कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजकुमार ह्यारीको विहेमा सुरक्षा खर्च मात्र चार अर्ब रुपैयाँ भन्दा बढी

यस्तो छ बेलायती राजकुमार ह्यारीको विवाह तयारी
नवीन पोखरेल

लन्डन — बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच आउँदो मे १९ तारिखमा
विन्साेर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भव्य विवाह हुने तयारी छ । विवाह समारोह नजिकिँदै गर्दा विश्वले यसलाई चासोपूर्वक हेरिरहेको छ । 

राजकुमार ह्यारीको विहेमा सुरक्षा खर्च मात्र चार अर्ब रुपैयाँ भन्दा बढी

ह्यारी र मेगानले गत नोभेम्बरमा आफ्नो विवाह योजना सार्वजनिक गरेका थिए । बेलायती महारानी एलिजावेथ द्वितीयको निवास विन्सोर क्यासल विश्वमै पुरानो मानिन्छ जहाँ रानी प्राय: सप्तहान्न यही बिताउँछिन् । यही क्यासलबाट राजकुमार ह्यारीले लगनगाँठो कस्दैछन् ।


करिब ८ सय जना अट्ने सेन्ट जोर्जेज च्यापल सजाउने जिम्मा फुल व्यापारी फिलिपा क्रयाडोकलाई दिइएको छ । वैवाहिक समारोहमा २६ सयभन्दा बढीलाई निमन्त्रणा गरिनेछ । बिहे समारोह र लन्च रिसेप्सनको औपचारिक निम्तो पठाइसकेपनि अतिथिहरुको नाम भने गोप्य राखिएको छ । विन्सोर क्यासलमा अतिथिबाहेक एक लाख भन्दा बढी सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ ।


थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ । प्रहरीले यो सुरक्षा प्रबन्ध आफ्नो इतिहासमै बृहत् भनेको छ । स्नाइपरसहित तारबार घेरा, प्रत्येक सवारी साधन र झोला जाँच र विमानस्थलकै सरह स्क्यानरले आगन्तुकहरुको खानतलासी गरिने छ । बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउन्ड (४ अर्ब रुपैयाँभन्दा बढी) खर्च हुने बेलायती अखबारहरुले उल्लेख गरेका छन् । राजपरिवारले चर्च सर्भिससहित बिहे समारोह, संगीत, फुल र रिसेप्सनको खर्च बेहोर्ने पक्का भएको छ तर सुरक्षा खर्च भने करदाताकै पैसामा हुनेछ ।


सन् २०११ अप्रिलमा ह्यारीका दाई प्रिन्स विलियम र केट मिडलटनको बिहेमा २० मिलियन पाउण्ड तथा सन् १९८१ मा ह्यारीका बाबु प्रिन्स चाल्र्स र डायना स्पेन्सरको वैवाहिक समारोहमा सुरक्षाका लागि १२ मिलियन पाउण्ड खर्च भएको थियो ।


सुरक्षा प्रबन्धका लागि स्कटल्याण्ड यार्डसँग आबद्ध चारहजार दुई सय प्रहरीको बिदा समेत रद्द गरिएको छ । थेम्स नदी वरपर तालिमप्राप्त कुकुर र घोडाबाट गस्ती हुनेछ भने आधुनिक हतियारले सुसज्जित विशेष युनिट समेत खानतलासीमा खटिनेछ । नेशनल पुलिस एयर सर्भिसले पनि सुरक्षामा साथ दिनेछ । फस्र्ट बटालियन आइरिस गार्डस, रोयल नेभी, रोयल मरिन, थ्री रेजिमेन्ट आर्मी एयर कप्स, रोयल गोर्खा राइफल्स र आरएएफ होनिङटन कर्मचारी पनि समारोहमा खटिने जनाइएको छ ।


प्रहरीले आफ्ना साझेदार, स्थानीय व्यापारिक प्रतिष्ठान र समुदायसँग मिलेर समारोह सुरक्षित र हर्षोल्लासमय बनाउने बताएको छ । प्रहरीले विगतमा अपराधमा संलग्न भएका वा चोरीका गाडी छुट्टयाउन अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) प्रविधि, एचभिएम ब्यारियर र सीसीटिभी समेत प्रयोग गरिने जनाएको छ ।


मे १९ कै दिन अंग्रेजी खेल इभेन्टको सबैभन्दा वृहत एफए कप फाइनल हुँदैछ । प्रिन्स विलियम फुटबल एसोसिएसन (एफए) को अध्यक्ष भएकाले उक्त समारोहमा विलियम ट्रफी प्रदान गर्न जाने नजाने अहिलेसम्म निश्चित भइसकेको छैन् ।

प्रकाशित : चैत्र २२, २०७४ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?