२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ट्रम्प–किम वार्ता: जुन १२ मा सिंगापुरमा

बीबीसी/सीएनएन

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनलाई आगामी जुन १२ भेट्ने बताएका छन् ।

ट्रम्प–किम वार्ता: जुन १२ मा सिंगापुरमा

दुई नेताबीच यसअघि नै वार्ता हुने यकिन भए पनि मिति र स्थानबारे केही उल्लेख गरिएको थिएन । बिहीबार ट्वीट गर्दै ट्रम्पले ‘निकै प्रतिक्षारत वार्ता’ आगामी महिनाको १२ तारिखमा हुने जनाएका हुन् । ‘निकै अपेक्षित म र किम जोङ–उनबीचको वार्ता आगामी जुन १२ मा सिंगापुरमा हुनेछ ।’ ट्रम्पले ट्वीटरमा लेखेका छन् । साथै उनले उक्त वार्ता ‘विश्वशान्तिका लागि विशेष क्षण’ हुने बताए ।

यसअघि गत मार्चमा उत्तर कोरियाली नेता किमले शिखर वार्ताका लागि गरेको प्रस्ताव ट्रम्पले स्वीकार गरेका थिए । उक्त भेटवार्तापछि ट्रम्प कोरियाली नेता भेट्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनेछन् ।

सिंगापुरमा यसअघि पनि उच्च स्तरका कूटनीतिक भेटवार्ताहरू हुने गरेका थिए । सन् २०१५ मा दक्षिण–पूर्वी देश सिंगापुरमा चीन र ताइवानबीच ६० वर्षपछि ऐतिहासिक वार्ता भएको थियो ।

अमेरिका र सिंगापुरबीच निकट सम्बन्ध रहिआएको छ । सिंगापुरले भने गत नोभेम्बरमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नाकाबन्दी कडा पार्ने निर्णय गरेपछि दुई देशबीचको व्यापारिक सम्बन्ध अन्त्य भएको थियो ।

यसअघि अमेरिकी तथा दक्षिण कोरियाली नेताले दुई नेताबीच उत्तर र दक्षिण कोरियाली सीमाक्षेत्रमा पर्ने ‘शान्तिगाउँ’ का रूपमा परिचित पन्मुन्जोम क्षेत्रमा भेटवार्ता हुने जनाएका थिए । पन्मुन्जोममा गत अप्रिल २७ मा दुई कोरियाबीच शिखर वार्ता भएको थियो । वार्तामा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन कोरियाली प्रायद्वीपमा शान्ति स्थापित गर्न सहमत भएका थिए ।

तीन नागरिकलाई स्वागत
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बुधबार रिहा गरेका ३ नागरिकलाई बिहीबार अमेरिकामा स्वागत गरेका छन् । वासिङ्टन नजिकैको एन्ड्रिउज हवाई क्याम्प नजिकै उनीहरूलाई बिहीबार स्वागत गर्दै ट्रम्पले ‘उत्तरद्वारा रिहा भएका तीन अमेरिकी नागरिकका लागि विशेष साँझ’ भएको बताए ।

आफ्नी पत्नीसहित करिब २ बजेर ४५ मिनेटमा ल्यान्ड गरेको जहाजभित्र प्रवेश गरेका ट्रम्प केही समयपछि ३ नागरिकसहित हात हल्लाउँदै बाहिर निस्किएका थिए । साथै उनले उत्तर कोरियाली नेता किम कदमको प्रशंसासमेत गर्न भ्याए ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुने वार्ताको वातावरण थप सहज भएको प्रतिक्रिया दिएको छ । ट्रम्पले उक्त शिखर वार्ता ‘निकै सफल’ हुनेमा आशावादी रहेको बताए । यसअघि बुधबार उत्तर कोरियाले किम हक सङ, टोनी किम र किम डोङ चुलाई रिहा गरेको थियो ।

उत्तर कोरिया पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँगै फर्केका तीन अमेरिकी नागरिकलाई ट्रम्पले स्वागत गरेका हुन् । रिहा भएकामध्ये ६० वर्षीय किम डोङ चुललाई जासुसी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई उत्तर कोरियाले श्रमशिविरमा राखेको थियो । अन्य दुईलाई भने एक वर्षदेखि हिरासतमा राखिएको थियो ।

विदेशमन्त्री पोम्पियोले प्योङयाङमा किमसँगको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै आफ्ना नागरिकलाई फिर्ता ल्याउन पाउनु खुसीको क्षण भएको बताए । उत्तर कोरियाली गतसात ती अमेरिकी बन्दीलाई कारागारबाट प्योङयाङस्थित होटलमा सारेपछि रिहा गरिने अनुमान गरिएको थियो ।

अमेरिकी नागरिकको रिहाइले अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्तामा सकारात्मक असर पार्ने दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले जनाएको छ । ब्लु हाउसले बन्दी बनाइएका आफ्ना नागरिकलाई पनि उत्तर कोरियाले रिहाइ गर्ने अपेक्षा व्यक्त गरे ।

प्रकाशित : वैशाख २८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?