३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रोहिंग्या संकट: सुरक्षित घरफिर्तीको माग

रोयटर्स

कुटुपालोङ — म्यान्मारबाट विस्थापित भई बंगलादेशका विभिन्न शिविरमा बस्दै आएका रोहिंग्या शरणार्थीले सुरक्षित घर फिर्तीका लागि सहयोगको याचना गरेका छन् ।

रोहिंग्या संकट: सुरक्षित घरफिर्तीको माग

रोहिंग्या शरणार्थीको अवस्था बुझ्न तथा संकट समाधानका लागि बंगलादेशस्थित शरणार्थाी शिविरको अनुगमनमा पुगेको राष्ट्रसंघीय टोलीसँग उनीहरूले उक्त आग्रह गरेका हुन् । शनिबार बंगलादेशको कोक्स बजार पुगेको राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिनिधिमण्डलले आइतबार शरणार्थी शिविरको भ्रमण गरेको हो ।

प्रतिनिधिमण्डलमा सम्मिलित राष्ट्रसंघका लागि बेलायती राजदूत करेन पियर्सले आफूहरूसँग विस्थापित रोहिंग्याले रुँदै गुनासो व्यक्त गरेको बताए । उनले राष्ट्रसंघीय सुरक्षा परिषद्ले उनीहरूको घर फिर्तीका लागि आवश्यक पहल थाल्ने बताए । उनले भने, ‘उनीहरूको सुरक्षित घरफिर्तीका लागि हामीले म्यान्मारका नेत्री आङ सान सुकीसँग सोमबार भेट्दै छौं ।’ टोली बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।
टोलीका अमेरिकी प्रतिनिधि केली करीले रोहिंग्याको अवस्था निकै दयनीय तथा कष्टप्रद रहेको बताए । उनले भने, ‘मैले जीवनमा यस्तो पीडादायी क्षण पहिलोपटक भोगें ।’

यसअघि गत महिना बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरको भ्रमण गरेका म्यान्मारका सामाजिक कल्याण मन्त्री विन म्याट आईले उनीहरूको अवस्था ‘निकै नाजुक’ भएको बताएका थिए ।

१५ सदस्यीय टोलीमा परिषद्का स्थायी सदस्य राष्ट्रका ५ प्रतिनिधि र १० अस्थायी राष्ट्रका प्रतिनिधि छन् । संयुक्त राष्ट्रसंघले रोहिंग्या शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि म्यान्मार सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ । साथै उसले दशकौंदेखि रोहिंग्यामाथि भइरहेको विभेद अन्त्य गर्न म्यान्मार सरकारलाई आग्रह गर्दै आएको छ ।
म्यान्मारमा सन् २०१७ को अगस्ट २५ यता फैलिएको हिंसाका कारण करिब ७ लाख भन्दा बढी रोहिंग्याहरू विस्थापित भएका थिए ।

उनीहरू हाल बंगलादेशमा शरणार्थीको जीवन बिताउन बाध्य छन् । राष्ट्रसंघले रोहिंग्यालाई न्यूनतम आवश्यकताको अभाव भएको बताउँदै आएको छ ।

प्रकाशित : वैशाख १७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?