चौथो कार्यकालका लागि पुटिनद्वारा शपथ 

बीबीसी/एएफपी

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि शपथ लिएका छन् । 

रुसी राष्ट्रपति भवन क्रेमलिनमा आयोजित एक समारोहमा उपस्थित ५ हजार विशिष्ट पाहुनाहरुको उपस्थितिमा उनले आगामी ६ वर्षका लागि शपथ लिएका हुन् । उनी गत मार्चमा भएको निर्वाचनबाट चौथो पटकका लागि राष्ट्रपति पदमा निवार्चित भएका थिए ।

शपथ लगत्तै पुटिनले आफ्नो चौथो कार्यकालमा रुसको अर्थतन्त्रलाई ‘पुनर्जिवन’ दिने बताएका छन् । ‘मलाई लाग्छ मेरो कर्तव्य रुसको वर्तमान र भविष्यका लागि हरेक सम्भव कुरा गर्नु मेरो उद्देश्य हो,’ सोमबारको शथप ग्रहण समारोहमा हातमा रुसी संविधान लिएका पुटिनले भने, ‘हामीले हाम्रो मातृभूमिमा गर्व पुर्नस्थापित गर्‍यौं ।’ उनले राष्ट्राध्यक्षका रुपमा आफूले देशको क्षमता, सद्भाव र नामका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रुसी टेलिभिजनले ६५ वर्षीय पुटिन क्रेमलिनको कार्यालयबाट हिंडै बाहिर निश्किएको दृष्य प्रसारण गरेको थियो । त्यसलगत्तै उनी रुसमा निर्मित लिमोजिन गाडी (कर्टेज) चढेर शपथ ग्रहण स्थलतर्फ गएका थिए ।

यसअघि सन् २०१२ को सपथ ग्रहण समारोहमा पुटिन ठूलो मोटरकेड सहित सपथ ग्रहण समारोहमा गएका थिए । उनको शासनविरूद्ध शनिबार राजधानी मस्को तथा अन्य प्रमुख शहरमा प्रदर्शनहरु भएका थिए ।

प्रदर्शनका क्रममा विभिन्न १९ शहरमा झडपहरू समेत भएका थिए । रुसी प्रहरीले करिब १ हजार १ सय प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । युरोपेली संघले रुसी प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको तथा ठूलो संख्यामा पक्राउ गरेको भन्दै विरोध जनाएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार थप विरोध प्रदर्शनहरु हुने आशंकामा पनि उनले चौथो कार्यकाल औपचारिक थालनी गर्दा विगतका सामान्य कार्यक्रम गरिएको जनाएका छन् ।
पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा रहिआएका छन् ।

विरोधीहरूले पुटिनको कार्यकाललाई ‘जार’ वा ‘सम्राट’ को शासनजस्तो भएको बताउँछन् । उनले गत मार्चमा भएको निर्वाचनमा करिब ७७ प्रतिशत मतसहित राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

रुसी प्रतिपक्ष दलका नेता एलेक्सी नाभाल्नीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाईएपछि उनीमाथि पश्चिमा शक्तिले पनि निरन्तर निरंकुशतातर्फ उन्मुख हुँदै गएको आरोप लगाउने गरेका छन् ।

तर हालै गरिएको सर्वेक्षणमा ज्याला, निवृत्तिभरण तथा सेवासुविधामा वृद्धि गरेकाले पुटिन विगतका वर्षका तुलनामा थप लोकप्रिय बनेको उल्लेख छ । लामो समयदेखि शासनसत्ता सञ्चालन गरिरहेको भएपनि पुटिनलाई अधिकांश रुसी जनताले निकै रूचाउने गरेका छन् ।

पुटिन सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निवार्चित भएका थिए । दोश्रोपटक २००४ मा राष्ट्रपति बनेका पुटिन दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानूनी प्रावधानका कारण २००८ मा दिमित्री मेद्भेदेभलाई राष्ट्रपति बनाई प्रधानमन्त्रीका रूपमा कार्य गरे ।

संविधान संसोधन मार्फत राष्ट्रपतिय कार्यकाल ६ वर्षे बनाएलगत्तै उनी २०१२ पुन राष्ट्रपति बने । आगमी ६ वर्षका लागि सोमबार शपथ लिएका पुटिन चौथो कार्यकालको अन्त्यमा सत्तामा रहेको २५ वर्ष हुनेछ ।

उक्त समयसम्म उनी रुसमा लामो समयसम्म शासन गर्ने नेतामध्यमा पर्नेछन् । यद्यपी, रुसमा स्टालिनले ३१ वर्ष, निकोलास प्रथमले ३० र एलेक्जेण्डर द्वितीयले २६ वर्षसम्म शासन गरेका थिए ।

प्रकाशित : वैशाख २४, २०७५ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्समा रेलसेवा ठप्प

बीबीसी/एएफपी

पेरिस — राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक गरेको श्रम सुधार योजनाको विरोधमा गरिएको हड्तालका कारण फ्रान्समा विरोधमा रेल सञ्जाल प्राय ठप्प भएको छ । राष्ट्रिय रेलसेवाका कर्मचारी (एसएनसीएफ) को अगुवाईमा भएको हड्तालले उर्जा तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रसमेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


मंगलबारदेखि शुरु गरिएको हड्ताल हरेक ५ दिनमा दुई दिन गरिने रेलसेवाका कर्मचारीले जनाएका छन्। हड्ताल अप्रिल, मे र जुन महिनाभर जारी रहने एसएनसीएफले जनाएको छ। हड्तालका कारण आगामी ३ महिनामा ३६ दिन रेलसेवा ठप्प हुनेछ।

यो गतवर्ष मे महिनामा राष्ट्रपतिमा निर्वाचित म्याक्रोंलाई पद सम्हालेयताकै कठिन चुनौति भएको बीबीसीले जनाएको छ।

फ्रान्समा रेलसेवा सञ्चालन गर्ने ४ प्रमुख संगठनले हड्ताल गरेका हुन्। बीबीसीका अनुसार रेलसेवाका करिब ७७ प्रतिशत चालक र ४८ प्रतिशत कर्मचारी हड्तालमा उत्रेका छन्।

पेरिसमा बस सेवामा मानिसहरुको निकै ठूलो भीड लागेको छ। फ्रान्सबाछ बेल्जियम, नेदरल्याण्डस् र जर्मनी पुग्ने रेलसेवा सामान्य भएपनि स्पेन, स्वीटरजरल्याण्ड र इटालीका लागि सम्पूर्ण सेवा बन्द भएका छन्।

६ प्रतिशत तलब वृद्धिको माग राख्दै एयर फ्रान्सका कर्मचारीले गरेको सेवा कटौती पनि चौथो दिनमा प्रवेश गरेको छ। एयर फ्रान्सले आफ्नो सेवा ७५ प्रतिशतमा सीमित पारेको छ।

उर्जा क्षेत्रका यूनियनहरुले पनि विभिन्न माग राख्दै हड्तालको आव्हान गरेका छन्। उनीहरुले उर्जा बजारको उदारीकरणको अन्त्य हुनुपर्ने बताएका छन्। कतिपय स्थानमा विश्वविद्यालयको प्रवेश शुल्क वृद्धिको विरोधमा हजारौं विद्यार्थीहरुले समेत हड्तालमा भाग लिएको जनाइएको छ।

प्रकाशित : चैत्र २०, २०७४ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्