कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उहानमा सी–मोदी संवाद : 'याङ्गसी र गंगाजस्तै अविरल बग्नुपर्छ'

चेतनाथ आचार्य

बेइजिङ — चीन भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । चीनको मध्यभागमा पर्ने हुपै प्रान्तको सदरमुकाम उहानमा दुई नेताबीच शुक्रबार अनौपचारिक भेटवार्ता भएको हो ।

उहानमा सी–मोदी संवाद : 'याङ्गसी र गंगाजस्तै अविरल बग्नुपर्छ'

सी र मोदीको भेटवार्ता हुपै प्रान्तीय संग्रहालयमा भइरहेको पुरातात्विक वस्तु प्रदर्शनी अवलोकनबाट शुरु भएको थियो । सो प्रदर्शनीमा भारतीय संस्कृति र इतिहासका केही सम्पदाहरु पनि राखिएकाले सीले ‘हामी पुराना साथी हौँ’ भन्ने भावसहित मोदीलाई चीनमा स्वागत गरेका छन् । प्रदर्शनीमा राखिएका पुरातात्विक वस्तु प्रदर्शनीको अवलोकन गर्दै चिनियाँ राष्ट्रपति सीले चीन र भारत लामो इतिहास र यथेष्ठ संस्कृति बोकेका मुलुक रहेको बताए । उनले दुवै देशले अझ व्यापक क्षेत्रमा अझ गहन रुपमा आदानप्रदान गर्नुपर्ने कुरामा जोड दिए । दुवै मुलुकले पूर्वीय सभ्यताको पुनरुत्थानमा प्रयास गर्दै सभ्यताको विविधताको सम्मान र फरक सभ्यता बीचको मेलमिलापयुक्त सहअस्तित्वलाई अघि बढाउने प्रस्ताव पनि सीले मोदी समक्ष राखेका छन् ।


भारतीय प्रधानमन्त्री मोदीले पनि आपसी समझदारीको प्रवद्र्धन गर्दै दुई देशको बुद्धिमताले विश्वव्यापी समस्या तथा चुनौतीको संयुक्त सामना गर्नुपर्ने कुरामा जोड दिए । संग्रहालयबाट सुरु भएको नेताद्वयको कुराकानी उहानको तुङ हु होटेलमा लन्चसहित निरन्तर चलेको थियो ।


शुक्रबारको भेटमा चिनियाँ राष्ट्रपति सीले आपसी भ्रमण धेरै पटक भएको उल्लेख गर्दै चीन र भारत दुई नव उदियमान मुलुकको हितयुक्त सहयोग गर्दै संयुक्त विकास गर्ने ठूलो इच्छा चीन सँग रहेको मोदीलाई बताए । सीले भने ‘हामी दुईवटा महान संस्कृति र इतिहास बोकेका देश बीचको महान सहयोगले विश्वव्यापी प्रभाव पार्नसक्छ ।’ आफू र मोदी बीचको भेटबाट पारस्परिक सम्बन्धको नयाँ अध्याय खोल्ने उएटा कोशेढुङ्गा हुने अपेक्षा पनि व्यक्त गरे । ‘रणनीतिक दृष्टिकोणबाट आपसी सम्बन्धको मूल स्थितिको विकास गर्दै हामीले यसलाई सही दिशामा कायम राख्दै जानुपर्छ । हामीबीचको मैत्रीपूर्णसम्बन्धलाई चीनको छाङच्याङ अर्थात् याङ्गसी नदी र भारतको गंगा नदी जस्तै निरन्तर अगाडि लानुपर्छ’ सीले मोदीलाई भने ‘चीनले भारतसँग अझ घनिष्ट साझेदारी सम्बन्ध स्थापना गर्दै आपसी सम्बन्धको चौतर्फी विकास गर्ने इच्छा लिएको छ ।’ याङ्गसी नदी र गंगा नदी चीन र भारतको आदिम सभ्यता बोकेका नदीहरु हुन् ।


प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणमा आफूलाई निम्त्याएकोमा धन्यवाद ज्ञापन गर्दै यस पटकको भेटले ऐतिहासिक महत्व राख्ने बताए । ‘भारत र चीन बीच निरन्तर जारी रहेको आदानप्रदान तथा उच्च सम्पर्कबाट आपसी बुझाइ तथा समझदारीलाई बढाइएको छ,’ मोदीले भने ‘यस्तो कुरा दुई देश लगायत क्षेत्रीय विकास तथा समृद्धिसँग अनुकूल रहेको छ ।’ उनले चीनसँग सहकार्य गर्न भारत तयार रहेको पनि व्यक्त गरे ।


डेढ वर्ष अगाडि चीनको तिब्बत र भुटानको उत्तरी सीमा दोक्लममा भएको सीमा विवादमा भारतीय सेना र चिनियाँ सेनाबीचमा ठेलमठेल भएको थियो । उक्त विवादपछि चीन र भारतबीचमा राम्ररी मन माझिन सकेको छैन ।


चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिसएटिभ बीआरआईमा अहिलेसम्म भारत सहभागी भएको छैन तर उही उद्देश्य र प्रकृतिमा चीनको अगुवाईमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंकमा भने भारत चीनपछि सबैभन्दा धेरै सेयर लिई संस्थापक सदस्य बनेको छ ।


चीन र भारतबीचमा बेलाबेलामा सीमा विवाद तथा केही मतभेद भए पनि व्यापारिक साझेदारी र सहकार्य बढी रहेको चिनियाँ बुद्धिजीबीहरु बताउँछन् । पछिल्लो समय एसिया प्यासिफिकलाई अमेरिकाले इण्डो प्यासिफिक नामकरण गरेपछि जापान र भारतले पनि अमेरिकाको सिको गर्दै आएका छन् । कतिपय अवस्थामा भारतलाई चीन विरुद्ध उभ्याउन अमेरिकाले उकास्दै आएको छ । तर पछिल्लो समय देखिएको चीन अमेरिका व्यापारिक द्वन्द्वमा भारतले सन्तुलित भूमिका निर्वाह गर्दै आएको छ ।


गत हप्तामात्र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले गरेको चीन भ्रमणमा पनि दुई देशका नेताहरुको अनौपचारिक शिखर वार्ताका लागि मार्ग प्रश्वस्त गरेको थियो । विगत तीन वर्षमा सी र मोदीबीचमा औपचारिक र अनौपचारिक गरी ९ पटक भेटवार्ता भइसकेको छ ।

प्रकाशित : वैशाख १४, २०७५ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?