१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उत्तर कोरियाली परमाणु केन्द्र ध्वस्त

बीबीसी

सोल — उत्तर कोरियाले परमाणु परीक्षण स्थलका सुरुङ बिहीबार ध्वस्त पारेको छ । उत्तरको पछिल्लो कदमले कोरियाली द्वीपमा तनाव अन्त्य गर्ने विश्वास लिइएको छ ।

उत्तर कोरियाली परमाणु केन्द्र ध्वस्त

उत्तर कोरियाको परमाणु केन्द्र पुङ्गे–री पुगेका विदेशी पत्रकारहरूले सुरुङ ध्वस्त पारिएको जनाउँदै उक्त समय ठूलो विस्फोटका आवाज आएको बताएका छन् । गत अप्रिल २७ मा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन परमाणु परीक्षण केन्द्र नष्ट गर्न सहमत भएका थिए ।

पुङ्गे–री उत्तर कोरियाको राजधानी प्योङयाङबाट ३ सय ७० किलोमिटर उत्तर–पूर्वको हिमाली क्षेत्रमा पर्छ । परीक्षण केन्द्रमा सन् २००६ यता ६ शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरिएको थियो । यद्यपि, वैज्ञानिकहरूले उक्त परीक्षण केन्द्र सन् २०१७ को सेप्टेम्बरमा गरिएको शक्तिशाली क्षेप्यास्त्र परीक्षणपछि आंशिक क्षतिग्रस्त भएको आशंका गरेका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार उत्तर कोरियाले पहिले भनेजस्तो स्वतन्त्र पर्यवेक्षकहरूलाई भने परीक्षण स्थलमा जान दिइएको छैन । सुरुङहरू विभिन्न देशबाट परीक्षण केन्द्र पुगेका २० पत्रकारहरूको सामुन्ने ध्वस्त पारिएको हो । २० मध्ये ८ पत्रकार दक्षिण कोरियाका छन् ।

परमाणु परीक्षण केन्द्र पुगको स्काई न्युजका संवाददाता टम चेसिरले ‘परीक्षण स्थल ध्वस्त भएको तथा तारहरू यत्रतत्र छरिएको’ बताए । उनले भने, ‘हामी पहाडको टुप्पोमा चढयौं र करिब ५ सय मिटर टाढाबाट सुरुङ ध्वस्त पारेको हेर्‍यौं ।’

चेरिसले परीक्षण केन्द्र ध्वस्त पार्न बिहान २ तथा मध्याह्न ४ वटा शक्तिशाली विस्फोट गराइएको बताए । उनले भने, ‘उनीहरूले तीन, दुई, एक गर्दै गने र निकै ठूलो विस्फोट गराए ।’ त्यसलगत्तै धूलो उडेको र तातो महसुस भएको उनले बताए ।

एनके समाचार संस्थाले उत्तर कोरियाली परमाणु हतियार संस्थाले विज्ञप्तिमार्फत ‘परमाणु परीक्षण केन्द्रका सुरुङहरू पूर्णरूपमा ध्वस्त हुने गरी विस्फोट गराइएको’ जनाएको छ । एनकेले उल्लेख गरेको छ, ‘परीक्षण स्थल ध्वस्त पार्ने क्रममा कुनै पनि रेडियोधर्मी विकिरणहरू चुहावट भएको छैन । साथै वातावरणमा पनि कुनै प्रभाव परेको छैन ।’

उक्त समाचारको दक्षिण कोरियाले स्वागत गरेको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापले विदेश मन्त्रालयका प्रवक्ता नोह क्यु–डुकलाई उल्लेख गर्दै ‘परमाणु परीक्षण स्थल नष्ट पार्ने कार्यले पूर्ण परमाणु नि:शस्त्रीकरणको सम्भावना बढेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?