कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असुरक्षित बन्दै लन्डन

छुरा प्रहारका घटना बढे
नवीन पोखरेल

लन्डन —  गत मार्च १४ मा पूर्वी लन्डनको च्याडवेल हिथमा एक युवक छुरा प्रहारबाट मारिए । लन्डनमा हत्याको शृंखला बढिरहँदा लाइनडोन डेभिस यस वर्ष छुरा प्रहारबाट मारिने ७ औं व्यक्ति हुन् । 

असुरक्षित बन्दै लन्डन

त्यसै दिन साँझ पूर्वी लन्डनमा बेग्लै घटना घटयो । कारमा बसिरहेका बेला वाल्थमस्टोमा २० वर्षीय जोसेप टोरेस गोली प्रहारबाट मारिए । घटनामा १५ वर्षीय युवालाई हत्या अभियोग लगाइएको छ भने अर्को १ सहयोगी समातिएका छन् ।


मार्च १७ तारिकका दिन बिहानै २३ वर्षीय रसेल जोन्सले इनफिल्ड सपिङ परेडबाहिर छुरा प्रहारबाट ज्यान गुमाए भने अर्को एक मानिस गम्भीर अवस्थामा उपचाररत छन् । त्यही बिहान पूर्वी लन्डनको होमरटनमा ४२ वर्षीय टाइरोन सिल्कोटलाई चक्कु हानेर मारियो । सेन्ट प्याट्रिक डे पार्टीपछि उक्त घटना भएको थियो । उक्त घटनामा एक २८ वर्षीय युवालाई हत्या अभियोग लगाइएको छ ।


त्यसैगरी, गत आइतबार हिथ्रो विमानस्थल नजिकको एक होटलमा ३६ वर्षीय हर्सी पनि छुरा प्रहारको सिकार भए । सोमबार राति उड स्ट्रिट स्टेसननजिक वाल्थमस्टोमा ४० वर्षीय अधबैंसे मानिस छुरा प्रहारबाटै मारिए ।


अपराधका थप घटना छन् । स्लाउ निवासी ४८ वर्षीय बलवीर जोहल लन्डन साउथहलमा छुरा प्रहारबाट दिवंगत भए । यस घटनामा दुई पुरुषलाई हत्या अभियोग लगाइएको छ । उता मंगलबार राति पूर्वी लन्डनको स्ट्राटफोर्ड सेन्टरमा आफ्नो साथीलाई बचाउन खोज्दा २० वर्षीय रोमानियन युवा बेन्जामिनलाई चक्कु हानेर मारियो ।


माथिका यी पछिल्ला घटनाक्रमले लन्डनमा अपराध बढिरहेको प्रस्टयाउँछ । बेलायतको राजधानी लन्डनमा सात दिनभित्र ८ जना मारिएपछि सुरक्षा अधिकारी चिन्तित छन् भने सर्वसाधारणहरु त्रासमा बाँच्न बाध्य छन् । बीबीसीका अनुसार सन् २०१८ को मा मात्रै २६ जनाको छुरा प्रहार गरी हत्या गरिएको छ । तीमध्ये ६ जना टिनएजर थिए भने अधिकांश कालो वर्णका ।


छुरा प्रहारका घटना वृद्धि भइरहँदा अपराध न्यूनीकरण गर्ने प्रयास स्वरूप गृह मन्त्रालय (होम अफिस) ले विज्ञापन अभियान नै सुरु गरेको छ । इंग्ल्यान्ड र वेल्समा सत्य घटना समावेश गरी होम अफिसले १ दशमलब ३५ मिलियन पाउन्ड लागतको विज्ञापन अभियान सुरु गरेको हो । सोसल मिडिया, डिजिटल टीभी च्यानल र पोस्टरमार्फत ६ सातासम्म सार्वजनिक गरिने उक्त विज्ञापन १० देखि २१ वर्षका युवामा लक्षित छ ।


गृह अधिकारीका अनुसार ‘द नाइफ फ्री’ विज्ञापनमा विगतमा त्यस्तो अपराधमा संलग्न युवाका सत्य घटनालाई समावेश गरिएको छ । उक्त विज्ञापनहरुमा ती युवाले अबदेखि चक्कु नबोक्ने प्रतिज्ञा गर्दै अरूलाई पनि त्यसो नगर्न सन्देश दिएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष जनवरी यता आपराधिक हिंसाका घटना दोब्बर भइरहँदा यस्तो अभियान थालिएको हो ।

सन् २००८ मा एक १६ वर्षीय किशोरको छुरा प्रहारबाट मृत्यु भएपछि उनकै नाममा खोलिएको च्यारिटी बेन किनसेला ट्रस्टका प्रमुख कार्यकारी प्याट्रिक ग्रिन युवाहरुमा चक्कु बोक्दा हुने खतराबारे सजग गराउन अत्यावश्यक रहेको बताउँछन् । ‘सरकारी अधिकारीले युवालाई चक्कु लिएर हिँडदा हुने खतराबारे पर्याप्त मात्रामा शिक्षित बनाएका छैनन् । हामी संकटको बिन्दुमा छौँ,’ ग्रिनको चिन्ता छ, ‘हामीले क्रमश: अपराध बढिरहेको देखेका छौं र यसले झन् विकराल रूप लिन सक्छ ।’


मेट पुलिसका असिस्टेन्ट कमिसनर मार्टिन हेबिट भने छुरा प्रहारबाट हुने अपराध न्यूनीकरणका लागि प्रहरीले उल्लेख्य कदम चालेको बताउँछन् ।


लन्डनमा बढेको असुरक्षाले लन्डनकी उपमेयर सोफी लिन्डेनलाई पनि चिन्ता छ । उनी युवामा धारिलो हतियार बोकेर हिँड्नु सामान्य बन्दा छुरा प्रहारबाट हुने अपराध भविष्यमा झन् विकाराल हुन सक्ने बताउँछिन् । सन् २०२१ सम्म मेट्रोपोलिटन पुलिसलाई ३ सय २५ मिलियन पाउन्ड वार्षिक बचत गर्नुपर्ने भएकाले पनि लन्डनबासीको सुरक्षा चिन्ता बढेको सोफीले इभिनिङ स्टयान्डर्ड अखबारसँगको अन्तर्वार्तामा व्यक्त गरेकी छन् ।


नेपाली समुदाय भने यस्तो अपराधबाट अलग छ । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण ‘नाइफ क्राइम’ मा नेपाली युवाको संलग्नता नपाइएको बताउँछन् । ‘आपराधिक क्रियाकलापबाट टाढै रहनु बुद्धिमानी हुन्छ,’ आरणले भने, ‘विशेष गरी रातको समयमा यस्ता घटना बढी हुने भएकाले काम वा पार्टीबाट फर्कंदा आफू पनि सचेत रहनुपर्छ ।’

प्रकाशित : चैत्र १३, २०७४ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?