१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

यमनमा आईएस नेता मारिए

एएफपी

यमन — इस्लामिक स्टेट (आईएस) समूहका एक उच्च नेता दक्षिणी यमनको सरकार नियन्त्रित क्षेत्रमा सुरक्षाकर्मीले गरेको कारबाहीका क्रममा शनिबार मारिएका छन् ।

यमनमा आईएस नेता मारिए

एडेन र अभियान क्षेत्रका उक्त समूहका स्वघोषित नेता (अमिर) सालेह नासर फादल अल–बाक्सीलाई लुकेर बसेको अवस्थामा सुरक्षाकर्मीले गरेको कारबाहीमा मारिएको एडेन प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

आईएस र अल कायदाको अरबी प्रायद्वीपमा संगठित इस्लामिक सञ्जालले यमनको दक्षिणी क्षेत्रलाई सुरक्षित आश्रयस्थल बनाउँदै यमनमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । यमनी नेता अबेद्रब्बो मन्सुर हाडीलाई यमनी सिया हुथी विद्रोहीले राजधानी सानाबाट धपाएपछि सन् २०१५ देखि दक्षिणी यमनमा बस्दै आएका छन् । उनलाई साउदी नेतृत्वको सैनिक गठबन्धनको सहयोग रहँदै आएको छ । दक्षिणी यमनमा अरबी प्रायद्वीपमा रहेका अलकायदा समूहलाई लक्षित गरी संयुक्त अरब इमिरेट्सको नेतृत्व र अमेरिकी सहयोगमा सुरक्षा कारबाही भइरहेको इलाका पनि हो ।

यमनमा सन् २०११ मा राष्ट्रपति अलि अब्दुल्लाह सलेहविरुद्ध सुरु भएको द्वन्द्व चर्कंदै गएपछि १० हजारले ज्यान गुमाइसकेका छन् । आक्रमणका कारण लाखौं सर्वसाधारण आन्तरिक रूपमा विस्थापित भएका छन् । सलेहले यमनमा दुई दशकभन्दा बढी समय शासनसत्ता सञ्चालन गरेका थिए । तर उनले राजनीतिक सहमतिअनुसार सन् २०१२ देखि कार्यालय छाडे पनि संकट भने अन्त्य हुन सकेको छैन् । संयुक्त राष्ट्रसंघले यमनी जनताले विश्वकै विकराल मानवीय संकटको सामना गरिरहेको जनाएको छ ।

प्रकाशित : वैशाख १६, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?