१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

किम पूर्वनिर्धारित वार्ताकै पक्षमा

बीबीसी

सोल — उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्वनिर्धारित मितिमै शिखर वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

किम पूर्वनिर्धारित वार्ताकै पक्षमा

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ‘किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन आगामी जुन १२ हुने भनिएको वार्तालाई सफल बनाउन सहमत भएको’ जनाएको छ । मुन र किमबीच अप्रत्याशित रूपमा शनिबार दुई देशको सीमाक्षेत्र पन्मुन्जोममा दोस्रो पटक भेटवार्ता भएको थियो । दुई नेताबीच दुई घण्टा वार्ता भएको थियो । वार्ताका क्रममा किम ‘कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्रविहीन बनाउनेसमेत प्रतिबद्धता’ भएको मुनले बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले गत बिहीबार सिंगापुरमा जुन १२ का लागि तय भएको शिखर बैठक रद्दको घोषणा गरेका थिए । तर, उनले शनिबार वार्ता रद्द नभएको जनाउँदै निर्धारित मितिमै बैठक हुन सक्ने बताएका थिए । उनले ‘सिंगापुर बैठक जुन १२ मै गर्नेबारे सम्पूर्ण कुराहरू राम्रोसँग अगाडि बढिरहेको’ जनाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशबीचको वार्ताको अनिश्चितताको प्रमुख कारक अमेरिका र दक्षिण कोरियाबीच हालै भएको संयुक्त सैन्य अभ्यासलाई मानिएको छ । त्यसका साथै अमेरिकी उपराष्ट्रपति, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा केही उच्च अधिकारीले उत्तर कोरियालाई परमाणु निशस्त्रीकरणका लागि लिबिया मोडल अपनाउन सकिने बताएपछि पनि किम सशंकित बनेका हुन् ।

किम र मुनबीच शनिबार भएको वार्तामा ‘दुवै नेताहरू उत्तर कोरिया र अमेरिकाबीचको अभूतपूर्व शिखर वार्ता सफल बनाउने प्रतिबद्धता जनाएका थिए । वार्तामा किमले आफूसँग हतियार मोह नरहेको जनाए पनि त्यसका लागि आफ्नो शासन सत्ताको प्रत्याभूति हुनेमा यकिन हुन नसकेकोमा जोड दिएका थिए । मुनले भने, ‘किम अझै पनि अमेरिकाले उत्तर कोरियासँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्छ भन्नेमा अस्पष्ट छन् ।’ केसीएनएका अनुसार मुनसँगको शनिबारको वार्ताका क्रममा किमले ‘दुई देशबीच दिगो शान्तिका लागि स्थायी संयन्त्र निर्माण गर्न’ समेत प्रस्ताव गरेका थिए । दुई नेताबीच शुक्रबार पुन: वार्ता हुने जनाइएको छ ।

यसअघि किम र मुनबीच गत अप्रिल २७ मा शिखर बैठक भएको थियो । बैठकमा दुई नेताहरू सन् १९५३ मा कोरियाली द्वीपमा भएको युद्धविरामलाई स्थायी शान्तिमा स्थापित गर्ने सहमति भएको थियो ।

त्यसैगरी कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमतिअनुसार उत्तर कोरियाले गत बिहीबार पुङ्गे–रीस्थित परमाणु परीक्षण केन्द्र ध्वस्त पारिसकेको छ । तर, त्यसको केही घण्टामै ट्रम्पले ‘आतंक र शत्रुता’ लाई कारण देखाउँदै सिंगापुर बैठक रद्द गरेका थिए ।

बैठक हुनेमा चीन आशावादी
बेइजिङ (रोयटर्स)– चीनले अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच आगामी महिना सिंगापुरका लागि तय भएको वार्ता हुनेमा आशावादी रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै शिखर बैठक फलदायी हुनेमा पनि विश्वास लिएको छ । विज्ञप्तिमा अमेरिकी र उत्तर कोरियाली नेताबीचको वार्ताले परमाणु मुद्दा समाधान गर्ने तथा विश्व शान्ति स्थापित गर्न निकै महत्त्वपूर्ण हुने जनाइएको छ । यसअघि चीनले शिखर बैठक रद्द गर्ने ट्रम्पको निर्णय निराशाजनक रहेको प्रतिक्रिया दिएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?