१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सैनिक विमान दुर्घटनामा २५७ को मृत्यु

एजेन्सी

अल्जियर्स — उत्तरी अल्जेरियामा बुधबार सैनिक विमान दुर्घटना हुँदा चालक दलका १० सदस्यसहित २ सय ५७ जनाको मृत्यु भएको छ । राजधानी अल्जियर्सनजिकैको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै दुर्घटना भएको थियो ।

सैनिक विमान दुर्घटनामा २५७ को मृत्यु

इलुशिन इल–७६ नामक उक्त विमान पश्चिमी सहाराको सीमाक्षेत्र टिन्डुफतिर जाँदैं गरेका बेला खेतमा दुर्घटना भएको हो ।


रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिक र तिनका परिवार छन् । दुर्घटनाको कारण बुधबार अबेरसम्म खुलेको छैन । यस्तै विमानमा मोरक्कोबाट पश्चिमी सहारालाई अलग गर्न माग गर्दै सशस्त्र संघर्ष गरिरहेको समूह पोलिसारियो फ्रन्टका २६ सदस्यसमेत थिए । उक्त फ्रन्टलाई अल्जेरियाले सहयोग गरिरहेको थियो । पोलिसारियोका हजारौं समर्थकहरु अल्जेरियाको सीमावर्ती क्षेत्र टिन्डुफमा शरण लिएर बसिरहेका छन् ।


टेलिभिजनमा प्रसारित दृश्यमा विमान दुई टुक्रा भएको र अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको देखिएको छ ।

सेना प्रमुख जनरल गइद सलाहले दुर्घटनास्थल भ्रमण गर्दै छानबिनका लागि निर्देशन दिएका छन् । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै शवलाई सेनाको केन्द्रीय अस्पतालमा लगिएको जनाएको छ । मन्त्रालयले मृतकका परिवारमा समवेदना व्यक्त गरेको छ ।


विश्व हवाई इतिहासमा सन् २००३ यताको यो दोस्रो भयानक दुर्घटना हो । यसअघि सन् २०१४ को जुलाईमा मलेसियन एयरलाइन्सको फ्लाइट एमएच १७ लाई पूर्वी युक्रेनमा खसालिँदा २ सय ९८ जनाको मृत्यु भएको थियो । चार वर्षअघि पनि अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : चैत्र २८, २०७४ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?