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिको सहभागिताबाट दुई देशको सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुस गरिएको छ ।

दुई देशकाबीचमा सम्वन्ध सुधार हुँदै गएपछि उत्तर कोरिया र अमेरिकाको सम्वन्धमा पनि नाटकिय हिसाबले सुधार आएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताएका छ्न् । उनले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेको कारणले वार्ताका लागि आफू उत्साहित भएको केही समय अगाडि बताएका थिए ।

राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो ।

प्रकाशित : चैत्र १०, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार पीडितलाई सहयोग 

प्रदीप मेन्याङ्बो

धरान — बलात्कारपछि गर्भवती बनेकी महिलालाई शनिबार सुत्केरी खर्च उपलव्ध गराएको छ । 

अमेरिकाबाट अर्जुनप्रसाद मैनालीले पठाएको सुत्केरी खर्च पीडितका आफन्तलाई शनिबार हस्तान्तरण गर्दै बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल । तस्बिर: प्रदीप/कान्तिपुर

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका रक्तदान अभियानमा विश्वव्यापी चर्चा कमाएका अर्जुनप्रसाद मैनालीले पठाएको २० हजार नगद बलात्कार पीडित महिलालाई उपलव्ध गराएको हो।

कान्तिपुरको अनलाइन संस्करणमा गर्भवती महिलाको हत्या प्रयास बारे समाचार देखेपछि मैनालीले सुत्केरी खर्च पठाएका हुन्।

करिब नौ महिनाअघि चक्रघट्टीका दुई युवकले पटकपटक बलात्कारको कारण गर्भवति हुन पुगेपछि पोल खोलिने डरले बलात्कारीहरुले मोरङ्को बेलबारी क्षेत्रको भाउन्ने जंगलमा झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका थिए।

रुखमा झुण्ड्याउने प्रयास गर्दा गर्दै जंगलमा घांस दाउरा खोज्न आउने स्थानीय महिलाहरुले देखेपछि दुई युवक भागेका थिए। ती महिलाहरुले प्रहरीलाई जानकारी दिएपछि बेहोस अवस्थामा गत फागुन २८ गते उद्धार गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमा भर्ना गरेर मृत शिशु निकालिएको थियो।

अस्पतालले गत मंगलबार डिस्चार्ज गरेपछि घरैमा रहेकी पीडित महिलाका बुवालाई बराहक्षेत्र नगरपलिकाका प्रमुख निलम खनालले सुत्केरी खर्च हस्तान्तरण गरेका हुन। बलात्कार पीडित महिलाका दुई छोरी र एक छोरा छन्। छ वर्षदेखि उनका पति सम्पर्कविहिन छन्। उनीहरु अर्काको घरमा काम गरेर लामोसमयदेखि जिविका चलाउदै आएका छन्।

यसैबीच पीडित परिवारले बलात्कारमा संलग्नलाई पक्राउ माग गर्दै सुनसरीको महेन्द्रनगर इलाका प्रहरी कार्यालय र मोरङ्को बेलबारी इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन। प्रहरीले पिडित महिलाको फुपूको छोरीलाई अनुसन्धानकालागि भन्दै दुइपटक प्रहरीले लगेको थियो।

पीडितका बुवाले बलात्कारीहरुलाई यतिका दिनसम्ममा पक्राउ नगरेकोमा आश्चर्य लागेको बताए।बराहनगरपालिका प्रमुख खनालले बलात्कारीलाई कुनै पनि हालतमा छाड्न नहुने बताए। उनले भने, ‘यो घट्नाबारे मलाई पहिला जानकारी थिएन। बलात्कारी खोजी गरेर तत्काल कारवाही गर्न प्रहरीलाई दवाव दिनुको विकल्प छैन। यस्ता जघन्य अपराध गर्नेलाई हदैसम्मको कारवाही गर्न म पहल गर्नेछु।’

प्रकाशित : चैत्र १०, २०७४ १७:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT