साउथ चाइना समुद्रमा सैनिक अभ्यास: अमेरिकाद्वारा चीनलाई चेतावनी
बेइजिङ — चीनको हवाई सेनाले साउथ चाइना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ । उक्त कदमसँगै अमेरिकाले ‘चिनियाँ कदमले अस्थिरता उत्पन्न हुने’ चेतावनी दिएको छ ।
लामो दूरीमा मार हान्ने क्षमताको एच–६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेको जनाइएको छ । विशेषज्ञका अनुसार विमानले उत्तरी अस्ट्ेरलिया तथा अमेरिकी द्वीप गुआमसम्म मार हान्न सक्छ । विमान अवतरणको समाचार सार्वजनिक भएसँग उक्त क्षेत्र थप अस्थिरता निम्तन सक्ने जनाइएको छ ।
अमेरिका तथा उसका मित्रशक्ति देशले चीनलाई साउथ चाइना सीमा आफ्नो स्वार्थमा सैनिकीकरण गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकाले आफूहरू उक्त ‘विवादित क्षेत्र खुला तथा स्वतन्त्र हुनुपर्नेमा प्रतिबद्ध रहेको’ जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल क्रिस्टोफर लोगनले भने, ‘हामीलाई साउन चाइना समुद्रमाथि चीनले गरेको सैनिकीकरणले तनाव बढ्नुका साथै उक्त क्षेत्रमा अस्थिरता उत्पन्न हुन्छ ।’
चीनले ‘सबै क्षेत्रमा सैनिक पहुँच’ सुधार गर्न यस्तो अभ्यासको आवश्यकता परेको जनाएको छ । साउथ चाइना सी एक मुख्य व्यापारिक रुटमा पर्दछ । उक्त स्थानमाथि चीनसहित भियतनाम, फिलिपिन्स, ताइवान र मलेसियाले दाबी गर्दै आएका छन् ।
विमानहरू कहाँ अवतरण गरे भन्नेबारे केही खुलाइएको छैन । तर चिनियाँ रक्षा मन्त्रालयले विमानहरू सामुद्रिक क्षेत्रमा हुन सक्ने आक्रमणलाई जवाफी कारबाहीका लागि सैनिक अभ्यासमा सामेल भएको जनाएको छ ।
एच–६ के विमानका क्याप्टेन जी डाकिङलाई उदृत गर्दै जारी गरेको विज्ञप्तिमा उक्त अभ्यासले ‘सैनिक साहस र वास्तविक युद्धका लागि क्षमता अभिवृद्धि गरेको’ उल्लेख छ ।
एसिया मारिटाइम ट्रान्सपरेन्सी इनिसिएटिभ (एएमटीआई) का अनुसार पिपल्स डेली पत्रिकाले जारी गरेको भिडियोमा एच–६के बम वर्षक उडी टापुको चिनियाँ बेसमा अवतरण र उडान भर्दै गरेको देखाइएको छ ।
चीनले उडी टापुलाई योङसिङ भन्ने गर्छ । उक्त टापुमाथि भियतनाम तथा ताइवानले आफ्नो स्वामित्व दाबी गर्दै आएका छन् । यसअघि चीनले उडी टापुमा फाइटर विमान अवतरण गरे पनि बम वर्षक विमान पहिलोपटक अवतरण गरेको हो ।
प्रकाशित : जेष्ठ ७, २०७५ ०८:५९