चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने
बेइजिङ — चिनियाँ विदेशमन्त्री वाङ यीले यसै साता उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक शिखर वार्ता भएको एक सातामा वाङले प्योङयाङको भ्रमण गर्न लागेका हुन् ।
बेइजिङका अनुसार उनले आगामी बुधबार र बिहीबार उत्तर कोरियाली सरकारको निमन्त्रणामा प्योङयाङ जान लागेका हुन् । उत्तर कोरियाको निकट सहयोगी चीनका तर्फबाट हुन लागेको यो वर्षौंयताको शीर्ष भ्रमण हो ।
यसअघि गत मार्चमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले बेइजिङको आकस्मिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा किम र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई देशको सम्बन्ध तथा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका पहलबारे छलफल भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका थिए ।
गत शुक्रबार उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच शिखर वार्ता भएको थियो । उनीहरूबीच कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमति भएको थियो । दुई नेताले सन् १९५० देखि ३ वर्षसम्म चलेको कोरियाली युद्धपछिको शान्तिवार्तालाई निष्कर्षमा पुर्याउने बताएका थिए ।
यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तीन वा चार साताभित्र’ उत्तर कोरियाली नेता किम जोङ–उनसँग वार्ता गर्ने बताएका थिए ।
ट्रम्पले कोरियाली प्रायद्वीपलाई नि:शस्त्रीकरण गर्न उक्त बैठक निकै महत्त्वपूर्ण हुने बताएका थिए । तर ट्रम्पले वार्ताका क्रममा कुनै ठोस उपलब्धि नभए आफू बाहिरिने दोहोर्याउँदै आएका छन् । उत्तर कोरियाले भने हालसम्म राष्ट्रपति ट्रम्पको प्रतिक्रियाबारे केही बताएको छैन ।
यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले आफू जापानसँग पनि वार्ता गर्न इच्छुक रहेको जनाएका छन् । उत्तर र दक्षिण कोरियाबीच शुक्रबार भएको शिखर वार्ताका क्रममा किमले जापानसँग पनि वार्ता गर्न इच्छुक रहेको बताएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार दुई देशबीच वार्ता गराउने आफूले तयारी गरेको जनाएको छ ।
प्रकाशित : वैशाख १८, २०७५ ०९:०३