राष्ट्रसंघीय प्रतिनिधि बंगलादेश पुगे

रोहिंग्या संकट
एएफपी

कोक्स बजार — म्यान्मारबाट विस्थापित भई बंगलादेशका शिविरमा बस्दै आएका रोहिंग्या शरणार्थी संकट समाधानको पहल गर्न राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले शनिबारबाट बंगलादेश भ्रमण सुरु गरेका छन् ।

राष्ट्रसंघीय प्रतिनिधि बंगलादेश पुगे

शनिबार बंगलादेशको कोक्स बजार पुगेको १५ सदस्यीय प्रतिनिधिमण्डलले आइतबारबाट रोहिंग्या शिविरको अवस्थाबारे अध्ययन सुरु गर्ने जनाइएको छ । १५ मध्ये ५ परिषद्का स्थायी सदस्य राष्ट्रका प्रतिनिधि र १० अस्थायी सदस्य राष्टका प्रतिनिधि रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । टोलीमा राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र बेलायत, अमेरिका, रूस, फ्रान्स र चीनका प्रतिनिधिहरू समावेश छन् ।

परिषद्ले शरणार्थीको सुरक्षित स्वदेश फिर्ती र दशकौंदेखि रोहिंग्या समुदायमाथि भइरहेको विभेद अन्त्य गर्न म्यान्मारलाई आग्रह गर्दै आएको छ । त्यसैगरी, परिषद् प्रतिनिधिले म्यान्मारकी नेतृ आङ सान सुकी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । यसैबीच, राष्ट्रसंघीय अधिकारीले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्मारी रोहिंग्या शरणार्थीका न्यूनतम अत्यावश्यकीय सेवा पूरा गर्न कम्तीमा २५ करोड डलर सहायता आवश्यक पर्ने बताएको छ ।

राष्ट्रसंघले उनीहरूले बंगलादेशमा रहेका रोहिंग्याको खानपिन तथा अन्य आधारभूत आवश्यकताका लागि सो रकम तत्काल आवश्यक भएको भन्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रहसमेत गरेको छ । राष्ट्रसंघीय अधिकारीले रोहिंग्याको अवस्थामा अझै सुधार नआएको र उनीहरूलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै फर्काउन सकिने गरी कुनै प्रगति नभएकोले उनीहरूका लागि सहायताको आवश्यकता परेको बताएका हुन् ।

म्यान्मारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरू हाल म्यान्मारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ । राखिने राज्यमा फैलिएको हिंसाका कारण गत अगस्ट २५ यता मात्रै करिब ७ लाख रोहिंग्या बंगलादेश पुगेका हुन् । त्यस्तै पछिल्लो समयमा पनि उनीहरू देश छोडेर भाग्ने क्रम जारी रहेकाले बंगलादेश पुग्ने शरणार्थीको संख्या १० लाख पुगेको अधिकारीहरूको दाबी छ । हालै सार्वजनिक भएको राष्ट्रसंघीय मानव अधिकार निकायको एक प्रतिवेदनमा म्यान्मारको राखिने राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो ।सोही कारण पनि रोहिंग्या शरणार्थीहरूले आफूहरू घर फर्किन नसकेको जनाएका छन् । म्यान्मार सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको दाबी गर्दै आए पनि आफूहरूलाई सुरक्षा नभएको रोहिंग्याको भनाइ छ ।

उत्तरी म्यान्मारमा हजारौं विस्थापित

याङ्गुन (एएफपी)– म्यान्मारको दुर्गम उत्तरी क्षेत्रमा सेना र जातीय विद्रोहीबीच भएका झडपमा हजारौं सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले समाचार संस्था एएएफपीसँगको कुराकानीमा भने, ‘चीनको सीमाक्षेत्र नजिकैको कचिन राज्यमा भएका झडपका कारण विगत तीन सातामा ४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।’ कट्सले उक्त तथ्यांक सेनासँग भएका झडपमा विस्थापित १५ हजार र शिविरमा रहेका ९० हजार विस्थापित बाहेकको भएको बताए । ‘हामीलाई स्थानीय संघसंस्थाले दिएको जानकारीमा सेना र विद्रोहीको झडप भएका इलाकामा अझै कैयौं सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन्,’ कट्सले भने, ‘हामीले उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्छ ।’

कट्सले ओसीएचएले प्राप्त गरेको प्रतिवेदनले स्थानीयको दाबीअनुसार केही सर्वसाधारण मारिएको भने पुष्टि भई नसकेको बताए । उक्त घटनाबारे सरकारका प्रवक्तासँग प्रतिक्रिया लिने प्रयास असफल भएको एफपीले जनाएको छ ।

प्रकाशित : वैशाख १६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?