कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिकी प्रतिबन्धको इरानद्वारा विरोध

बीबीसी

तेहरान — तेहरानविरुद्ध ‘इतिहासकै कडा प्रतिबन्ध’ लगाउने अमेरिकी चेतावनीको इरानले विरोध जनाएको छ । इरानी राष्ट्रपति हसन रौहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन् ।

अमेरिकी प्रतिबन्धको इरानद्वारा विरोध

इरानी विदेशमन्त्री जवाद जारिफले ‘अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अघि सारेका कदमले अमेरिका ‘असफल नीतिहरू’ को बन्दी भएको प्रस्ट भएको बताए । उनले पोम्पियोले भनेजस्तो प्रतिबन्ध लगाए अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने पनि चेतावनी दिए ।


युरोपेली संघका विदेश नीति प्रमुख फेडेरिका मोग्हेरिनीले पनि इरान मामलामा ट्रम्प प्रशासनले गलत नीति अख्तियार गरेको बताउँदै अमेरिकी कदमको आलोचना गरिन् । मोग्हेरिनीले भनिन्, ‘इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिदा मध्यपूर्व क्षेत्र कसरी सुरक्षित हुन्छ भन्ने पुष्टि गर्न पोम्पियाले असमर्थ भएका छन् ।’


मोग्हेरिनीले इरानसँगको परमाणु सम्झौताको कुनै पनि विकल्प नभएको दाबी गरिन् । उनले इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरे युरोपेली संघ उक्त सम्झौताप्रति सधंै सकारात्मक रहने बताइन् । गतसाता महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए ।


युरोपेली संघको औपचारिक धारणा सार्वजनिक हुनुभन्दा पहिले इरानसँग व्यापार गर्न हतारिएका केही युरोपेली कम्पनीले व्यापारका लागि इरान वा अमेरिका रोज्नुपर्ने बताइन् ।


सोमबार अमेरिकी विदेशमन्त्री पोम्पियोले ‘इरानसँगको परमाणु सम्झौतापछि अमेरिकाले फुकुवा गरेको प्रतिबन्ध पुन: लगाइने’ बताएका थिए । साथै उनले तेहरानमाथि अभूतपूर्व आर्थिक दबाब दिइने चेतावनी दिएका थिए ।


पोम्पियोले नयाँ सम्झौताका लागि इरानले सिरियाबाट आफ्ना फौज फिर्ता लग्नुपर्ने तथा यमनस्थित विद्रोहीलाई गर्दै आएको समर्थन फिर्ता लिनुपर्ने सर्तसमेत अघि सारेका छन् । सन् २०१५ मा परमाणु सम्झौता हुनुअघि अमेरिकाले इरानसँगका सबै प्रकारका व्यापारमा रोक लगाएको थियो ।

यद्यपि, पोम्पियोले अमेरिकाले नयाँ प्रतिबन्ध के–कस्ता हुन्छन् भन्नेबारे स्पष्ट पारेनन् । तर गत साता इरानको केन्द्रीय बैंकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ‘सुरुवात मात्रै’ भएको जनाए । इरानले तेल तथा ग्यासको विश्वकै ठूलो निर्यातकर्ता हो । उसले चिन, भारत, दक्षिण कोरिया, टर्की, इटाली, जापान यूएई, स्पेन, फ्रान्स, ग्रिस, सिरिया, ताइवान, क्रोएसिया, नेदरल्यान्डस्, पोल्याड मलेसिया लगायत देशमा करोडौं अमेरिकी डलर बराबरको समान निर्यात गर्दै आएको छ ।


सन् २०१५ मा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम रोक्ने जनाएको थियो । त्यसको बदलामा अमेरिका तथा युरोपेली संघ लगायतका पश्चिमा देशले इरानमाथिको आर्थिका प्रतिबन्ध हटाएका थिए । तर राष्ट्रपति ट्रम्पले उक्त सम्झौताप्रति इरान प्रतिबद्ध नभएको दाबी गर्दै हालै सम्झौता तोडेका हुन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?