२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लन्डनमा न्युयोर्कभन्दा बढी हत्या श्रृंखला

नवीन पोखरेल

लन्डन — बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढि हत्या श्रृंखलाको नयां तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी शहर भन्दा लन्डन अझ बढि असुरक्षित देखिएको हो ।

लन्डनमा न्युयोर्कभन्दा बढी हत्या श्रृंखला

सन्डे टाइम्सले बेलायत र अमेरिकाको अपराध दर तुलना गर्दै यूके राजधानीमा आधुनिक इतिहासमै पहिलोपटक बढि हत्या भएको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यो वर्षमात्र लन्डनमा ४८ जनाको हत्या भइसकेको प्रहरीले जनाएको छ ।


लन्डन र न्यूयोर्कको जनसंख्या लगभग समान (करिब ८५ लाख) छ । सन् १९९० मा न्यूयोर्कमा दैनिक ६ जना अर्थात वर्षभर कुल दुई हजार २ सय ४५ जनाको हत्या भएको थियो । पछिल्लो हत्या श्रृंखला हेर्दा लन्डनले न्यूयोर्कलाई उछिनेको विश्लेषण गरिएको छ ।


सन् २०१८ मा लन्डनमा तीन दिनबीचमा एकजनाको अनुपातमा छुरा प्रहार गरि हत्या भएको छ । लन्डन मेट्रोपोलिटन पुलिसले गत फेब्रुअरीमा मात्र १५ जनाको हत्या भएको पुष्टि गरेको छ जब कि त्यही महिना न्यूयोर्कमा ११ जना मारिएका न्यूयोर्क पुलिस डिपार्टमेन्टको तथ्यांक छ । मार्चमा लन्डनमा २२ जनाको हत्या भयो भने न्यूयोर्कमा २१ जनाले ज्यान गुमाए । तर, यस वर्षको पहिलो महिना जनवरीमा भने लन्डनमा ८ जनाको हत्या हुंदा न्यूयोर्कमा १८ जना मारिएका थिए ।

सन्डे टाइम्सका अनुसार, यस वर्षको पहिलो तीन महिना (मार्चसम्म) लन्डनमा ४५ जनाको हत्या भएको छ । यही अनुपातमा हत्या श्रृंखला जारी रहने हो भने सन् २०१८ भर नरसंहारको संख्या १८० जना पुग्नेछ जुन सन् २००५ मा १८१ जना थियो । लन्डनमा सन् २०१३ मा एकसय एक जना र सन् २०१४ मा ९३ जनाको हत्या भएकामा गत वर्ष ११६ जना शिकार भए जुन करिब २५ प्रतिशत वृद्धि हो ।


पछिल्लो महिनामा लन्डनमा अपराधिक क्रियाकलाप बढे पनि विगतमा भने न्यूयोर्कमा बढि रहेको देखिन्छ । गत वर्ष लन्डनमा ११६ जनाको हत्या भएको थियो भने न्यूयोर्कमा २९० जनाले ज्यान गुमाएका थिए । लन्डनमा बढिरहेको हत्या दरप्रति बेलायती राजनीतिज्ञ र प्रहरीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । छुरा प्रहारबाट बढि हत्या भएको पाइएको छ । यस वर्ष ४८ हत्यामध्ये ३१ जनाको छुरा प्रहार गरि हत्या गरिएको थियो ।


लन्डनमा हत्या बढिरहंदा अहिले लन्डन मेयर सादिक खानमाथि राजिनामाको दवाव समेत बढेको छ । प्रतिपक्षी लेबरबाट जितेका मेयर खानले गत आइतबार टवीट गर्दै सत्तारुढ कन्जरभेटिभ सरकारले हजारौं प्रहरी कटौती गरेपछि यस्तो अवस्था आएको दोष लगाएका थिए । तर, प्रधानमन्त्री टेरेजा मेले खानलाई यस मुद्दा आफैं सल्टाउन र मेट्रोपोलिटन पुलिसको कार्यसम्पादनप्रति मेयर नै जिम्मेवार हुनुपर्ने भनि दबाब दिएको बेलायती अखबार द सनले उल्लेख गरेको छ ।


बेलायतको गृह मन्त्रालयले खतरनाक हतियारमाथि थप प्रतिवन्ध लगाउनेबारे परामर्श गरिरहेको बताइएको छ । घरमै चक्कु उपलव्ध गराउने अनलाइन स्टोरहरुलाई प्रतिवन्ध र नियन्त्रण गर्न थप कानुन ल्याउन सरकारले गृहकार्य गरिरहेको समाचारमा उल्लेख छ ।


पछिल्लो अपराधिक क्रियाकलापमा नेपालीको संलग्नता भने थाहा नभएको लन्डनस्थित नेपाली दूतावासको प्रतिक्रिया छ ।

प्रकाशित : चैत्र २१, २०७४ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?