१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरियाली शिखर वार्ता ऐतिहासिक’

बीबीसी

सोल — उत्तर कोरियाली सञ्चारमाध्यमले दुई कोरियाका नेताबीचको शुक्रबारको शिखर बैठक ‘ऐतिहासिक’ भएको र त्यसले एउटा नयाँ युगका लागि मार्गप्रशस्त गरेको जनाएको छ ।

कोरियाली शिखर वार्ता ऐतिहासिक’

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले कोरियाली द्वीपलाई परमाणु अस्त्रमुक्त पार्न दुवै देश मिलेर काम गर्ने सहमति गरेका थिए । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दुई नेताबीच शुक्रबार भएको शिखर बैठकको प्रशंसा गरेको छ । केसीएनएले उत्तर कोरियाली नेता किमलाई उद्धृत गर्दै उक्त बैठक समृद्धि हासिलका लागि ‘नयाँ कोसेढुंगा’ भएको जनाएको छ । उत्तर कोरियाले शिखर बैठकपछिको घोषणाको पूर्णपाठलाई समाचारमा समेटेको छ ।

चीन र अमेरिका दुवैले सहमतिको स्वागत गरेका छन् । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका छन् । उनले भने, ‘हामीलाई उनले झुक्याउने सक्ने छैनन् । तर आशा छ, हामीबीच एउटा सम्झौता हुनेछ ।’ ट्रम्पले उत्तर कोरियाली नेता किमसँग आगामी जुन महिनामा भेट्ने कार्यक्रम छ । तर भेटको मिति र स्थान भने हालसम्म सार्वजनिक गरिएको छैन । शिखर बैठकका क्रममा दुई कोरियाली नेताहरू सन् १९५० देखि तीन वर्ष चलेको कोरियाली युद्ध औपचारिक रूपमा टुंग्याउन मिलेर काम गर्न सहमत भएका थिए ।

केही महिलायता वाक्युद्धमा उत्रेका दुई कोरियाबीच गत जुलाई महिनामा भएको हिउँदे ओलम्पिकपछि सम्बन्ध सुधार भएको थियो । उक्त ओलम्पिक प्रतियोगितमा उत्तर र दक्षिण कोरियाको सामूहिक खेल टोलीले भाग लिएको थियो । दुई कोरियाबीच विगतमा भएका सहमतिहरूमा त्यस्तै प्रतिबद्धता जनाइए पनि उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरू गरेर त्यसको उल्लंघन गरेको थियो भने दक्षिणले अझ बढी अनुदारवादी राष्ट्रपतिहरू चयन गरेको थियो । अन्तर्राष्ट्रिय समुदायले उत्तर र दक्षिण कोरियाबीचको ऐतिहासिक शिखर बैठकमा दुई देशका नेताहरूले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्नका निम्ति मिलेर काम गर्न गरेको सहमतिलाई व्यापक रूपमा स्वागत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै कोरियालीहरू पारमाणविक अस्त्रमुक्त कोरियाली प्रायद्वीपमा बस्न पाउने दिन आउनेमा आफू आशावादी रहेको बताएका छन् ।

तर उनले दुई कोरियाबीचको शुक्रबारको शिखर बैठक सफल भए पनि आफूले उत्तर कोरियामाथि अधिकतम् दबाब जारी राख्ने उल्लेख गरे । उनले भने, ‘मलाई विश्वास छ, एउटा यस्तो दिन आउनेछ, जब सबै कोरियालीहरू पारमाणविक अस्त्रमुक्त कोरियाली प्रायद्वीपमा एकसाथ बस्न पाउनेछन् ।’आउने हप्ताहरूमा उत्तर कोरियाली नेता किमसँगको आफ्नो भेटवार्तामा सम्भव भए एउटा सहमति गर्नुपर्ने जिम्मेवारी भएको ट्रम्पले बताए । उत्तर कोरियाको प्रमुख साझेदार चीनले भनेको छ, दुई कोरियाबीचको मतभेद सुल्झाउनका निम्ति सहयोग जारी राख्न बेइजिङ तयार छ ।

प्रकाशित : वैशाख १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?