भारतमा बालिका बलात्कारीलाई मृत्युदण्ड

बीबीसी

नयाँदिल्ली — भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कार्यकारी आदेश पारित गरेको छ । 

भारतमा बालिका बलात्कारीलाई मृत्युदण्ड

भारतको दण्ड संहितामा गरिएको पछिल्लो संशोधनअनुसार १२ वर्षमुनिका बालिका बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा शनिबार बसेको मन्त्रिमण्डलको एक विशेष बैठकले दण्ड संहितामा परिवर्तन गरेको हो । नयाँ निर्णयअुनसार १६ वर्षका किशोरी तथा महिलामाथि हुने बलात्कारका घटनामा दिइने सजायसमेत बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


भारतमा हालैका महिनाहरूमा भइरहेका शृंखलाबद्ध बालिका बलात्कारका घटनाको विरोधमा व्यापक प्रदर्शनहरू भइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । यद्यपि भारतमा बालिका तथा महिलामाथि हुने अन्य यौनजन्य अपराधका घटना रोक्न सरकारी निर्णय पर्याप्त नभएको महिला अधिकारकर्मीहरूको भनाइ छ ।


हालै जम्मु–कश्मीरमा एक ८ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएपछि त्यसको विरोधमा प्रदर्शनहरू हुँदै आएका थिए । त्यसैगरी गुजरात तथा उत्तरप्रदेशमा पनि किशोरी बलात्कृत भएका समाचारहरू प्रकाशमा आएका थिए ।

हालै सार्वजनिक भएका कतिपय घटनामा सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) का सदस्यहरू पनि संलग्न रहेको आरोप लगाइएको छ । भारतमा सन् २०१६ मा बालिका बलात्कारसम्बन्धी करिब १९ हजार घटना दर्ता भएका थिए । तथ्यांकअनुसार प्रत्येक दिन ५० भन्दा बढी महिलामाथि बलात्कारको सिकार भएका थिए ।

प्रकाशित : वैशाख ९, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?