शरणार्थी स्वदेश फिर्ता प्रक्रिया: राष्ट्रसंघीय संलग्नता स्वीकार

सिन्हवा

याङ्गुन — हाल बंगलादेशमा रहेका म्यान्मारका रोहिंग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यान्मार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समयअघि यी दुई देशबीच शरणार्थी फिर्ता गर्नेसम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले उक्त सम्झौतालाई सहयोग गर्ने भएको बताएको छ ।

शरणार्थी स्वदेश फिर्ता प्रक्रिया: राष्ट्रसंघीय संलग्नता स्वीकार

अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यान्मारले स्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिसँग मंगलबार भएको भेटवार्तापछि म्यान्मारकी विदेशमन्त्री आङ सान सुकीले उक्त सहयोगप्रति समर्थन गरेकी हुन् । उक्त भेटवार्तापछि बुधबार यहाँको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत उक्त विषयबारे जानकारी दिएको हो । विदेशमन्त्री सुकीले ती शरणार्थीको फिर्तीको प्रक्रियामा संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहभागिता स्वागतयोग्य रहेको बताइन् ।

उक्त भेटका क्रममा उनले शरणार्थी फिर्तीका लागि संयुक्त राष्ट्रसंघको संलग्नताले ती शरणार्थीहरूलाई पनि सुरिक्षत रूपमा स्वदेश फर्किन सघाउ पुर्‍याउने धारणा राखेकी थिइन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद््प्रतिनिधिहरूले बंगलादेश र म्यान्मारको भ्रमण गरी म्यान्मारी शरणार्थीको अवस्थाबारे अध्ययन गरेका थिए । उनीहरूले सहायता उपलब्ध गराउन विश्वका दाताराष्ट्र तथा संस्थाहरूलाई आग्रह पनि गरेका थिए । राष्ट्रसंघीय अधिकारीहरूले रोहिंग्याको अवस्थामा अझै सुधार नआएको र उनीहरूलाई स्वदेश फर्काउनेबारेमा पनि अहिले नै कुनै प्रगति नभएको निष्कर्ष पनि निकालेका छन् ।

रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउन के गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्को एक प्रतिनिधिमण्डलले गत शनिबारदेखि म्यान्मार र बंगलादेशको भ्रमण गरेको थियो । यी दुवै देशका उच्च अधिकारीहरूसँग पनि ती प्रतिनिधिले भेटवार्ता एवं परामर्श गरेका थिए । सोही परामर्शका क्रममा उनीहरूले म्यान्मारकी विदेशमन्त्री सुकीलाई उक्त सहयोगको आश्वासन दिएका हुन् ।

म्यान्मारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य रोहिंग्याहरू हाल बंगलादेशको कोक्स बजारमा मात्र करिब १० लाख पुगेको अनुमान गरिएको छ । करिब ७ लाख रोहिंग्या मुसलमान म्यान्मारको राखिन राज्यबाट गएको अगस्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए । पछिल्लो समयमा पनि उनीहरू देश छोडेर भाग्ने क्रम जारी छ । कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसिरहेका शरणार्थीहरूसँग पनि उक्त प्रतिनिधिमण्डलले भेटेर उनीहरूका अप्ठयाराहरू र देश छोडेर भाग्नुपर्ने कारणबारे परामर्श गरेका थिए । म्यान्मार सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरूलाई सुरक्षा नभएको उनीहरूको भनाइ छ ।

प्रकाशित : वैशाख २०, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?