१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कतार संकट अन्त्य हुने 

सिन्ह्वा

दोहा — विगत १० महिनादेखि जारी कतार संकट कूटनीतिक समाधानतर्फ उन्मुख भएको कतारले जनाएको छ । अरब क्षेत्रका देशहरू साउदी, बहराइन, यूएई तथा इजिप्टले गत वर्षको जुनदेखि कतारमाथि आर्थिक नाकाबन्दी गर्दै आएका छन् ।

कतार संकट अन्त्य हुने 

कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्लाह अल–खतेरले साउदी अरबमा भएको ‘गल्फ सिल्ड जोइन्ट एक्सरसाइज–१’ मा सहभागी हुने क्रममा संकट समाधानबारे उल्लेख्य प्रगति भएको दाबी गरे ।


कतारको एआई–सार्क नामक समाचारपत्रका अनुसार उनले उक्त जमघट नै खाडी मुलुकबीचको समस्या समाधान गर्ने मौका हुने विश्वास व्यक्त गरेका हुन् । समाचारपत्रले भने हालसम्म संकट समाधानका लागि आवश्यक पहल नभए पनि रक्षा मन्त्रालयले कतारी सैन्य वार्ता समूहको साउदी अरबमा उपस्थित टोलीले संयुक्त अभ्यासमा सहभागिता हुने घोषणा गरेको जनाएको छ ।


अल खतेरले भने, ‘आगामी दिनमा खाडी मुलुकले कस्तो प्रतिक्रिया जनाउने छन्, अहिल्यै अनुमान गर्न सकिन्न ।’ गत बिहीबार कतारको सेनाले ‘गल्फ सिल्ड जोइन्ट एक्सरसाइज–१’ मा आफ्नो सेना गत मार्च २१ गतेदेखि अप्रिल १६ सम्म सहभागिता जनाएको घोषणा गरेको थियो ।


सन् २०१७ को जुनमा साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध, हवाई, सामुद्रिक तथा स्थल सम्पर्क तोडेको घोषणा गरेका थिए । कतारले आतंकवादलाई सघाएको तथा अरब समुदायको हितविपरीत इरानसँग निकट सम्बन्ध राखेको लगायत आरोप लगाउँदै उक्त प्रतिबन्ध लगाएका हुन् ।

प्रकाशित : वैशाख १०, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?