अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च

एक वर्षमा ५७ प्रतिशत वृद्धि
नारायण खड्का

अष्ट्रेलिया — उच्च शिक्षाका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुको संख्या अहिलेसम्मकै उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलिया सरकारले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्षको तुलनामा यसवर्ष नेपाली विद्यार्थीहरुको संख्या ५७ प्रतिशतले वृद्धि भएको छ ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च

अष्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांक अनुसार अहिले अष्ट्रेलियामा झण्डै ३० हजार नेपाली विद्यार्थीहरु विद्यार्थी भिषामा रहेका छन् । तथ्यांक अनुसार गतवर्ष जम्मा १८ हजार ५ सय ९२ रहेको नेपाली विद्यार्थीहरुको संख्या एक वर्षमा बढेर २९ हजार २ सय ६१ पुगेको छ ।


अष्ट्रेलिया सरकारले विदेशबाट आउने विद्यार्थीहरुका लागि भिषा प्रक्रिया व्यवस्थित बनाएकाले समेत नेपाली विद्यार्थीहरुको संख्या आधा बढी वृद्धि भएको यस क्षेत्रमा काम गरिरहेका व्यवसायिहरुको भनाई छ ।


विगत ५ वर्षदेखि कार्यरत रुपक बर्ताैला नेपाली विद्यार्थीहरु अन्य देशका विद्यार्थीहरुभन्दा अध्ययनशील र पढाईमा लगनशील भएकाले समेत अष्ट्रेलियाले धेरै विश्वास गरेको बताउँछन् । उनी नेपालीहरु अन्य भोकेसनल शिक्षाका लागि भन्दापनि उच्च शिक्षाका लागि आउने भएकाले अन्य देशको तुलनामा संख्या धेरै वृद्धि भएको दाबी गर्छन् ।


तथ्यांक अनुसार अहिले १९ हजार ६६ जना नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनरत छन् जुन संख्या गतवर्ष १३ हजार ४ सय ५१ मात्र थियो । त्यसैगरी गतवर्ष ३ हजार ५ सय नेपालीहरुले भोकेसनल कोर्स गरिरहेकोमा यसवर्ष यो संख्या बढेर ८ हजार ५ सय ७३ पुगेको छ ।


समग्र विदेशी बिद्यार्थीहरुको तथ्यांकमा भने नेपाल चीन र भारतपछि तेस्रो नम्बरमा रहेको छ । अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको तुलनामा नेपाली विद्यार्थीहरुको संख्या ५ प्रतिशत रहेको छ ।


शिक्षा क्षेत्र अष्ट्रेलिया सरकारको लागि फलाम र कोलपछिको तेस्रो ठुलो निर्यात व्यापार हो । तथ्यांक अनुसार करिब २१ बिलियन अष्ट्रेलियन डलर बराबरको आर्थिक टेवा यहाँको सरकारलाई विदेशी विद्यार्थीहरुले दिइरहेका छन् ।


विदेशी बिद्यार्थीहरुलाई काम गर्न नदेऊ : पोलिन ह्यान्सन

अध्ययनका लागि विदेशी विद्यार्थीहरु बढिरहेको सन्दर्भमा एक प्रभावशाली नेताले भने विदेशबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई दिइदै आएको काम गर्ने सुविधा कटाउनुपर्ने बताएकी छिन् । वान नेशन पार्टी प्रमुख पोलिन हेन्सनले विदेशी विद्यार्थीहरुलाई दिइदै आएको साताको २० घण्टा काम गर्ने अधिकारलाई कटौती गर्नुपर्ने बताएकी छिन् । उनी आप्रवासीप्रति कडा रुपमा प्रस्तुत हुने नेताको रुपमा चिनिन्छिन् ।


उनले विदेशी विद्यार्थीहरुका कारण यहाँका स्थानीय नागरिकहरुले काम नपाएको दाबी गरेकी छिन् । उनको यस विचारको विदेशी बिद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया (सिसा)ले विरोध जनाएको छ ।


संस्थाका अध्यक्ष विजय सापकोटाले यो विद्यार्थीहरुको अहितमा हुने बताउँदै उनको भनाईले खासै फरक भने नपर्ने बताएका छन् । यद्यपी विदेशी विद्यार्थीहरुको पक्षमा सँधै आवाज उठाइरहुनपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : वैशाख ५, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?