२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

परमाणु कार्यक्रम त्याग्ने किमको घोषणा

बीबीसी

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले क्षेप्यास्त्र र परमाणु परीक्षण केन्द्र पनि बन्द गर्ने घोषण गरेका छन् । 

परमाणु कार्यक्रम त्याग्ने किमको घोषणा

उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ– ‘अप्रिल २१ बाट उत्तर कोरियाले परमाणु र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ ।’ किमले उत्तर कोरियाको परमाणु क्षमता प्रमाणित भइसकेको जनाउँदै थप परीक्षण आवश्यक नभएको बताए ।


उत्तर कोरियाले दक्षिण कोरिया तथा अमेरिकासँग ऐतिहासिक वार्ताको तयारी गरिरहेका बेला अप्रत्याशित रूपमा किमको घोषणा सार्वजनिक भएको हो । किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग यसै साता भेटवार्ता गर्दै छन् । साथै किम तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि आगामी जुन महिनामा अभूतपूर्व शिखर वार्ता हुने बताइएको छ ।


यद्यपि उक्त भेटवार्ताबारे हालसम्म मिति तथा स्थान सार्वजनिक गरिएको छैन । यदि किम र ट्रम्पबीच भेटवार्ता भए उनी उत्तर कोरियाली नेता भेट्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनेछन् ।


विश्व समुदायद्वारा स्वागत

परमाणु कार्यक्रम स्थगन गर्ने उत्तर कोरियाली नेता किम जोङ–उनको घोषणाको अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेका छन् ।


अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत भने, ‘यो उत्तर कोरिया र विश्वकै लागि निकै सुखद समाचार हो । निकै ठूलो उपलब्धि ।’ यसअघि ट्रम्पले गत बिहीबार उत्तर कोरियाले परमाणु कार्यक्रम त्यागे उसका लागि उज्यालो बाटो उपलब्ध हुने बताएका थिए ।


दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ताले उत्तर कोरियाको कदम ‘अर्थपूर्ण उपलब्धि’ भएको जनाएका छन् । ‘यसले उत्तर–दक्षिण कोरिया र उत्तर कोरिया–अमेरिकाबीच हुने शिखर वार्ताको सफलताका लागि सकारात्मक वातावरण उत्पन्न भएको छ,’ दक्षिण कोरियाली राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।


युरोपेली संघ (ईयू) ले उत्तर कोरियाको निर्णय ‘सकारात्मक’ भएको उल्लेख गरेको छ । तर उसले उत्तरलाई पूर्ण रूपमा नि:शस्त्रीकरणका लागि आहान गरेको छ ।


उत्तर कोरियाको निकट सहयोगी चीनले किमको घोषणाको स्वागत गर्दै ‘कोरियाली द्वीपमा जारी तनाव अन्त्यका लागि सहयोग गर्ने’ बताएको छ । बेलायतले पनि किमको निर्णय सकारात्मक भएको बताउँदै ‘राम्रो नतिजा आउने’ विश्वास व्यक्त गरेको छ ।


किन गरे किमले घोषणा ?

परमाणु कार्यक्रम त्याग्ने निर्णय शुक्रबार बसेको उत्तर कोरियाली सत्तारूढ दलको केन्द्रीय समितिले गरेको कोरियाली सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ । केसीएनएका अनुसार पार्टीको बैठकमा किमले परमाणु शक्ति हासिल भएको दाबी गर्दै थप परीक्षण आवश्यक नभएको बताएका थिए । उनले भनेका थिए, ‘उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रले आफ्नो लक्ष्य प्राप्त गरिसक्यो ।’

प्रकाशित : वैशाख ९, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?