२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अर्को ‘शीतयुद्ध’

बीबीसी/रोयटर्स

मस्को — एक रूसी पूर्वगुप्तचरमाथि भएको आक्रमणको विरोधमा अमेरिका तथा रूसले एक अर्का देशका कूटनीतिज्ञ निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

अर्को ‘शीतयुद्ध’

बेलायतको सालिसबारीमा गत मार्च ४ मा ६६ वर्षीय पूर्वरूसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीमाथि भएको विषालु ग्यास आक्रमणमा रूसको संलग्नता भएको आरोप लगाउँदै अमेरिकाले ६० रूसी कूटनीतिज्ञ निष्कासित गर्ने कदमको रूसले उस्तै जवाफ दिएको छ ।

वासिङ्टनको कदमको विरोधमा रूसले ६० अमेरिकी कूटनीतिज्ञ निष्कासित गर्नुका साथै सेन्ट पिटसवर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय पनि बन्द गरिदिएको छ । रूसी विदेशमन्त्री सर्गेई ल्याभ्रोभले अमेरिकाले गतसाता ६० जना कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय गरेपछि ‘जस्तालाई त्यस्तै’ जवाफ दिएको जनाएका छन् । ल्याभ्रोभले देशनिकाला गरिएका कूटनीतिज्ञलाई अप्रिल ५ भित्र देश छाड्न आदेश दिएको सीएनएनले जनाएको छ । अमेरिका र रूसबीच पछिल्लो समय सिरिया युद्ध, युक्रेनमाथि सन् २०१४ मा भएको रूसी सैनिक हस्तक्षेप, सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रूसी साँठगाँठलगायतका मुद्दाका कारण पछिल्ला वर्षहरूमा बिग्रँदै गएको सम्बन्ध जासुस आक्रमणपछि विकसित घटना क्रमका कारण ‘शीतयुद्धयताकै खराब अवस्थामा पुगेको’ अमेरिकी अखबर न्युयोर्क टाइम्सले जनाएको छ ।

रूसी समाचार संस्था इन्टरफयाक्सले अमेरिकाका लागि रूसी राजदूत एनाटोली एन्टोनोभलाई उद्धृत गर्दै अमेरिकाका कारण दुई देशबीचको सम्बन्ध झन् बिग्रेकोमा कुनै दुईमत नरहेको जनाएको छ ।

उनले भनेका छन्, ‘अमेरिकाले हाल जे गरिरहेको छ, त्यसले रूस–अमेरिकी सम्बन्धमा बाँकी रहेको सबथोक ध्वस्त पारिरहेको छ ।’ गत वर्ष अमेरिकाले राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको दाबी गर्दै अमेरिकी कंग्रेसले प्रतिबन्ध लगाएपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोस्थित अमेरिकी दूतावासबाट ७ सय ५५ जना कर्मचारी घटाउन निर्देशन दिएका थिए । उक्त निर्णयसँगै रूसको अमेरिका र पश्चिमा देशबीचको सम्बन्ध शीतयुद्धपछिकै तनावपूर्ण अवस्थामा पुगेको छ । रूसले वासिङ्टन र लन्डनले ‘रूसविरोधी अभियान’ चलाएको आरोप लगाउँदै आएको छ । रूसी विदेशमन्त्री ल्याभ्रोभले बेलायतले ‘रूसविरोधी अभियान पछयाउन अन्य देशलाई दबाब दिएको’ आरोप लगाएको बीबीसीले जनाएको छ ।

बेलायत, क्यानडा, अस्ट्ेरलिया तथा अन्य युरोपेली देशले दर्जनौं रूसी कूटनीतिज्ञलाई देशनिकाला गरिसकेका छन् । यसअघि अमेरिकाले ६० जना रूसी कूटनीतिज्ञलाई देशनिकाला गरेपछि रूस आक्रामक भएको हो । तीमध्ये ४८ जना वासिङ्टनस्थित रूसी दूतावासमा कार्यरत तथा अन्य कूटनीतिज्ञ न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका हुन् । साथै, अमेरिकाले सियाटलस्थित रूसी कन्सुलेट कार्यालयसमेत बन्द गरेको थियो । रूसको पछिल्लो निर्णयसँगै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि थप दबाब सिर्जना भएको न्युयोर्क टाइम्सले जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले रूसले आफ्ना कूटनीतिज्ञ निष्कासित गर्ने कदम ‘पूर्वानुमानविपरीत भएको’ जनाएको छ । यद्यपि कार्यालयले ‘अमेरिका–रूस सम्बन्ध थप बिग्रेको’ बताएको छ ।

यसअघि गत मार्च १४ मा रूसी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भ्लादिमिर पुटिनलाई बधाई दिन टेलिफोन गरेका ट्रम्पले भने सालिसबारी आक्रमणबारे केही उल्लेख गरेका थिएनन् । गतसाता भएको युरोपेली देशका नेताहरूले स्क्रिपाल र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर गर्ने विषालु ग्यासद्वारा गरिएको आक्रमणमा ‘मस्कोको संलग्नता लगभग पुष्टि भएको’ निष्कर्ष निकालेका थिए ।

प्रकाशित : चैत्र १७, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?