कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोरियाली परमाणु केन्द्र मेबाट बन्द हुने

बीबीसी

सोल — उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण केन्द्र आउँदो मे महिनाबाट बन्द गर्ने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार आगामी मे महिनादेखि परमाणु केन्द्र बन्द गर्न तयार भएको हो ।

कोरियाली परमाणु केन्द्र मेबाट बन्द हुने

समाचार संस्था एएफपीका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुनका प्रवक्ता युन योङ–चानले भने, ‘शिखर बैठकमा किमले मे महिनादेखि परमाणु परीक्षण केन्द्र बन्द गर्ने बताएका छन् ।’ उनका अनुसार उत्तर कोरियाले सार्वजनिक कार्यक्रमको आयोजना गरी परीक्षण केन्द्र बन्द गर्ने भएको हो । साथै उसले उक्त कार्यक्रम हेर्नका लागि दक्षिण कोरियाली तथा अमेरिकी विज्ञलाई निम्त्याइने जनाएको छ ।

तर यसबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाइएसकेको छैन । तर यसअघि वैज्ञानिकहरूले गत सेप्टेम्बरमा उत्तर कोरियाली परमाणु केन्द्र आंशिक रूपमा ध्वस्त भएको दाबी गरेका थिए ।

उत्तर–पूर्वी क्षेत्र पुंगे–रिस्थित मन्टप पहाडमुनिको भूमिगत स्थानमा उत्तर कोरियाले परमाणु परीक्षण गर्दै आएको छ । उक्त स्थानमा उत्तर कोरियाले सन् २००६ यता विभिन्न ६ वटा परमाणु हतियार परीक्षण गरिसकेको छ ।

सन् २०१७ को सेप्टेम्बरमा गरिएको शक्तिशाली परमाणु हतियार परीक्षणपछि उक्त स्थानमा क्षति पुगेको भूगर्भविद्हरूले दाबी गर्दै आएका छन् । तर कोरियाली शिखर वार्ताका क्रममा किमले आफ्नो परमाणुस्थान सुरक्षित रहेको बताएको मुनका प्रवक्ता युनले जनाए ।

किमलाई उद्धृत गर्दै युनले भने, ‘कतिपयले हामीले परमाणुस्थल क्षतिग्रस्त भएकाले अन्यन्त्र निर्माण गर्न उक्त केन्द्र बन्द गर्न लागेको दाबी गरेका छन् । तर तपाईंले उक्त परीक्षण केन्द्रमा कुनै क्षति नपुगेको देख्नुहुनेछ ।’

गत शुक्रबार उत्तर कोरियाली नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउन सहमत भएका थिए । साथै, उनीहरूबीच सन् १९५० देखि ३ वर्षसम्म चलेको कोरियाली युद्धपछि भएको शान्तिवार्तालाई निष्कर्षमा पुर्‍याउने सहमति भएको थियो ।

३–४ सातामा किमसँग वार्ता : ट्रम्प
उत्तर कोरियाले आगमी मे महिनाबाट आफ्नो देशमा रहेका परमाणु परीक्षण केन्द्र बन्द गर्ने समाचार प्रकाशमा आएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तीन वा चार साताभित्र’ उत्तर कोरियाली नेता किम जोङ–उनसँग वार्ता गर्ने बताएका छन् ।

‘मलाई लाग्छ किमसँग तीन वा चार सातामा भेटवार्ता हुन्छ ।’ मिसिगनमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘यो कोरियाली प्रायद्वीपलाई नि:शस्त्रीकरणका लागि निकै महत्त्वपूर्ण बैठक हुनेछ,’ ट्रम्पले भने । साथै उनले उक्त वार्तामा उत्तर कोरियाको परमाणु नि:शस्त्रीकरणबारे कुराकानी हुने बताए । तर राष्ट्रपतिले वार्ताका क्रममा कुनै ठोस उपलब्धि नभए आफू बाहिरिने दोहोर्‍याए । उत्तर कोरियाले भने ट्रम्पको प्रतिक्रियाबारे कुनै जवाफ दिएको छैन ।

यसअघि शनिबार ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीच आगामी जुन महिनामा हुने वार्ताका लागि तयारी भइरहेको भन्दै ‘सबै कुरा राम्रोसँग अगाडि बढिरहेको’ बताएका थिए । त्यसलगत्तै पूर्व सीआईए प्रमुख माइक पोम्पियोले उत्तर कोरियाली नेता किमसँग प्योङयाङ पुगेर भेटवार्ता गरेका थिए । पोम्पियोलाई अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता विदेशमन्त्रीमा नियुक्त गरिसकेका छन् । उक्त वार्तामा किमसँग ‘निकै सौहार्दपूर्ण कुराकानी’ भएको बताएका थिए । दुई कोरियाली नेताहरूबीचको शिखर वार्तापछि ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुनसँग कुराकानी गरेका छन् ।

प्रकाशित : वैशाख १७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?