कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा आँधी र चटयाङ : कम्तीमा ५५ को मृत्यु 

एजेन्सी

नयाँदिल्ली — भारतका विभिन्न राज्यमा विगत २४ घण्टामा आएको चटयाङ तथा आँधीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ । 

भारतमा आँधी र चटयाङ : कम्तीमा ५५ को मृत्यु 

स्थानीय सञ्चारमाध्यमका अनुसार भारतका झारखण्ड, विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पश्चिम बंगालमा गरी उनीहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।


भारतमा एक महिनाको अवधिमा आँधीका कारण २ सय ९० को मृत्यु भइसकेको छ । यसअघि गत मे ४ र मे १६ मा उत्तर–पश्चिमी भारतीय राज्यहरूमा धुलोसहितको हावाहुरीका कारण जनजीवन निकै प्रभावित भएको थियो ।


चटयाङका कारण झारखण्डमा १९, उत्तर प्रदेशमा १६, विहारमा १३, मध्य प्रदेशमा ५ तथा पश्चिम बंगालमा २ जनाको मृत्यु भएको हो । विहारमा मृत्यु हुनेमध्ये ३ जना एकै परिवारका छन् । प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भारी वर्षापछिको चटयाङका कारण केही मानिसहरू घाइते भएका छन् ।


अधिकारीहरूले उद्धार कार्य जारी रहेको बताएका छन् । अधिकारीहरूले चटयाङ प्रभावित राज्यका माझीलाई समुद्रमा नजानसमेत सूचना जारी गरेको बताएका छन् ।


झारखण्डका विपत् व्यवस्थापन विशेष सचिव अशोक कुमारले केही दिन मौसममा सुधार हुने संकेत नदेखिएको जनाए । उनले मौसमविज्ञान विभागको समन्वयमा सतर्कताका लागि सूचना जारी गरिने बताए ।


यसैबीच, भारतको राजधानी नयाँदिल्लीको तापक्रम बढदै गएपछि जनजीवन निकै प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मंगलबार नयाँदिल्लीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । जलवायु विभागका अधिकारीले बुधबार तथा बिहीबार धुलोसहितको हावाहुरी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७५ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?