ट्रम्प–किम बैठक अन्योलमा

एएफपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग आगामी जुन महिनाको १२ तारिखका लागि तय भएको शिखर बैठक हुनेमा आशंका व्यक्त गरेका छन् ।

ट्रम्प–किम बैठक अन्योलमा

ट्रम्पले सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै बैठक निर्धारित मितिमा हुनेमा अन्योल भएको बताएका हुन् । उनले उत्तर कोरियाले केही सर्त पूरा गर्नुपर्ने अवस्था भएकाले शिखर बैठक निर्धारित समयमा नबस्न सक्ने बताए ।

राष्ट्रपति ट्रम्पले भने, ‘तर यसको मतलव बैठक नै नबस्ने भन्ने चाहिँ होइन ।’ उनले उत्तर कोरियाले परमाणु नि:शस्त्रीकरण लगायतका सर्त पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकाले एकपक्षीय रूपमा नि:शस्त्रीकरणका लागि जोड दिए शिखर वार्ता रद्द गर्ने चेतावनी दिएका थिए ।

त्यसका साथै उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीच सोलमा भइरहेको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै आएको छ । उसले उक्त अभ्यास तत्काल नरोके वार्तामा सहभागी नहुने जनाएको हो । यसैबीच, उत्तर कोरियाको परमाणु उत्पादन तथा परीक्षण केन्द्र नष्ट गरेको समाचर संकलन गर्न पत्रकारको टोली प्योङयाङतर्फ लागेको छ ।

उत्तर कोरियाले मौसमको अवस्थाअनुसार बिहीबार र शुक्रबार परमाणु परीक्षणस्थल नष्ट गर्ने जनाएको हो । त्यसको समाचार संकलनका लागि दक्षिण कोरियाका ८ पत्रकार त्यसतर्फ गएको एएफपीले जनाएको छ ।

त्यसैगरी उत्तर कोरियाले चीन, अमेरिका, रुस र बेलायतका पत्रकारलाई पनि उक्त घटनाको समाचार संकलनका लागि आमन्त्रण गरेको छ । तर ती देशबाट कति पत्रकारहरू जाँदै छन् भन्नेबारे केही बताइएको छैन ।

अन्तर्राष्ट्रिय समुदायको आशंकाबीच उत्तरले आफ्नो परमाणु केन्द्र नष्ट गर्न लागेको हो । एक साताअघि उत्तर कोरियाले दक्षिण कोरियाली उच्च अधिकारीसँग हुने भनिएको बैठक स्थगित गरे पनि समाचार संकलनका लागि पत्रकारलाई आमन्त्रण गरेको हो ।

यो प्रक्रियाको समाचार संकलनका लागि दक्षिण कोरियाली पत्रकारलाई आफ्नो देशमा अनुमति रहेको कुरा उत्तर कोरियाले अन्तिम समयमा आएर बताएको थियो ।

उत्तर कोरियाले गत अप्रिलमा भएको दुई कोरियाबीचको सम्झौता अनुसार परमाणु केन्द्र नष्ट गर्न लागेको हो ।

मुन अमेरिका पुगे
वासिङ्टन (बीबीसी)– दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसमा भेटेका छन् । उनले उत्तर कोरिया र अमेरिकाबीच हुन लागेको शिखर वार्ताको वातावरण सहज बनाउन अमेरिकाको भ्रमण गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

दुई नेताबीचको भेटपछि ट्रम्पले भने, ‘मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिनँ, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न गम्भीर नै हुनुहुन्छ । तर पनि केही सर्त छन् जुन वार्ताअगावै पूरा हुनुपर्छ ।’

दक्षिण कोरियाली राष्ट्रपति इन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको बैठकका विविध विषय तय गर्ने ठानिएको छ ।

राष्ट्रपति ट्रम्पले ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गरे । तर पनि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाका बारेमा भने आफू आश्चर्यमा परेको बताए । तर राष्ट्रपति ट्रम्पले जुन १२ मा शिखर बैठक नभए कहिले हुन्छ भन्नेबारे केही बताएनन् । उनले निर्धारित समयमा बैठक नभए अर्को मिति तय गरिने दाबी गरे ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?